आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि एमाले सुर्खेतले उम्मेदवारी छनाैट तीब्र बनाएको छ। वडा तहका पदाधिकारीहरु धमाधम छनाैट भैरहेकाे छ भने भाेलीसम्ममा सवै वडाहरुवाट अध्यक्ष र सदस्यका उम्मेदवारहरु छनाैट गरि पठाउन जिल्ला कमिटी सुर्खेतले परिपत्र गरेको छ।
गठवन्धनका दलहरुमध्ये मुख्यतः नेपाली कांग्रेस भित्रकाे विवाद र माओवादी पार्टीले अघिल्लो चुनावमा प्राप्त गरेकाे मतकाे आधाजसाे मत एमाले भित्रिएकाे एमालेले अनुमान गरेको छ। समाजवादी पार्टीको खासै प्रभाव नरहेकोले पनि एमालेले यसपटकको निर्वाचन जित्ने दावा गरिरहेको छ।
तर, वीरेन्द्रनगरकाे मेयर पदका लागि सर्वसम्मत उम्मेदवार टुग्याउन निक्कै सकस भैरहेको एमाले नेताहरुले वताउने गरेका छन। वडामा सर्वसम्मत भएको भनिएपनि अझै नटुंगिएकाे उनीहरूकाे भनाइ छ।
वडाका अध्यक्ष र सदस्यहरु निर्णय गरि भाेली चैत ३० गतेभित्र पालिका कमिटीमा पेश गर्नुपर्ने छ भने आगामी वैशाख ३ गतेभित्र पालिका कमिटीले प्रमुख उप प्रमुखकाे नाम जिल्ला पार्टीमा सिफारिस गरिसक्नु पर्ने निर्देशन दिईसकिएकाे छ।
सर्वसम्मतीवाटै उम्मेदवार टुंगोमा पुर्याउने प्रयास भैरहेपनि आकांक्षीहरुकाे ठूलो लाईन भएकोले समस्या परेको एमाले जिल्ला कमिटी सचिवालय सदस्य डम्मर तिवारी वताउँछन। तैपनि समयमै सर्वसम्मतिले उम्मेदवारी टुंगिने उनको विश्वास छ।
वीरेन्द्रनगरकाे प्रमुख पदका लागि एमाले सुर्खेतका अध्यक्ष अमृतकुमार विसी, उपाध्यक्ष कुलमणि देवकोटाकाे नाम अग्रस्थानमा छ। वडास्तरसम्मै पकड बनाएका विसी र देवकोटामध्ये एकलाई नगर र अर्कोलाई प्रदेश या प्रतिनिधि सभाकाे उम्मेदवार बनाउने गरि एउटा समूहले मध्यस्थताकाे काम गरिरहेको देखिन्छ।
मेयर पदका लागि अहिलेका उप प्रमुख माेहाेनमाया ढकालकाे चरम महत्वकांक्षा रहेको छ। उपमेयर हुदा मेयर देवकुमार सुवेदीको छाँया बन्ने गरेको आराेप लागेकी उनको चाहनाले एमालेमा सकस परेको छ। पार्टी भन्दा पदलाई प्राथमिकतामा राख्ने गरेको र आफ्नै सहयोगीहरुलाई पनि राम्रो व्यवहार नगरेकाे एमाले सुर्खेतका महिला नेतृहरु वताउँछन।
एमाले केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला सह ईन्चार्ज वनेपछि उनको महत्वाकांक्षा झन चुलिएको छ। मेयर पदमा सिफारिस मात्रै भएपनि माथिकाे पावर लगाएर टिकट ल्याई छाड्ने उनको याेजना देखिन्छ।
पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय सचिव पदमा लड्ने खुलमखुल्ला घाेषणा गर्दै हिडेकी ढकालकाे गतिविधिले दिक्क वनेका नेताहरुले भने उनको मेयर पदकाे आकांक्षा पूरा गरिदिने संभावना देखिदैन।
२०७० सालकाे संविधान सभाकाे निर्वाचनमा पार्टी विरुद्धमा वगावत गरेका शिवप्रसाद उपाध्यायलाई समर्थन गरेर उम्मेदवारी हाल्न लगाउनेसम्मकाे प्रमुख भूमिका ढकालले खेलेकी थिईन। वीरेन्द्रनगरकाे एक हाेटलमा एमाले नेता यमलाल कँडेलकाे विरुद्धमा वागी उम्मेदवारी दिने कि नदिने भन्ने छलफल हुँदा ढकालले बिद्रोह गर्नुपर्ने मतकाे नेतृत्व गरेकी थिईन।
त्यसवेला देखि पार्टी च्यानलमा नरहेकी ढकाल २ वर्ष पछि भएको एमाले सुर्खेतको साताै जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्यकाे उम्मेदवार बनिन। नवराज रावतकाे टिमवाट निर्वाचन लडेपनि उनी सदस्यमा निर्वाचित हुन सकिनन्। उनलाई दुवै टिमले शंकाको दृष्टिकोणबाट हेर्ने गरेकाेले निर्वाचित नभएको एमाले कार्यकर्ताहरु वताउँछन।
२०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा उनको नामवारे कहिकतै छलफल नै भएन। वीरेन्द्रनगरकाे मेयर पदमा दावा गरिरहेका अमृतकुमार विसी, कुलमणि देवकोटा, हरिहरनाथ याेगी, महेन्द्रप्रसाद शर्मालगायतका एमाले नेताहरु सुर्खेतका हेभिवेयट नेता वालाराम शर्माले मेयर पदमा दावी गरेपछि पछि हटेका थिए।
तत्कालीन समयमा दुई धारमा विभाजित एमालेलाई एकतावद्धभै निर्वाचनमा जान अर्को धारका नेता अमृतकुमार विसीकी भान्जी एवम् एमाले नेतृ पद्मा खड्कालाई उपमेयर वनाएर जानुपर्ने एमाले भित्र आम बुझाई थियाे। नेता यमलाल कँडेल, बालाराम शर्मा, तत्कालीन पार्टी अध्यक्ष धुर्वकुमार शाही यसमा लगभग एकमत थिए। पार्टी भित्रकाे दुई लाईनलाई सन्तुलनमा राख्न खड्कालाई उपमेयर दिदा राम्रो हुने एमाले भित्र आम वुझाई जस्तै थियाे।
पार्टीको उच्च तहमा भएको समझदारी पालना हुनेमा सवै नेता कार्यकर्ता विश्वस्त थिए। तर, मेयर पद पाउनवाट बन्चित एमाले नेता कुलमणि देवकोटाले नेतृत्व वीच भएको समझदारी नमान्ने चेतावनी दिए। उनलेे आफुले मेयर नपाउने हाे भने माेहनमाया ढकालले उपमेयर पाउनुपर्ने जाेडदार माग गरे।
देवकोटाकाे मागमा एमाले नेतृत्व ३ दिनसम्म छलफलमै रुमल्लियाे। जिल्लामा कँडेल टिमकाे नेतृत्व गरेका देवकाेटाकाे एकल अडानले ढकालकाे पक्षमा निर्णय नगरी नहुने अवस्था सिर्जना भयाे। उनको अगाडि कसैको केही लागेन, ढकालकाे उपमेयरमा निर्णय भयाे। उपमेयर पद ढकालले पाएपछि टिमकाे सन्तुलन नमिलेकाे भन्दै वालाराम शर्माले हारिने डरले मेयरकाे उम्मेदवार आफु नवन्ने भन्दै उम्मेदवारी फिर्ता गर्न खाेजे। तर, कँडेलले निर्वाचन जितिने ढाडस दिएर शर्मालाई ‘कन्भिन्स’ गरे।
चुनावी सभाहरु चल्दै थिए। एउटा हल्ला जाेडले चल्याे, ‘उपमेयर पदका उम्मेदवार माेहनमाया ढकालले मेयर पदका उम्मेदवार देवकुमार सुवेदीसंग मत साटासाट गर्ने निर्णय भयाे’ वालाराम शर्माका भाइ महेन्द्रप्रसाद शर्माले मतसाटासाटकाे सूचना पाएर एमाले पार्टी कार्यालयमा हंगामा मच्चाए। बाहिर हल्ला पुगे झन ठूलो हंगामा हुने भयले यसलाई पार्टी कार्यालयकाे काेठाभित्रै दवाईयाे।
निर्वाचनमा अनुमान गरिए वमाेजिम नै मेयर कांग्रेसका देवकुमार सुवेदी र उपमेयर एमालेका माेहनमाया ढकाल निर्वाचित भए। मेयरमा ५ सय र उपमेयरमा २ हजार वढि मतकाे फरक पर्याे। मतसाटासाटकाे हल्लालाई प्राप्त मत परिणामले पनि पुष्टि गर्याे।
निर्वाचित भएपछि पनि उपमेयरवाट पार्टीका पक्षमा खासै काम नभएको स्वयं एमाले कार्यकर्ताहरु वताउँछन। ‘पुरै कार्यकाल एमालेकाे वहुमतकाे उपमेयर हाेईन कि देवकुमार सुवेदीकाे बहिनी भएर विताउनु भयाे। पार्टीले वीरेन्द्रनगरकाे कार्यपालिकामा पाएकाे झण्डै २ तिहाइ मतकाे अवमूल्यन गरियाे। अझै पार्टीले चेतेन र मेयरकाे टिकट दिईयाे भने बिद्रोह हुने निश्चित छ,’ नाम उल्लेख नगर्ने शर्तमा एक एमाले जिल्ला कमिटी सदस्य भन्छन्।
उनी थप्छन,’ कांग्रेसलाई भन्न सजिलो छ, एउटा मेयरले मात्रै के गर्न सक्छ र ? एमालेकाे दुई तिहाइ वढि मतकाे वाेर्डले कामै गर्न दिएन।
एमालेवाट निर्वाचित वीरेन्द्रनगरका एक वडा अध्यक्षले पनि मेयर उपमेयरकाे सेटिङ्काे खुलासा गरेका छन। मेयरकाे चाहना र उपमेयरकाे स्वीकृतिमा आउने एजेन्डाहरुवारे वहस गरिएपनि विरुद्धमा जान नसकेकाे उनलेे लाचारी व्यक्त गरे। ‘नेतृत्वले नै कांग्रेसको एजेन्डा बाेकेर आएपछि हामी तलकाले के गर्ने,’ उनी प्रश्न गर्छन।
प्रकाशित मिति : २०७८ चैत २९ गते मंगलबार