नेकपा एकीकृत समाजवादी दैलेखका जिल्ला पार्टी सचिव मानबहादुर खड्का नेकपा एमालेमै फर्किएका छन् । उनीसँगै सर्यौ नेता तथा कार्यकर्ताहरू पुनः नेकपा एमालेमा फर्किएकाे घाेषणा गरेका हुन् ।
शुक्रवार नेकपा एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मी, दैलेखका पार्टी अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रबिन्द्रराज शर्मा, भगवती माई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, भगवती माईका नेता नन्दकिशाेर बस्नेत, शान्ति शर्मा, भगवती माई गाउँ पालिकाका उपाध्यक्ष चन्द्रा रेग्मी लगायतका नेताहरूले उनीहरुलाई स्वागत गरेका थिए।
एकीकृत समाजवादीका पार्टी सचिव नै एमालेमा फर्किएपछि नेकपा एस जिल्लामा रित्तिने अवस्थामा पुगेको छ । खड्का २०४६ सालदेखि नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहँदै आएका थिए। उनी २०५४ सालमा नेकपा एमालेको तर्फबाट कट्टी गाविसको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।
बिचमा केही समय राजनीतिक असमझदारीका कारण फरक राजनीतिक धारमा देखिएपनि देश र जनताको रक्षाका लागि एमाले नै देशको मूल पार्टी हाे भन्ठानेर आफ्नै घरमा फर्किएको खड्काले प्रतिक्रिया दिए।
एकीकृत समाजवादी पार्टीको सबै जिम्मेवारी आजैका दिनदेखि छोडेर नेकपा एमालेको झन्डामुनि गोलबन्द हुने निर्णय गर्दै आम सबै कार्यकर्ताहरूलाई एमालेमै फर्किन विज्ञप्तिमार्फत खड्काले आग्रह गरेका छन् ।
नेकपा एमाले दैलेखका पार्टी अध्यक्ष रबिन्द्रराज शर्माले नेकपा एमालेले दैलेखका ११ वटै पालिकामा आफ्नो विजय सुनिश्चित हुने गरी काम गरिरहेको बताउँदै अझै धेरै नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा आउने तयारी गरिरहेको बताए ।
अध्यक्ष शर्माले केही दिन भित्र नेकपा माओवादी र काँग्रेसका प्रभावशाली नेताहरू नेकपा एमालेमा प्रवेशको तयारी भएको र समायोजन भएकाहरुलाई उचित जिम्मेवारी प्रदान गर्ने वारे छलफल भैरहेकाे वताए।