डाेल्पा जिल्लामा आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा गठबन्धन नहुने देखिएको छ। स्थानीयतहमा भागबण्डा गर्न जिल्लामा शुक्रबार बसेको गठबन्धनको बैठकमा सिट बाँटफाटमा सहमति हुन नसकेपछि गठबन्धन टुट्ने भएको हो।
केन्द्रीय निर्णय र सर्कुलर अनुसार स्थानीयतहकाे निर्वाचनमा मिलेर जाने भनिएपनि स्थानीय तहको भागबण्डा मिलाउन दलहरू असफल भएका हुन। बैठकमा तीनवटै दलको फरक धारणा आएकोले सहमति हुन नसकेको नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्रबहादुर शाहीले जानकारी दिए ।
शाहीका अनुसार गठबन्धनको बैठकमा डाेल्पाका स्थानीयतहका सबै पदकाे भागबण्डावारे छलफल भएको र नेकपा माओबादीले ५० प्रतिशत स्थानीयतहको प्रमुख मागेको थियाे। यसरी नै एकिकृत समाजबादीले पनि सोचे भन्दा धेरै तहमा भाग खोजेपछि डाेल्पाका सवै तहमा नेपाली काँग्रेसले कतैपनि प्रमुख पद नपाउने अबस्था सिर्जना भएको उनलेे वताए। उनलेे कांग्रेस एक्लै चुनाव जानेवारे केन्द्रलाई जानकारी पठाईएकाे जानकारी दिए।
२०७४ सालको निर्वाचनमा डोल्पाका ८ स्थानीयतहमा ६ वटामा नेकपा एमालले जितेको थियो । सोहि अनुसार नेकपा एमालेले जितेको स्थानीय तह र समाजबादीको पकेट भएको क्षेत्रमा समाजबादीले भाग मागेको छ।
समाजबादीले ९२ प्रतिशत जनप्रतिनिधि सहितको हस्ताक्षर गरेर पार्टी स्थापना गरेकोले नगरप्रमुख समाजबादीले मागेकोमा माओबादीले र काँग्रेस दुबैले नगर प्रमुखमा दाबी नछाडेपछि आफुहरुपनि गठबन्धनको बैठकबाट बाहिरिएको समाजबादी पार्टीका डोल्पा जिल्ला अध्यक्ष नन्दसिँह बुढाले वताए।
अध्यक्ष बुढाले डोल्पामा समाजबादी बलियो पार्टी भएकोले माओबादी केन्द्रले र नेपाली काँग्रेसले ठुलीभेरीमा प्रमुख दिनु पर्ने र अन्य स्थानीयतहमा समेत केन्द्रीय निर्णय अनुसार पद बाँडफाड हुनुपर्ने बताए।
२०७४ मा एमालेले जितेका सबै क्षेत्रमा समाजबादीले माग गरेको र जता एमाले बलियो छ त्यहा माओबादी केन्द्रलाइ दिने र जहा एमाले कमजोर छ त्यहा आफु लड्ने समाजबादीको अडानले गर्दा आफुहरु बैठकबाट बाहिरिएको माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला ईन्चार्जले जानकारी दिए । उनलेे अब स्थानीयतहको निर्वाचनको मिति समेत नजिकिएकोले एक्लाएक्लै लड्नुपर्ने अबस्था आएको तर गठबन्धन नै टुटिनसकेको बताए।
स्थानीय तहको निर्वाचनमा कुनैपनि तहमा कुनैपनि पदमा सहमति नभएकोले डोल्पामा गठबन्धन नहुने भन्ने निर्णय केन्द्रीय कार्यालयमा पठाइएको हो । गठबन्धन नहुने भएपछि एमालेले उम्मेदवारहरु फेरबदल गर्ने सँकेत गरेको छ ।
२०७४ सालको स्थानीयतहको निर्वाचनमा एमालेले ६ स्थानीय तह जितेको र ठुलो हिस्सा एमालेमै रहेकोले पनि एमाले बलियो भएको नेकपा एमालेका डोल्पा जिल्ला सचिब लंकबहादुर रोकायाले दावी गरे।