२०८३ वैशाख ८ , मंगलबार

सांसद शाहीविरुद्ध राष्ट्रियसभामा खेद प्रस्ताव पारित



काठमाडौं । प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रियसभा वृद्ध-वृद्दाको थलो भनेकोप्रति राष्ट्रियसभाले खेद प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रियसभा बैठकमा सदस्यहरूले सांसद शाहीको भनाइमा आपत्ति प्रकट गरेका थिए ।

लगत्तै राष्ट्रियसभाले खेद पारित गरेको हो । शाहीले मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हुबुहु पारित गरेको भन्दै शाहीले राष्ट्रियसभा वृद्धाश्रम भएको टिप्पणी गरेका थिए । खेद प्रस्ताव पारित गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले सुझबुझपूर्ण रूपमा वस्तुनिष्ठ र तथ्यपरक अभिव्यक्ति दिन सांसद शाहीलाई निर्देशन दिएका छन् ।

‘पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज माननीय सदस्यले कपोकल्पित, झुठ र यथार्थ भन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका माननीय सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकोले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ ।

आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निज माननीय सदस्यलाई यो सभा निर्देशनसमेत दिन्छ,’ दाहालले भनेका छन् । राप्रपाका प्रमुख सचेतक समेत रहेका शाहीले  राष्ट्रियसभा वृद्धाश्रम भएपछि कसको के लाग्छ र भन्दै टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : २०८१ फागुन ४ गते आइतबार