२०८३ वैशाख ४ , शुक्रबार

सुर्खेत उद्योग वाणिज्य संघकाे निर्वाचन भाेली, कँडेलकाे पल्ला भारी भएको अध्यक्ष रावतकाे भनाइ



  सुर्खेत उद्योग बाणिज्य संघको १३ औं कार्यसमितिका लागि भोली निर्वाचन हुँदैछ। सुर्खेतकाे बुद्धपथस्थित सिटी हलमा विहान ८ बजेदेखि हुँने मतदानकाे लगभग तैयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ।
संघको नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिका महासचिव लक्ष्मण कँडेल र बरिष्ठ उपाध्यक्ष हर्ष विक्रम खड्कावीच सिधा प्रतिस्पर्धा भइरहेको छ। हिजोसम्म व्यवसायीहरुसँग खुलारुपमा मत माग्दै हिंडेका उनीहरु मौन अवधि सुरु भएपछि गोप्यरुपमा हिडेका छन।
संघको निर्वाचनमा कँडेल प्यानलमा धेरैजसो व्यवसायीहरु, १० वटा बस्तुगत समिति, चार जना संघका पूर्व अध्यक्षहरुले साथ दिएका छन भने खड्का पक्षधरलाई गठवन्धनका राजनीतिक दलहरुको समर्थन छ। मतका हिसाबले खड्का टिममा भन्दा कँडेल टिममा वढि भएको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनवहादुर रावतले जानकारी दिए।
कोभिड फैलिएको समयमा कँडेलले खेलेको भूमिकाका कारण संघमा कँडेलको नेतृत्व आवश्यक रहेको आम मतदाताहरुकाे बुझाई रहेको अध्यक्ष रावतकाे भनाइ छ। कँडेल विकास निर्माणका अन्य काममा पनि खटिईरहने र सवै पक्षका व्यवसायीहरुसंग समदुरीमा रहेर काम गर्ने स्वभावका भएकोले पनि एमाले र माओवादी केन्द्र तथा एकीकृत समाजवादीमा आवद्ध धेरै व्यवसायीहरुले कँडेललाई साथ दिएका छन।
खड्का पक्षधरलाई भने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र अन्तिममा आएर राप्रपाले समेत विज्ञप्ति जारी गरी खड्काको पक्षमा खुलेर लागेका छन्।
सदस्यता नवीकरण विवादका कारण खड्का पक्षधरले उच्च अदालतमा रिट दायर गरेपनि पछि अदालतले निर्वाचनकाे वाटाे खाेलिदिएकाे थियाे। उच्च अदालतले अन्तरिम आदेश नदिएपछि चुनाव हुन लागेको हाे।
लक्ष्मण कँडेल पक्षलाई सुर्खेत उद्योग बाणिज्य संघका वर्तमान अध्यक्ष धनबहादुर रावत, पूर्व अध्यक्ष टेकबहादुर भण्डारी, पूर्व अध्यक्ष डा. सूर्यबहादुर खड्का र विष्णुबहादुर शाहीले समर्थन गरेकाे वुझिएकाे छ।
यस्तै, १० वटा बस्तुगत समितिले पनि सामूहिक हस्ताक्षर गरी कँडेललाई समर्थन गरेका छन्। हार्डवेयर बस्तुगत समिति, कम्प्यूटर एशोसियशन, फलफूल तथा तरकारी बस्तुगत समिति, होटल व्यवसायी समिति, पाठ्यपुस्तक तथा स्टेशनरी बस्तुगत समिति, अटो मोबाइल्स समिति, खाद्य तथा किराना समिति, भाँडावर्तन समिति, साइकल व्यवसायी समिति र ग्रिल तथा सटर बस्तुगत समितिले लक्ष्मण कँडेल नेतृत्वलाई समर्थन गर्दै जिताउन अपिल गरेका छन्।

प्रकाशित मिति : २०७९ वैशाख ३ गते शनिबार