
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले डाइभरसिटी भिसा (डीभी) रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनुरोध गरेका छन् । उनले बिहीबार राति सामाजिक सञ्जालमार्फत ट्रम्पसँग डीभी चिट्ठा रोकेर संसारलाई अघि बढ्न दिन आग्रह गरेका हुन् ।
‘कृपया आफ्नो लोभ (डीभी) दासत्व पनि रोक्नुहोस् । हामी हाम्रा रत्नहरू फिर्ता ल्याउनेछौं,’ उनले फेसबूकमा लेखेका छन्, ‘बाँकी संसारलाई तपाईंको देशमा आउन प्रतिबन्ध लगाउनुहोस् र संसारलाई अघी बढ्न दिनुहोस् ।’ मेयर शाहले राष्ट्रपति ट्रम्पलाई नेपाल अमेरिकाभन्दा राम्रो छ भन्ने कुरा महसुस गराइदिएको भन्दै धन्यवादसमेत दिएका छन् ।
‘प्रिय डोनाल्ड ट्रम्प, हाम्रो देश तपाईंको देशभन्दा राम्रो छ भन्ने कुरा महसुस गराइदिएकोमा धन्यवाद,’ उनले थपेका छन्, ‘हामी गरिब छौं किनभने हाम्रा मानिसहरू देश छोडिरहेका छन् । तपाईंहरू गरिब हुनुहुन्छ किनभने तपाईंका मानिसहरूले आफ्नो देश बनाउन सक्दैनन । तपाईं अल्छीहरूलाई संसारकै सहाराको आवश्यकता छ ।’
अमेरिका राष्ट्रपति ट्रम्पले बुधबार मात्रै नेपालको विषयमा अभिव्यक्ति दिएका थिए ।हालैको एक भाषणमा ट्रम्पले नेपालको सङ्घीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर रोकिएको जानकारी गराएका हुन् । उनले यसलाई ठगीको संज्ञा दिँदै रोकेका हुन् ।