२०८३ वैशाख ५ , शनिबार

औधाेगिक क्रान्तिले पुरै विश्वलाई पारेको असर, वेलायत बन्याे मुख्य साम्राज्यवादी शक्ति



    औद्योगिक क्रान्ति १८औँ शताब्दीको मध्यदेखि १९औँ शताब्दीको मध्यसम्म भएको थियो। यस समयमा बेलायत, फ्रान्स, स्पेन, नेदरल्यान्ड, बेल्जियमले ठुलाठुला साम्राज्य खडा गरेका थिए। औद्योगिक क्रान्ति बेलायत, युरोपेली महादेश र संयुक्त राज्य अमेरिकामा १७६० देखि १८२० सम्म र १८४० को समयको नयाँ म्यानुफ्याक्चरिङ प्रक्रियाहरूको सङ्क्रमणकाल थियो।
यस सङ्क्रमणमा हाते उत्पादन विधि मेसिनमा रुपान्तरण भयो, नयाँ रासायनिक म्यानुफ्याक्चरिङको, स्टिल उत्पादनको बिकास भयो, वाष्प उर्जा र जल उर्जाको उपयोग बढ्यो, मेसिन टुलको बिकास भयो र मेकनाइज्ड फ्याक्ट्री प्रणालीको उदय भयो।औद्योगिक क्रान्तिले जनसंख्या वृद्धि दरमा पनि ठूलो वृद्धि ल्यायो।

      रोजगार,पूँजी लगानी र उत्पादन मुल्यको हिसाबले टेक्सटाइल उद्योग औद्योगिक क्रान्तिको समयमा अग्रणी उद्योग थियो। आधुनिक उत्पादन प्रक्रिया सुरु गर्ने पहिलो उद्योग पनि टेक्स्टाइल उद्योग नै थियो।

    औद्योगिक क्रान्तिको सुरुवात बेलायतमा भयो र धेरै प्राविधिक तथा यान्त्रिक आविष्कारहरू बेलायती मुलका नै थियो। वेलायतले अमेरिका, क्यारेबियन र भारतीय उपमहाद्वीपमा सैन्य तथा राजनैतिक प्रभुत्व सहितको व्यापारिक साम्राज्यको स्थापना गरेको थियो। औधाेगिक क्रान्तिपछि उत्पादित ठूलो परिमाणका सामानहरु वेच्न शक्ति सम्पन्न राष्ट्रहरुले साना र कमजोर राष्ट्रहरुलाई नियन्त्रण लिएर व्यापार व्यवसाय गर्न थाले।

    पश्चिमी मुलुकहरुमा १८ औं शताब्दीमा औद्योगिक क्रान्ति भएको थियाे। तर,यसवाट इंग्ल्यान्ड सबैभन्दा सफल भयाे। कृषि क्रान्ति, प्रविधिको विकास, उर्जाका लागि प्रशस्त कोइलाहरु उपलब्ध, उल्लेख्य मजदुर संख्या, पूँजी परिचालनका लागि बैंकहरुकाे स्थापना, स्टक मार्केटको शुरुवात, सरकारी उत्प्रेरणा आदिलाई मानिन्छ ।
कुनै समय यस्तो आयाे कि इंग्ल्यान्डको लगभग संसारभर साम्राज्य वन्याे। यूरोप, एसिया, अफ्रिकाका देशहरुमा वेलायतकाे साम्राज्य स्थापना भएपछि उसलाई सूर्य नअस्ताउने देश भनेर भन्न थालियाे। सवै ठाउँमा आफु अनुकुलका पपेट सरकारहरु वन्दै गएछि उत्पादित सामानहरु वेच्न र उद्योगहरुका लागि चाहिने कच्चा पदार्थहरु ती ठाउँहरुवाट आपूर्ति गर्न निक्कै सहज हुन थाल्याे। रोजगारीले गर्दा मानिसहरुको जीवनस्तर बढेपछि संसारभर सामानहरुको माग अझ बढ्न थाल्यो ।

       ईश्वी सम्वत १७७० मा जेम्स् हारग्रीभ्सले आठवटा धागो घुम्ने परम्परागत चर्खाको सट्टा एकैपटक १ सय २० वटा धागो राखी घुम्ने आधुनिक चर्खाकाे आविष्कार गरे।  बेलायतमा भएको औद्योगिक क्रान्ति शुरुवात यसैलाई मान्ने गरिएको छ। यसपछि कपडा र फलाम उद्योगमा पनि मेसिनकाे प्रयाेगवाट ठूलो मात्रामा सामानहरु उत्पादन गरियो । बास्फ शक्ति (स्टिम इन्जिन) आविष्कार, कारखाना (फ्याक्ट्री) विकास, रेलको शुरुवात, पूँजीवाद र खुल्ला बजार तथा अन्य प्रविधि विकासले बेलायतको रुप पुरै फेरियो ।

     सन् १७६० देखि १८५० को अवधिमा आर्थिक उन्नति, प्रविधिमा आधुनिकीकरण, खुला र प्रतिस्पर्धात्मक व्यवसाय जस्ता महत्वपूर्ण कार्य गर्न विश्व सफल वन्याे। औद्योगिक क्रान्तिका आलोचकहरुले भने अनियन्त्रित पूँजी संचयले सामाजिक व्यवस्थामा ठूलो खाडल देखिएको भन्दै आलाेचना गरेका छन्।
धनी झन् धनी र गरिब थप गरिब हुन पुगेको भन्दै याे व्यवस्था पूँजीवादकाे चरमरुप भएको तर्क गर्दछन। गाउँलेहरुले आफुसंग भएको सवै जग्गाजमीनहरु वेचेर औधाेगिक मजदुरका रुपमा काम गर्न थालेको उनीहरू वताउँछन।
औद्योगिक क्रान्तिमा मजदुरको तलब निकै कम थियो तर काममा धेरै घण्टा जोतिनु पथ्र्यो । महिला तथा बाल कामदारको अवस्था पनि दयनीय थियाे। बाल मजदुर लगायत कलकारखानामा काम गर्दा घाइते भएकाहरुको संख्या निकै वृद्धि भयो, उनीहरुले पाउने सुविधा केही थिएन । जागिर गुमाएकाहरु गरिवीमा पिल्सनु बाहेक उनीहरुसंग अरु केही उपाय थिएन ।
धेरै मानिसहरु रातारात धनी भएपछि गाउँलेहरुका जग्गाजमीन सस्तोमा खरिद गरेर मानिसहरुलाई आफ्नो घर जग्गाबाट निकालिएकाे थियाे। उद्योग कलकारखाना खोल्ने क्रम बेलायतमा तीव्र बनेसंगै गाउँ वस्तीहरु खाली हुँदै गए भने तीब्र शहरीकरण भयाे। यसले त्यहाकाे जनसंख्यासमेत निकै वृद्धि भयाे।

    बेलायतमा गरिवीको खाडल बढ्दै गएपछि सन् १८३४ मा गरिवी निवारण कानुन (पुअर ल) लागू गरियो जसले केहि हदसम्म मजदुर र मध्यम वर्गीय मानिसका समस्या सम्बोधन गर्ने प्रयत्न गर्यो ।  बेलायतमा सन् १८७० देखि १९०० को अवधिमा प्रतिव्यक्ति आर्थिक उत्पादन करिव ५०० गुणासम्मले बढेको थियाे ।

      औद्योगिक क्रान्तिले रेल्वे विस्तारले आधुनिक वितरण र उत्पादनको नयाँ युग शुरु भएको थियो । यसले गर्दा यहाँका मानिसहरुको जीवनस्तर बढ्नुका साथै बेलायत संसारकै पहिलो औद्योगिक देश बन्न पुगेको हाे।

प्रकाशित मिति : २०७९ वैशाख ४ गते आइतबार