
सुर्खेत । नेकपा एमाले सुर्खेतका जिल्ला अध्यक्ष कुलमणि देवकोटाले पार्टीलाई बलियो बनाउन सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । मंगलबारदेखि सुरु भएको नेकपा एमाले बराहताल गाउँपालिका स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष देवकोटाले पार्टीको नीति, विधि र सिद्धान्तमा रहेर जनताको सेवामा समर्पित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
एमालेलाई निर्णायक पार्टी बनाउन थालिएको तीन महिने वडा केन्द्रित जरा अभियानलाई सफल बनाउन गाउँ, वडा तथा टोल कमिटीलाई व्यवस्थित र सुदृढ बनाई सदस्यता नवीकरणमा जुट्नुपर्ने देवकोटाको आग्रह थियो । पार्टीमाथि चौतर्फी हमला भइरहेको उल्लेख गर्दै अध्यक्ष देवकोटाले वार्षिक कार्ययोजना अनुरूप पार्टी सदस्यता नवीकरणको अभियानको थालनी गरेर पाटीलाई बलियो बनाए मात्रै जनताका अपेक्षा पुरा हुने दाबी गरे ।
यस्तै, केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतले नेताहरूलाई जिल्ला र पालिका केन्द्रित नभई वडा तहमा परिचालन हुन निर्देशन दिए । पार्टीलाई मजबुत बनाउन विनास्वार्थ अभियानमा होमिनुपर्ने उनको भनाई थियो । प्रदेश कमिटी सचिव धुव्रकुमार शाहीले पार्टीले गरेका राम्रा कामको प्रचारमा नेता तथा कार्यकर्ताको ध्यान नपुगेको उल्लेख गर्दै शाहीले राम्रा कामको प्रचार र गलत कामको भण्डाफोरमा उत्रनु पर्ने बताए ।
यस्तै, केन्द्रीय सदस्यसमेत रहेकी वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पार्टीका हरेक अभियानलाई सफल बनाउन एकताबद्ध हुनुपर्ने बताइन । पार्टीले थालेको जरा अभियानलाई सफल बनाएर आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउन दृढ सङ्कल्प आवश्यक रहेको बताइन । पालिका कमिटीले सङ्गठित सदस्यता बढाउन भेला तथा प्रशिक्षण कार्यक्रमलाई सशक्त बनाएर लैजानु पर्ने बताइन् ।
पार्टीको नीति, विधि र सिद्धान्तलाई सफल बनाउन ऐमालेजन गोलबद्ध हुनुपर्ने बताउँदै उनले बहुमत वडामा जित हासिल गरेपनि पालिकामा पराजय भोग्नु परेको दृष्टान्तलाई बदल्न नेतृत्वमा रहेकाहरू बढी जिम्मेवार हुनुपर्ने बताइन । जनताका अपेक्षा पूरा गर्न पार्टीलाई बलियो बनाउन आवश्यक रहेको ढकालको तर्क थियो । अरूलाई गाली गरेर नभई क्षमता देखाएर जनताको सेवा गर्न आवश्यक रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा पोखिएर देशलाई समृद्धिको बाटोमा लैजान नसकिने ढकालको दाबी छ ।
जिल्ला पार्टी स्कुल विभागको संयोजन, बराहताल गाउँ कमिटीको व्यवस्थापन तथा स्कुल विभाग बराहतालको आयोजनामा मंगलबारदेखि सुरु भएको प्रशिक्षण बुधवारसम्म चल्ने छ । बराहताल गाउँपालिका–१० को सलैनामा आयोजित प्रशिक्षणमा बराहताल गाउँ कमिटी र वडा कमिटीका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।