नेपाली कांग्रेस सुर्खेत ईतिहासकै संगीन माेडमा उभिएको छ। पहिलोपटक नै हाेला नेपाली कांग्रेसकाे अर्को टिमले घाेषित रुपमा जिल्लाका ९ पालिका, ९९ वटा वडामा अाफ्नाेतर्फवाट उम्मेदवारी दिएको छैन। नेपाली कांग्रेस सुर्खेतले जिल्लामा वितरण गरेका टिकट प्रती असन्तुष्टि जनाउदै पार्टी नै छाेड्ने मुडमा तल्लो तहका कार्यकर्ताहरु पुगेका छन्।
कांग्रेसकाे जिल्ला नेतृत्वले गरेको निर्णय प्रती असन्तुष्टि जनाउदै वीरेन्द्रनगरकाे वडा नं २ वाट स्वतन्त्र उम्मेदवारीकाे सेट नै तयारी गरेर निर्वाचनमा हाेमिएका रामवहादुर गाैतमसहितकाे टिमलाई थानी समूहले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएपछि पार्टी छाेडेकाे जानकारीहरु वताउँछन। गाैतमकाे टिमले शनिबार कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेको छ।
कांग्रेस ईतर समूह भित्र अहिले दुई धार देखिएको छ। पहिलो धारले सत्याग्रह जस्तै अान्दोलन गरेर पार्टी नेतृत्वलाई अाफ्नाे एजेन्डामा झुकाउने साेच राखेको छ भने दाेश्राे धारले खड्का समूहसंग “फेसटुफेस फाईट” गर्ने मुड वनाएकाे छ। कांग्रेस पार्टीले जहाँ जहाँ उम्मेदवारी दिन्छ, त्यहाँ त्यहाँ वागी बिद्रोही वनेर कांग्रेसका सवै अाधिकारिक उम्मेदवारहरुलाई हराउने दाेश्राे धारकाे याेजना छ। पहिलाे धारले भने पार्टी भित्र अन्तर्संघर्ष जारी राखेर अाफ्नाे पक्षमा पार्टी कार्यकर्ताकाे समर्थन वटुल्ने याेजना बनाएको छ।
विवादै विवादले घेरिएको कांग्रेस सुर्खेत भित्रकाे लडाइँ अहिले उत्सर्गमा पुगेको छ। गत वर्ष सम्पन्न भएको जिल्ला अधिवेशनपछि निक्कै तिक्ततापूर्ण वनेकाे दुई टिम बीचको सम्बन्ध अहिले एकै ठाँउमा बस्नै समेत नसक्ने गरि बिग्रेको स्वयं कांग्रेसका नेताहरू नै वताउँछन।
२०७९ काे स्थानीय तहकाे निर्वाचनमा सम्मानजनक भाग खाेजेकाे संस्थापन ईतर समूहलाई गठवन्धनकाे छलफलमासमेत नवाेलाएपछि उनीहरू रुष्ट बनेका छन। यसैकाे विरोध स्वरुप ईतर समूहले जिल्लाभरनै स्थानीय तहकाे उम्मेदवारी स्वीकार गरेन।
सुर्खेत कांग्रेसका दुई टिम बीचको अन्तर्संघर्षकाे कहानी धेरै लामाे छ। २०४९ सालकाे स्थानीय तहकाे निर्वाचन अघिसम्म एउटै टिममा रहेका कांग्रेस केन्द्रीय उपसभापति पूर्णवहादुर खड्का र नेता हृदयराम थानीकाे सम्बन्ध जिल्ला विकास समितिकाे सभापति पदले बिगारेको थियाे।
२०४८ सालमा प्रतिनिधि सभा क्षेत्र नं २ बाट हृदयरामकाे टिकट निश्चित जस्तै थियाे। त्याे राेकिएपछि थानीले जिल्ला विकास समितिकाे सभापति बन्ने सुर कसे। जिल्ला विकासकाे सभापति वन्न वडा तहमा जितेर अाउनुपर्ने भएकोले थानीले वीरेन्द्रनगर १ काे वडा अध्यक्ष पदमा निर्वाचन लडे। तत्कालीन समयमा वीरेन्द्रनगर १ कम्युनिस्टहरुकाे गढ थियाे। उक्त समयमा झण्डै ७० प्रतिशत मत भएको कम्युनिस्टहरुकाे पकड वडावाट निर्वाचन जितेर अाएपनि उनलाई सभापति बन्न राेकिएकाे थियाे।
थानीले कठिन संघर्षबाट वडा अध्यक्षकाे चुनाव त जिते। तर, उनलाई जिल्ला विकास समितिकाे सभापति बन्नवाट नेता खड्काले राेकेकाे थानी निकटहरु वताउँछन। थानीलाई खड्काकाे पकडमा रहेको कांग्रेसकाे जिल्ला समितिले जिल्ला विकास सभापतिकाे टिकट दिएन। खड्का निकट गाेविन्दवहादुर मल्ल जिविस सभापति बने।
त्यसपछि सुर्खेतमा कांग्रेसकाे राजनीति दुई धुर्वमा वाडियाे। कृष्णप्रसाद भट्टराई खेमामा रहेका दुवै नेताहरुकाे खेमा परिवर्तन भयाे। थानीले खेमा परिवर्तन गरि गिरिजाप्रसाद काेईराला समूहमा पुगे भने खड्का भट्टराईकाे खेमामा कायम रहे। ५० काे दशककाे सुरुवाटै सुर्खेतकाे नेपाली कांग्रेस खड्का कांग्रेस र थानी कांग्रेस भनेर चिनिन थाल्याे।
खड्काले संसदीय निर्वाचनहरु जित्दै गए भने थानीलाई २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा वागी उम्मेदवार उठाएर हराउन लगाएको थानी पक्षकाे वुझाई रह्यो। त्यसपछिका दिनहरु झनै तिक्ततापूर्ण रहे। कांग्रेसलाई घात, प्रतिघात र अन्तर्घातले जेल्दै लग्याे।
खड्काले केन्द्रीय राजनीतिमा पकड गराउदै लगेपनि कांग्रेसको जिल्ला नेतृत्व थानीकाे पकडमै रह्यो। तप्तवहादुर विष्ट हुँदै कमलराज रेग्मीसम्म अाईपुग्दा सुर्खेतमा खड्काकाे कुनै जाेर चलेन। थानी अनुकुलकै जिल्ला समिति बनिरह्याे।
२०७८ सालमा भएको कांग्रेसकाे जिल्ला अधिवेशनपछि भने सुर्खेत कांग्रेस भित्र गम्भीर समस्या देखिएको छ। याे अधिवेशनबाट खड्का पक्षले थानी पक्षलाई पुरै क्लीन स्वीप गर्याे। गाउँ नगर, क्षेत्र,जिल्ला, प्रदेश सवै ठाउँमा नेता पूर्णवहादुर खड्काकाे टिम सत्तामा अायाे।
सत्ता र शक्तिकाे अाधारमा अाफ्ना पक्षका ७ सय वढि कृयाशिल सदस्य हटाएको र संगठन नै नभएको अखण्ड पार्टी र विजय गच्छदारकाे पार्टीवाट सयौंकाे संख्यामा समायोजन भइ अाएकाे भनेर फर्जी सदस्य बनाई अाफुहरुलाई जिल्ला अधिवेशनमा हराईएकाे नेपाली कांग्रेस सुर्खेतका युवा नेता नारायण काेईराला वताउँछन।
उनले पछिल्लो समय नेतृत्वले लिएको नीति प्रती असहमत हुँदै कांग्रेस पार्टी छाेड्ने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दछन। जिल्ला नेतृत्वसंग असहमति राख्दै अाएका नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि रामबहादुर गौतम काँग्रेस परित्याग गरि राप्रपामा प्रवेश गरेका छन् । उनी सुर्खेत उपत्यका खानेपानी संस्थाका कोषाध्यक्षसमेत हुन। उनीसंगै कांग्रेसकाे जिम्मेवारी तहमा रहेका अन्य नेताहरू पनि राप्रपा प्रवेश गरेकाे प्रती काेईरालाले चिन्ता व्यक्त गरे।
काेईरालाले पार्टीका कुनैपनि नेता कार्यकर्तालाई नअात्तिन अाव्हान गरे। राजनीतिमा कहिलेकाहीँ यस्तो परिस्थितिवाट पनि गुज्रनु पर्ने भन्दै उनले कार्यकर्ताहरुलाई धैर्य गर्न अाग्रह गरे। परिस्थिति तलवाट बिग्रेको नभई माथिका नेताहरुबाटै बिगारिएकाेले यसको समाधान पनि उनीहरूले नै खाेज्नुपर्नेमा काेईरालाकाे जाेड छ।
अन्य पार्टीहरु चुनावी कार्यक्रम लिएर जनता माझ गैसक्दा पनि नेपाली कांग्रेस गठवन्धन र पार्टीको अान्तरिक द्वन्द्वमा फसेको छ। पार्टीका सिनियर नेताहरु पार्टी अभियानमा लागेको देखिदैन। नेपाली कांग्रेसकाे प्रमुख प्रतिद्वन्दी एमालेले काेणसभा र पहिलाे चरणको घरदैलो सम्पन्न गर्न लागिसक्दा पनि नेपाली कांग्रेस घर बाहिर निस्कन नसकेर थला परेकाे कांग्रेस नेताहरु नै वताउँछन।
तर, पार्टीको केन्द्रीय नीति वमाेजिम नै गठवन्धन भएकोले लामो छलफलमा बस्नु परेकाे सुर्खेत कांग्रेसका सचिव देवकुमार सुवेदी बताउँछन् । उनले यसैमा बढ्ता लाग्नु परेकाले पार्टीका अन्य काममा ध्यान दिन नपाएको उल्लेख गरे। अांशिक रुपमा मात्रै कांग्रेस र माअाेवादी बीच जिल्लामा गठवन्धन भएको र वडासम्ममा पनि गठवन्धन गरेर जानेवारे छलफल जारी रहेकोले कांग्रेस सडकमा निस्कन नसकेको सचिव सुवेदीले दाबी गरे।
पार्टीमा देखिएको विवादवाट कत्तिपनि विचलित नहुन सुवेदीले कार्यकर्ताहरुलाई अाव्हानसमेत गरे। कार्यकर्ताहरुकाे मूल्यांकन पार्टीले गर्ने र उचित जिम्मेवारी दिनेवारे छलफल सुरु गरेको सुवेदीले वताए।