
नरेश जङ्ग राना
सुर्खेत । २०६७ को ऐनबाट स्थापित मध्यपश्चिम विश्वविद्यालयको २०६९ सालदेखि पठनपाठन सुरु भयको थियो । तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा स्थापित विश्वविद्यालय हाल कर्णाली प्रदेशमा अवस्थित छ । विश्वविद्यालय स्थापना देखि यता चार वटा स्ववियु कार्य तालिका सार्वजनिक मध्ये २०७३ साल भाद्र १२ गते निर्वाचन सफलतापूर्वक सम्पन्न भयको र ०७९ चैत्र ३ गते र ०८१ भाद्र ८ गते दुई पट्क चुनाव स्थगित भएको थियो ।
हाल उच्च अदालतको परमादेश अनुरूप ०८१ साल चैत्र १८ गते निर्वाचन सम्पन्न हुने गरी पुनः विश्वविद्यालयले निर्वाचन कार्यपालिका सार्वजनिक गरेको छ । मध्यपश्चिम विश्वविद्यालयमा करिब ८ वर्ष पछि स्ववियु सक्रिय हुने भएपछि आम विद्यार्थी र विद्यार्थी सङ्गठनहरूमा उत्साह सिर्जना हुनु पर्ने हो तर दुई दुई पटक निर्वाचन स्थगितले निर्वाचन हुन्छ नै भन्ने विश्वास नरहेको पाइन्छ ।
म.प. विश्वविद्यालयमा के यो कार्यपालिका बमोजिम चुनाव हुन सक्ला ! स्ववियु निर्वाचन पुनः रूपमा हुनसक्छ वा ०७९ र ०८१ भाद्र २८ जस्तै स्थगित हुन्छ ! के चुनावका लागि विद्यार्थी र विद्यार्थी सङ्गठनहरू उत्साहित छन् ! यस्ता तमाम प्रश्नहरु विश्वविद्यालय परिसरमा सुनिने गरेका छन् जसबाट चुनाव हुने वा नहुने आदि विषयमा आ–आफ्नै अड्कलबाजी लगाएका छन् ।
विगतको इतिहास पल्टाउँदा नेपालको राजनीतिमा विद्यार्थी आन्दोलन र स्ववियुको भूमिका आफैमा स्मरणयोग्य र प्रेरणादायी छ । पञ्चायतकालीन अवस्थामा “जयतु संस्कृतम´´ आन्दोलन होस् या पञ्चायतका विरुद्ध स्ववियुले निर्वाह गरेको भूमिका होस् यो साँच्चिकै स्मरणयोग्य छ ।
अझ भनौँ विश्वविद्यालयको विद्यार्थी राजनीतिबाटै राजनीतिमा युवाहरूको व्यापक सहभागिता र विभिन्न कालखण्डमामा भएका राजनैतिक परिवर्तनमा विद्यार्थी आन्दोलनको प्रत्यक्ष भूमिका गर्व गर्न लायक छन् । २०३६, २०४६, २०६२ र २०६३ को राजनैतिक परिवर्तनमा विद्यार्थी आन्दोलनको महत्त्वपूर्ण भूमिका रह्यो ।
अत्….
मध्यपश्चिम विश्वविद्यालयमा २०७३ सालदेखि स्ववियु निर्वाचन हुन सकिरहेको छैन । हालसम्म निरन्तर निर्वाचन भएको भय सम्भवतः तीन वटा स्ववियु समूहले स्ववियुको प्रतिनिधित्व गरिसकेका हुन्थे । विडम्बना ८ वर्ष देखि विद्यार्थीको बैंधानिक साझा एवम् विद्यार्थीको प्रतिनिधि संस्था नेतृत्वबीहिन छ ।
स्ववियुप्रति बुझाई
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विश्वविद्यालयमा निरन्तर गर्ने गरी अगाडि बढाउनुपर्ने हाल निर्वाचित स्ववियु समूहले जिम्मेवारी काँधमा बोक्नुपर्ने छ र स्थगित गर्ने नजिर सधैँका लागि अन्त्य गर्नुपर्ने छ । ०६५ सालदेखि उमेरको हदबन्दीका कारण के २८ वर्ष भित्रका विद्यार्थीहरूले स्ववियुलाई गति प्रदान गर्न सक्लान् !
के यो समूहका विद्यार्थीबाट स्ववियुको औचित्य पुष्टि होला भन्ने वर्तमान समयका तमाम प्रश्नहरूलाई व्यवहार चिर्नुपर्ने छ र उमेरले हैन क्षमता र क्रियाशीलताबाट सबै सम्भव छ भन्ने कुरा स्थापित गर्नुपर्ने छ । स्ववियुमा दलीय राजनीतिको हाबी हुँदै जाने स्ववियु संस्थाको नेतृत्वमा पुगेकाहरूले स्ववियु कार्यालयलाई सङ्गठनको कार्यालय तथा सङ्गठनको स्वार्थ अनुरूप स्ववियुको गतिविधि गर्ने प्रविधिको अन्त्य गर्दै स्ववियु संस्थालाई समग्र विद्यार्थीको निष्पक्ष, स्वतन्त्र, र साझा संस्थाको रूपमा पुष्टि गर्नुपर्ने छ ।
स्वतन्त्र विद्यार्थी युनियन संस्थाले तमाम विद्यार्थीलाई राजनीतिक चेतना सङ्गै देशको शैक्षिक, प्रशासनिक, सामाजिक र आर्थिक विकासका विषयसँग सहभागिता र त्यस्ता मुद्दामा जोड्ने फोरमका रूपमा कार्य गर्नुपर्दछ । यस्तै विश्वविद्यालयमा अध्ययन अध्यापन सङ्गै विद्यार्थीहरूलाई रचनात्मक, सिर्जनात्मक तथा वैचारिक बहस एवं चिन्तनसँग पनि जोड्ने फोरम स्ववियु हो ।
स्ववियु समग्र विद्यार्थीहरूबाट अनुमोदित भएर आउने स्थान, जसले विद्यार्थीका हकहितका लागि कार्य गर्ने, विश्वविद्यालयलाई रचनात्मक, सिर्जनात्मक ढङ्गले अगाडि बढाउँदै वैचारिक एवं शैक्षिक गतिविधिमा सक्रिय बनाउँदै विश्वविद्यालयलाई सुदृढ र सिस्टेमिक ढङ्गबाट अगाडि बढाउने मूलभूत सिद्धान्त बन्नुपर्दछ ।
स्ववियु आफैमा उत्कृष्ट पद्धति हो । देशको सबै क्षेत्रमा कुशल नेतृत्व निर्माण गर्ने आधारशिला वा नर्सरी पनि हो । जुन संस्थाले निष्पक्ष, स्वतन्त्र रहँदै गलत लाई गलत र सही लाई सही भन्ने सामर्थ्य राख्नु पर्दछ। विद्यार्थीका हितका मुद्दा, पठनपाठन, परीक्षा, पढ्दै कमाउँदै कार्यक्रम, रचनात्मक, सिर्जनात्मक गतिविधि, उत्पादनमुखी गुणस्तरीय शिक्षा, व्यवहारिक र म.प. विश्वविद्यालयको हकमा कर्णाली माटो सुहाउँदो सिप सिकाई, वैचारिक बहस आर्थिक, सामाजिक, राजनैतिक, कूटनैतिक समझदारीको विकास आदि सबै कुरामा स्ववियुले आम विद्यार्थीलाई दिशा प्रदान गर्नुपर्दछ ।
यस्ता तमाम विषयमा ध्यान दिँदै स्ववियुका कमजोर पक्षलाई सुधार गर्ने दिशामा अग्रसर हुन सक्ने हो भने मात्र स्ववियु आम विद्यार्थीहरूको नेतृत्वदायी निकाय बन्न सक्नेछ ।
नरेश जङ्ग राना, अनेरास्ववियु म.प. विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष