
सुर्खेत । सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सबलीकरणमा कर्णालीका सबै दलहरू एकताबद्धता भएका छन् । मङ्गलवार वीरेन्द्रनगरमा आयोजित सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् । विद्यमान व्यवस्थालाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्नेमा उनीहरू एकमत भएका हुन् ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रममा विभिन्न दलका प्रतिनिधि, नागरिक समाज, शिक्षा क्षेत्रका विज्ञ र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू सहभागी थिए । मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापक डां आनन्दप्रसाद सुवेदीले सबैले एकै किसिमबाट लोकतन्त्रको अनुसरण गर्न पाउनुपर्ने बताए ।
संवैधानिक प्रावधानको परिपालना गर्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ । अहिले पनि लोकतन्त्रको अनुभूति शतप्रतिशत नागरिकले गर्न नसकेको भन्दै उनले सरकारले मौलिक हक कार्यान्वयनमा जोड दिनुपर्ने जनाए । राज्यले नागरिकप्रति उत्तरदायी भूमिका निभाउन नसकेको सुवेदीको भनाइ छ ।
सरकार र कर्मचारी तन्त्रमा बेमेल हुँदा सङ्घीयताको मर्म अनुरूप काम हुन नसकेको उनले बताए । उद्योगी व्यवसायी चिन्तामणि शर्माले संविधानको कार्यान्वयन गर्नु राज्यको प्रमुख दायित्व भएको बताए । पार्टी पङ्क्तिले जनताको हित हुने गरी काम गर्नुपर्नेमा उनको जोड छ । लोकतन्त्रपछि नागरिकको जीवन फेरिएको भन्दै उनले सबै क्षेत्रबाट लोकतन्त्रको रक्षा गर्नु पहिलो दायित्व भएको जनाए ।
प्याब्सन सुर्खेतका अध्यक्ष छत्र बढुवालले शिक्षामा नीतिगत व्यवस्था आवश्यक रहेको बताए । शिक्षामा असमानता र शिक्षा सुधारमा ढिलाइ भइरहेको भन्दै उनले सबै नागरिकको हकमा सर्वसुलभ शिक्षा हुनुपर्नेमा जोड दिए । नागरिक समाजका प्रतिनिधि भूपेन्द्र शाहीले जनता र सरकारबिच असन्तुष्टि बढेको बताए । लोकतन्त्रको रक्षाका लागि संविधानको परिपालना गर्नुपर्नेमा उनको जोड थियो ।
माओवादी केन्द्रका सुर्खेत जिल्ला सचिव टोपबहादुर दर्लामीले लोकतन्त्रको रक्षा गर्नु सबैको दायित्व भएको जनाए । अहिले भइरहेको राजावादीको चर्चा बेकारको भएको र जनताले त्यस कुरामा सचेत हुनुपर्ने जनाए । सहकारी संस्थाका प्रतिनिधि नवराज कँडेलले सङ्घीयताको मर्म अनुरूप काम गर्नुपर्ने बताए । गणतन्त्रपछि नागरिकको जीवन फेरिएको अनुभूति भएको उनको भनाइ छ ।
नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धिको रक्षाका लागि गणतन्त्र पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने बताए । जनताको बलिदानबाट प्राप्त गणतन्त्रको संरक्षण र संवर्द्धनमा जुट्न सबैसँग अनुरोध समेत उनले गरेका छन् । पछिल्लो समय गणतन्त्रलाई कमजोर पार्ने षड्यन्त्र भइरहेकाले त्यसतर्फ सचेत रहन समग्र पार्टी पङ्क्तिलाई आग्रह समेत गरेका छन् ।
एमाले पार्टी केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतले राजावादीहरू हाबी भएको बताए । राजाबारे अहिले चलेको चर्चा मिथ्या भएको उनको भनाइ छ । एमाले नेता ठम्मर विष्टले लोकतन्त्रले गर्दा देशमा ठुलो परिवर्तन भएको जनाए । नागरिकलाई यसबारे बुझाउनुपर्ने उनको भनाइ छ । नेकपा (एमाले) कर्णाली प्रदेशका इन्चार्ज गोरख बोगटीले गणतन्त्रमाथि धावा बोल्ने काम भइरहेको बताए ।
‘समाजमा शान्ति र सुव्यवस्था कायम गर्नुपर्छ, अनेक प्रकारका साम्प्रदायिक विद्वेष भड्काउने खालका, देशको विविधतालाई दुरुपयोग गर्ने खालका हाम्रा भाषा, जातजातिका संस्कृतिको सम्मान गर्न छोडेर तिनका बिचमा अविश्वास बढाउने, त्यस्ता खालको क्रियाकलाप ग¥यो भने देश बिथोलिन्छ ।,’ उनले भने, ‘देशमा अनेकता हुन्छ, देशमा एकता भएर राष्ट्र निर्माण गर्ने अभियानलाई यसले कुठाराघात गर्छ, त्यस कारण त्यस्तो नगर्ने राष्ट्रिय एकताको पक्षमा रहेका यस्ता शक्तिहरू मिलेर अगाडि बढ्न सकिन्छ ।’
बजारमा चलेका हल्लाबाट नागरिकलाई सचेत बनाउनुपर्नेमा उनको जोड थियो । नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटी अध्यक्ष कुलमणि देवकोटाले लोकतन्त्रको सुन्दर पक्षको रक्षा गर्नुपर्ने बताए । लोकतन्त्रको दिगोपनाका लागि काम गर्नुपर्ने भन्दै उनले आयातित बिचारमा बिचल्लीत नहुन सबैलाई आग्रह गरे ।
उनले भने,‘ सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक प्रतिनिधित्वसहितको समावेशी शासन व्यवस्थालाई कमजोर पार्ने/उल्ट्याउने कोसिस भइरहेको छ, त्यसतर्फ सचेत र सजग हुन सबैसँग अनुरोध गर्दछु ।’