२०८३ वैशाख ४ , शुक्रबार

चर्काे अन्तर्बिराेधले “ब्याकफुट” मा कांग्रेस, सवै पालिका जित्ने एमालेकाे दाउ



नेपाली कांग्रेस सुर्खेत भित्रकाे चरम अन्तर्बिराेधले स्थानीय तहकाे निर्वाचनमा राम्रो नतिजा ल्याउन नसक्ने पक्का भएको छ। कर्णाली प्रदेशकै राजधानीकाे रुपमा रहेको वीरेन्द्रनगरमा मात्रै हाेईन, जिल्लाका सवै पालिकामा कांग्रेस कमजोर बन्दै गएकाे छ।
     कांग्रेस उपसभापति पूर्णबहादुर खड्काकाे गृह जिल्ला सुर्खेत मै  कांग्रेस कमजोर बन्नुमा वाह्य कारण नभई आन्तरिक कारण नै प्रमुख भएको जानकारहरु वताउँछन। केही महिना अघि भएको महाधिवेशनमा सवै शक्ति प्रयाेग गरेर आफ्नाे समूहलाई हराईएकाे भन्दै शेखर काेईराला समूह वदला लिने तयारीमा छ।
      उम्मेदवार चयनमा समेत देउवा समूहले शेखर समूहलाई भाग छुट्याएन। उम्मेदवार चयन गर्दा शेखर समूहलाई पुरै “वाईपास” गरिएको छ।  जिल्लाका कुनै पालिकामा शेखर समूहले आधिकारिक रुपमा आफ्ना उम्मेदवार खडा गरेको छैन।
    शेखर समूहको सुर्खेतका सवै पालिकामा राम्रो उपस्थिति रहेको छ। अन्य पालिकाकाे तुलनामा शेखर समूहको अलिक न्यून उपस्थिति रहेको गुर्भाकाेटमा समेत नेकपा एमालेले पछिल्ला दिनहरूमा आश्चर्यजनकरुपमा प्रगति गरिरहेकाे छ।
   कांग्रेस वृतमा कम विवादित नेता भनिने वर्तमान मेयर हस्त पुन फेरि दाेहाेरिएसंगै उपसभापति खड्का टिमभित्रै विवाद देखिएकाे छ। निर्वाचनमा आकांक्षीहरु धेरै भएको र यसको व्यवस्थापन गर्न नसक्दा भित्र भित्रै असन्तुष्टि चुलिएको स्थानीय एक कांग्रेसी नेता बताउँछन्। एमालेकाे कम प्रभाव रहेको र उपसभापति खड्काकाे आधार क्षेत्र रहेको गुर्भाकाेट कांग्रेस भित्रकाे एउटै टिमकाे अन्तर्द्वन्दले पार्टी कमजोर बन्दै गईरहेकाे उनलेे वताए।
        एमालेले गुर्भाकाेटका धारापानी, गुमी, दहचाैर र घुमखहरेमा राम्रो प्रगति गरेको नेकपा एमालेका नेता ठम्मर बिष्ट दाबी गर्दछन। “अन्य ठाउँहरुमा पनि संगठन तुलनात्मक रुपमा सुध्रेकाे छ। एमालेले गुर्भाकाेट जित्ने गरि तैयारी गरिसकेकाे छ,” विष्टले भने।
       नेपाली कांग्रेसकाे संगठन अलिक कमजोर रहेकाे सिम्ता गाउँ पालिका र लेकवेसी नगरपालिकामा अघिल्लो निर्वाचन एमालेले जितेको थियाे। यी दुई पालिकामा एमालेले पुनः जित हासिल गर्ने देखिएकाे छ। पश्चिमकाे चाैकुनेसमेत एमालेले जित्दा वीरेन्द्रनगरमा एमालेले उपमेयरसहित वहुमत वडा जितेको थियाे। अन्य पालिकाहरु पंचपुरी, वराह, भेरीगंगा, चिंगाड र गुर्भाकाेट कांग्रेसले जितेको थियाे। वीरेन्द्रनगरमा मेयर जितेकाे कांग्रेसले सुर्खेतको जिल्ला समन्वय समितिमा एकलौटी जित हासिल गरेकाे थियाे।
     तर महाधिवेशन पछि चर्काे गुटबन्दीमा फसेको नेपाली कांग्रेसले पहिलेकाे अवस्था कायम राख्न सक्ने अवस्थामा छैन। भेरीगंगामा कांग्रेसलाई वागी उम्मेदवारले सताएको छ। यहाँ अघिल्लो निर्वाचन नेपाली कांग्रेसले जितेको थियाे। कांग्रेस र नेकपा माओवादी केन्द्र बीच समिकरण भएपनि वागी उम्मेदवार र कांग्रेस भित्रकाे शेखर काेईराला टिमकाे असहयोगका कारण कांग्रेसका उम्मेदवार रामवहादुर शिंहकाे हार हुनसक्ने विश्लेषण गर्न थालिएको छ।
      वीरेन्द्रनगरसमेत देउवा समूहलाई शेखर टिमकाे खासै सहयोग छैन। पछिल्ला दुई दिन यता शेखर टिमका कार्यकर्ताहरु घरदैलाेमा देखिएता पनि भित्रैदेखि खटेकाे देखिदैन। “उनीहरू फाेटाे खिचाउन सडकमा देखिन्छन्। फाेटाे खिचेपछि आफ्नाे वाटाे लागिहाल्छन,” देउवा निकट एक कार्यकर्ता दुखेसो पाेख्छन। उनी अघि भन्छन्, “प्रमुख प्रतिद्वन्दी पार्टी एमाले आफ्ना प्रमुख नेता यमलाल कँडेललाई अघि लगाएर घरदैलो गरिरहेकाे छ। तर हामी टुहुराे जस्तै बनेर प्रचारमा निस्केका छाै। हाम्रा दुवै नेता काठमाडौंमा बसिरहेका छन।”
  चिंगाडमा पनि कांग्रेसको अवस्था राम्रो देखिदैन। गठवन्धन भएको भनिएपनि कांग्रेसले हेपेकाे भन्दै माओवादीले कांग्रेसलाई भाेट नहाल्ने घाेषणा गरिसकेको छ। यहाँ कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिएको छ। माओवादीकाे दुवै पदमा उम्मेदवारी छैन। वडामा समेत आफुहरुलाई भाग नदिएको भन्दै माओवादी रुष्ट छ। निर्णायक भूमिकामा रहेको माओवादीले जता मतदान गर्छ उतै ( कांग्रेस र एमाले ) विजय हुने निश्चित छ।
   वराह गाउँ पालिकामासमेत गठवन्धन टुटेसंगै कांग्रेस दवावमा छ। कांग्रेस भित्रका सिनियर नेताले टिकट नपाएको र शेखर टिमले पनि खासै सहयाेग नगरेकोले कांग्रेसले चुनावी माहाैल नै खडा गर्न सकेको छैन। तरङ्गा, हरिहरपुर लगायतका क्षेत्रमा एमालेले २०७४ भन्दापनि राम्रो माहाैल खडा गरेको र कुनाथरीवाट अध्यक्षमा घनश्याम पाण्डे उम्मेदवार बनेकोले एमालेले पुरानो हैसियतमा सुधार गर्नसक्ने स्थानीयहरु वताउँछन।
   पंचपुरी कांग्रेसका लागि अनुकुल जस्तो देखिएपनि शेखर टिमले असहयोग गर्ने निश्चित जस्तै भएकोले यहाँ पनि यसै भन्न नसकिने स्वयं कांग्रेस कै नेताहरूले भन्न थालेका छन। साविककाे साल्काेट गाविसमा शेखर पक्षको वाहुल्यता रहेको छ।
  चाैकुनेमा गठवन्धन भएतापनि शेखर समूहको वाहुल्यता भएको कारण माओवादी पार्टीवाट गठवन्धनका उम्मेदवार वनेका खड्क वास्पानेलाई निर्वाचन जित्न त्यति सहज छैन। कांग्रेसको भाेट माओवादीमा भन्दा एमालेमा वढि जाने देखिएकोले समाजवादी पार्टीकाे मत निर्णायक हुने देखिन्छ।
    पार्टीको महाधिवेशनवाट दुई फ्याकमा बाडिएकाे कांग्रेसलाई सुर्खेत उद्योग वाणिज्य संघमा हालै भएको निर्वाचनले झन नुनचुक छर्ने काम गरेकाे छ। उम्मेदवारी छनाैटमा शेखर समूहलाई पाखा लगाई एकलौटी गरेकाे देउवा समूहलाई उस्तै परे सुर्खेतका सवै पालिका गुमाई क्लिनस्वीपकाे सामना गर्नुपर्ने अवस्था आउने राजनीतिक पण्डितहरुकाे ठम्याइ छ।
 
सुर्खेतमा अहिले एमालेकाे अवस्था कस्तो छ र कस्तो परिणामकाे अपेक्षा गर्नुभएको छ भन्ने पश्नमा एमाले सुर्खेतका सचिव कविन्द्रकुमार केसी भन्छन्,” २०७४ काे तुलनामा जितेका ठाउँमा मतान्तर अझै बढाउने गरि निर्वाचनमा हाेमिएका छाै। हाम्रो पार्टी भित्र विवाद छैन। राष्ट्रिय माहाैल पनि एमालेकै पक्षमा भएकोले सुर्खेतका ९ वटै पालिका जित्ने संभावना देखिएको छ।”   
     

प्रकाशित मिति : २०७९ वैशाख २२ गते बिहीबार