
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सह–महामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । पार्टी सभापति रवि लामिछाने हिरासतबाट मुक्त भई पुनः पार्टीमा सक्रिय भएको दिनमै श्रेष्ठले राजीनामा बुझाएकाे रास्वपा स्रोतले जानकारी दिएको छ ।
रास्वपा सभापति लामिछाने निकट स्रोतका अनुसार श्रेष्ठले आफ्नो राजीनामा लामिछानेलाई प्रत्यक्षरूपमा बुझाएकी थिइन् । ‘ उहाँले सभापतिलाई नै राजीनामा दिनुभएको हो,’ रास्वपाका एक नेताले भने, ‘पहिले नै राजीनामा दिने तयारीमा हुनुहुन्थ्यो तर रवि दाइ हिरासतमा रहेकाले नदिएको भनेर उहाँले हामीसँगको कुराकानीमा भन्नुभएको छ ।’
यता श्रेष्ठले भने हालसम्म सार्वजनिक रूपमा राजीनामा वा त्यसका कारणबारे धारणा व्यक्त गरेकी छैनन् । उनले पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो पक्ष राख्ने बताएकी छन् । रास्वपाले आज केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।
लामिछाने सहकारी प्रकरणमा मुछिएपछि रास्वपाभित्र तीव्र विवाद चुलिएको छ ।स्रोतले दिएको जानकारीअनुसार एक व्यक्ति एक पदको नीति पार्टीमा माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने धारणा उनको रहेको छ । आफू संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने उनको धारणा रहेको स्रोतकाे दाबी छ ।