२०८३ वैशाख ४ , शुक्रबार

वीरेन्द्रनगरमा कांग्रेसको भाेली हुने चुनावी सभा नेता थानीकाे बहिष्कार !



नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सोमबार (भाेली) वीरेन्द्रनगरमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रमलाई नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एव पूर्व मन्त्री हृदयराम थानीले बहिष्कार गर्ने भएका छन्।
स्थानीय पिपलचाैतारामा बिहान ८ वजेदेखि सुरु हुने चुनावी सभामा आफु सहभागी नहुने थानीले प्रष्ट पारे। खवरदृष्टिलाई प्रतिकृया दिदै नेता थानीले रानीघाटमा आफ्नाे कार्यक्रम पहिल्यैदेखि निश्चित गरिएकोले कांग्रेसको वीरेन्द्रनगर नगर कमिटीले आयाेजना गरेकाे कार्यक्रममा आफु उपस्थित हुन नसक्ने वताए।
केही दिन अघि नेपाली कांग्रेसकाे तर्फबाट मेयर पदमा उम्मेदवार बनेका उपेन्द्र खड्का थानीलाई मनाउन उनकै निवास पुगेका थिए। त्याे भेटमा पनि थानीले जिल्ला अधिवेशन र स्थानीय तहकाे निर्वाचनमा आफ्नाे समूहलाई विभेद र अन्याय गरेकोले स्थानीय तहकाे निर्वाचनमा आफ्नाे सकृय सहभागीता रहन नसक्ने जनाउ दिएका थिए।
वीरेन्द्रनगरमा हुने सभामा वक्ताका रुपमा निम्तो दिन शनिबार थानी निवास गएका उपसभापति खड्का निकटका जिल्ला नेताहरूलाई थानीले पार्टीमा आफ्नाेपनि रगत र पसिना वगेकाे भन्दै नहेप्न चेतावनी दिएका थिए।
पार्टी उपसभापति खड्कालाई लक्षित गर्दै नेता थानीले आफुले पंचायतबिरुद्ध संघर्ष गर्दा साढे दुई बर्ष कठाेर जेल जीवन विताएकाे उनीहरू सामु उल्लेख गरेका थिए। साे भेटघाटमा उपस्थित एक कार्यकर्ताले थानीले वाेलेकाे जस्ताकाे तस्तै उद्धरण गर्दै भने,” २० दिन जेल नवसेकाहरुले साढे दुई वर्ष जेल जीवन विताएकाहरुलाई अपमान नगरुन ! ”
पार्टीकाे केही महिना अघि सम्पन्न जिल्ला अधिवेशनमा आफ्नाे समूहलाई पार्टी सत्ताकाे दुरुपयोग गरि सुनियोजित रुपमा हराईएकाे भन्दै थानी समूह उपसभापति खड्कासंग आक्रोशीत छ। यसैकाे वदला स्वरुप थानी समूहले एक महिना अघि एमालेसंग मिलेर सुर्खेत उद्योग वाणिज्य संघकाे निर्वाचनमा गठवन्धनलाई हराएको थियाे।
स्थानीय तहकाे निर्वाचनमासमेत आफ्नाे समूहलाई पूर्णरूपमा बेवास्ता गरेको भन्दै उपसभापति खड्कासंग थानी समूह थप रुष्ट बनेको छ। याे निर्वाचनमा जिल्लाभर कहिपनि थानी समूहको आधिकारिक उम्मेदवार छैन। कांग्रेस भित्र सुर्खेत जिल्लामा आधा शक्ति आफ्नाे रहेको थानी समूहले दाबी गर्दै आएकाे छ।

प्रकाशित मिति : २०७९ वैशाख २५ गते आइतबार