काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका छन्। सुर्खेतमा भएको गठवन्धनलाई जिताउन आजै सुर्खेत आएका उपसभापति खड्काले नेपाली काँग्रेसको नेतृत्वमा भएको चुनावी गठबन्धनलाई आगामी संसदीय निर्वाचनसम्म लैजाने उद्घाेष गरे। उनलेे गठबन्धनका विषयमा फैलाईएका भ्रममा नपर्न मतदाताहरुलाई आग्रहसमेत गरे।
सुर्खेतको भेरीगंगा नगरपालिकामा आयोजना भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता खड्काले विकास गर्न र भईरहेका विकासका कामलाई निरन्तरता दिनका लागि गठबन्धनलाई जिताउन अनुरोध गरे। उनलेे जहाँ चुनावी तालमेल भएको छ त्याे ठाउँमा गठबन्धनका आधिकारिक उम्मेदवारलाई भोट हाल्न र नभएको ठाउँमा नेपाली काँग्रेसका उम्मेदवारहरुलाई भोट हाल्न आग्रह गरे।
उपसभापति खड्काले भेरीगंगा र गुर्भाकोट नगरपालिकाका भूमिहीनहरुलाई लालपुर्जा वितरण सुरु गरिसकेकाेले सबै भूमिहीनले लालपुर्जा दिईने दृढता व्यक्त गरे। उपसभापति खड्काले वर्तमान सरकारले ६५ बर्षबाट बृद्ध भत्ता पाउने व्यवस्था गर्न लागेकाे खुलासा समेत गरे।
नेपाली काँग्रेस तथा काँग्रेस नेतृत्वको गठबन्धन दलहरुले सुर्खेतमा आयोजना गरेका चुनावी सभालाई सम्बोधन गर्न उपसभापति खड्का आइतबार सुर्खेत आएका हुन्। उनले आइतबार नै लेकवेशी र भेरीगंगा नगरपालिकामा आयोजित चुनावी सभाहरुलाई सम्बोधन गरेका छन।