२०८३ वैशाख ८ , मंगलबार

शिक्षक आन्दोलनमा झडप : गृहमन्त्रीको राजीनामा माग

एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते


काठमाडौं । काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ । नयाँ बानेश्वरमा प्रहरीसँग झडपपछि एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको हो। बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए ।

प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहोरासमेत प्रयोग गरेको छ । प्रहरीसँगको झडपपछि शिक्षकहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् । ‘गृहमन्त्री राजीनामा दे’ भन्दै नाराबाजी गर्नुका साथै उनीहरूले सरकारविरुद्ध नाराबाजीमा उत्रिएका हुन् ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै गत चैत २० गतेदेखि शिक्षक तथा विद्यालय कर्मचारीहरू सडक आन्दोलन गर्दै आएका छन् । उनीहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गर्दै शैक्षिक कार्यक्रम ठप्प पार्दै आएका छन् । उनीहरूले ऐन जारी नहुँदासम्म कुनै पनि हालतमा सडक आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०८२ वैशाख १४ गते आइतबार