नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रदेश राजधानीका सम्वन्धमा विगतमा उठेका प्रश्नहरु जवाफ दिएका छन। सुर्खेतकाे वीरेन्द्रनगरमा साेमवार भएको चुनावी सभालाई सम्वाेधन गर्दै खड्काले आफ्नाे प्रयासमा सुर्खेत राजधानी रहने गरि साताैं प्रदेश वनाईएकाे दाबीसमेत गरे।
६ वटा प्रदेशमा आफु सहमत भएपनि त्यसको राजधानी सुर्खेत ताेक्न आफुले विभिन्न दलका नेताहरुसंग छलफल गरेकाे भन्दै आफ्नाे जिल्ला प्रतिकाे निष्ठामा शंका नगर्न आग्रह गरे। नेता खड्काले विगतमा मध्यपश्चिम विकास क्षेत्र हुँदा नेपालगंजमा रहेका क्षेत्रीय कार्यालयहरुलाई सुर्खेत ल्याउन आफुले प्रमुख भूमिका खेलेकाे समेत वताए।
नेता खड्काले गठबन्धनले गरेको निर्णयहरु पालना गर्न गठवन्धनमा आबद्ध दलका कार्यकर्ताहरुलाई आग्रह गरे। चुनावी सभामा सहभागी हुन सुर्खेत आएका खड्काले दलका आन्तरिक विधान एवम् नियमभित्र रही गठबन्धनका आधिकारिक उम्मेदवारलाई स्थानीय चुनावमा जिताउन आग्रह गरे ।
उनले संविधानको रक्षा र पिछडिएका, सीमान्तकृत वर्गका माग पूरा गर्न नेपाली काँग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन बनेको बताए । ‘कुनै उम्मेदवारलाई जिताउन र कुनैलाई हराउनका लागि भनेर गठबन्धन भएको होईन, संविधानको रक्षा र देशको हितको लागि बनेको हो,’ उपसभापति खड्काले भने, ‘एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनकारी कदमको प्रतिकार गर्नका लागि पनि गठबन्धन आवश्यक थियो र बन्यो ।’
निर्वाचनको नजिक पार्टी भित्रका असहमति र गुनासो भए आन्तरिक बसाईबाट टुंग्याउन आग्रह गर्दै उनले नेता र नेतृत्वबाट भएका कमजोरीलाई निर्वाचन पछि सच्याईने बताए।