
दमक नगरपालिकाका कानून अधिकृत माधव बस्नेत
विराटनगर । चितवनबाट झापातर्फ आउँदै गरेको मे १ च ३०४० नम्बरको स्कोर्पियो जीप अनियन्त्रित भई दुर्घटना हुँदा झापा दमक–३ का ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको छ । उनको उदयपुरको कटारी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस्नेत दमक नगरपालिकाका कानून अधिकृत हुन् ।
इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईंका अनुसार झापा दमक–१० का ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी गम्भीर घाइते छन् । उनी दमक नगरपालिका-१० का वडा वडाध्यक्ष हुन् । उनको कटारी अस्पतालमै उपचार भइरहेको छ।
अन्य घाइतेहरूमा दमक–१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक–२ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह–१ का ५४ वर्षीय भुवन दाहाल रहेका छन् । घाइतेहरूलाई थप उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । चालक दमक–९ का ३८ वर्षीय देवेन्द्र तामाङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।