२०८३ वैशाख ५ , शनिबार

डिएसपी सूर्य थापाले कार्यकर्ता कुटेको भन्दै एमाले सुर्खेतकाे बिराेध



नेकपा एमाले सुर्खेतले सिम्ताकाे जामुने वजारमा भएको घटनाको घाेर भर्त्सना गर्दै घाइतेहरुकाे उपचार र यसको उचित छानबिन गरि दोषीमाथि तत्काल कार्वाहीकाे माग गरेकाे छ। एमाले सुर्खेतका अध्यक्ष अमृतबहादुर विसीले आज जारी गरेको विज्ञप्तिमा डिएसपी सूर्य थापाको टोलीले हिजाे राति अवेर दुई वजे पूर्णध्वज शाहीकाे घरमै पसेर पूर्णध्वज शाही, दीपा शाही, होमकुमारी शाहीलाई कुटपिट गरेकाे र इन्द्र विक,सुशील विक र गगनसिंलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले प्रहरीको आडमा कुटपिट गरेकाे उल्लेख छ।  वादी टमट्टाकाे घरसमेत ताेडफाेड गरेकाे उल्लेख छ ।
आफूहरु प्रचारप्रसारमा नगएको र कसैसँग झै-झगडासमेत नगरेको अनुनय विनय गर्दा पनि डिएसपी थापा नेतृत्वको प्रहरीले बुट र लाठीले हानेकाे भन्दै शान्ति सुरक्षा कायम गर्नुपर्ने दायित्व भएको प्रहरीले उल्टै रक्ताम्मे हुने गरेर एमाले कार्यकर्ता र समर्थकलाई कुटेकाे आराेप लगाईएकाे छ।
विज्ञप्तिमा कुटपिट भएको थाहा पाएपछि पार्टीका सचिव एवम्  सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसी घटनास्थलमा पुगेकाे र उनलाईसमेत प्रहरीले दुर्ववहार गरेकाे थियाे उल्लेख छ।  गठवन्धनकाे पक्षमा राज्य शक्तिको चरम दुरुपयोग गर्दै  डिएसपी थापाले आतंक मच्चाएकाे र वैशाख ३० गते हुने निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेमा एमालेले शंका व्यक्त गरेको छ।
कुटाइबाट घाइते भएका इन्द्र विक र सुनिल विकलाई उपचारका लागि नेपालगञ्ज लगिएको र उनीहरुको अवस्था गम्भीर रहेको उल्लेख गरिएको छ।
यसैबीच, घटनावारे एमाले कर्णाली प्रदेश ईन्चार्ज एवम् एमाले स्थायी कमिटी सदस्य यमलाल कँडेलले जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलाई भेटेर सिम्ता घटनावारे ध्यानाकर्षण गराएका छन्। कँडेलले जिल्लामा सुरक्षा व्यवस्था निष्पक्ष र कडा बनाउन र दल विशेषकाे पक्षपाेषण नगर्न सुझावसमेत दिएका छन्। कँडेलसंगै प्रतिनिधि सभा क्षेत्र नं १ सुर्खेतका सांसद धुर्वकुमार शाही र एमाले सुर्खेतका उपाध्यक्ष कुलमणि देवकोटा पुगेका थिए।

प्रकाशित मिति : २०७९ वैशाख २८ गते बुधबार