२०८३ वैशाख ७ , सोमबार

समितिको बैठकमा सांसद कुसारीले सभापति साहमाथि माइक र नेमप्लेट प्रहार गरेपछि‍‍…



काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइक र नेमप्लेट प्रहार गरेकी छन्।  बैठकका क्रममा सांसद कुसारीले सभापति साहमाथि माइक र नेमप्लेट प्रहार गरेकी हुन्।

समिति सभापति साहले सांसद कुसारी समिति बैठकमा ढिला गरी आएको र अनुमति बेगर बोल्न थालेको विषय उठाएका थिए। त्यसपछि दुई जनाबीच भएको भनाभन एकाएक उग्र बन्दै जाँदा सांसद कुसारीले माइक र नेमप्लेट फालेर साहमाथि प्रहार गरेकी थिइन्। ‘म बैठक टुंग्याउने तयारीमा थिएँ। उहाँ ढिला आउनुभयो र अनुमतिबिना बोल्न थाल्नुभयो।,’ सभापति साहले भने, ‘त्यसपछि माइक फाल्नुभयो, सौभाग्यवश मलाई नलागेर अन्य सांसदतिर गयो।’

सांसद कुसारीले भने समिति सभापति साह सधैं आफै संयोजक भएर अनुगमनमा जाने गरेको र आफ्ना छोरालाई स्वकीय सचिव बनाएर घुम्न लैजाने गरेको तथा अनुगमनमा जाँदा खाली बिल स्वीकृत गराउने गरेको दाबी गरिन्। अघिल्लो वर्ष बारा, पर्सा लगायतका जिल्लामा अनुगमनमा गएको र अनुगमन सकिएपछि आफूसहित ३ जना सांसद वीरगन्ज गएकाले त्यति बेलादेखि नै सभापतिले आफूलाई भेदभावपूर्ण व्यवहार गरेको उनले बताइन्।

उनले सभापति साहसँग समितिका अधिकांश सदस्य असन्तुष्ट रहेको दाबी गरिन्। ‘मैले माइक र नेमप्लेटले हानेको हो। लागेन। बैठकमा कि ‘तँ छैन कि म छैन भन्ने पर्‍यो’, कुसारीले भनिन्, ‘बैठकमा भएको भनाभनपछि सभामुखले बोलाउनुभएको छ। अब कि म त्यो समितिमा बस्दिनँ। कि सभापति हटाउनुपर्छ।’ उनले महिला सांसदलाई सभापति साहले उपेक्षापूर्ण व्यवहार गर्ने गरेको बताइन्।

प्रकाशित मिति : २०८२ जेठ ७ गते बुधबार