२०८३ वैशाख ५ , शनिबार

वीरेन्द्रनगरमा छाडा गाईवस्तु नियन्त्रण गर्न गाैशाला निर्माण गरिदै, मेयर/उपमेयरले गरे निरिक्षण



 छाडा गाईवस्तुकाे बिगबिगी बढ्दै गएपछि वीरेन्द्रनगर नगर पालिका सुर्खेतले यसको समाधानका लागि नगर नगरपालिकाकाे वडा नं १० मा एक गाैशालाकाे निर्माण गर्ने भएको छ। प्रशान्ति बृद्धाश्रमले उपभाेग गरिरहेकाे वीरेन्द्रनगरकाे दक्षिणतर्फकाे भेरी नदि नजिककाे धार्मिक वनमा नगरपालिकाले आफ्नै स्वामित्वमा रहनेगरी गाैशाला निर्माण गर्नेछ।

चालू आव भित्रै प्रदेश सरकारकाे समेत सहयोगमा अनुमानित १ कराेड ५० लाखकाे लागतमा गाैशाला निर्माण र व्यवस्थापन गरिने वीरेन्द्रनगर नगर पालिकाका प्रमुख माेहनमाया ढकालले जानकारी दिईन। समय निकै घर्किसकेकाे र काम सम्पन्न पनि नगरिनहुने अवस्था आएकाेले द्रुत गतिमा काम सम्पन्न गर्न उनलेे मातहतका निकायहरुलाई निर्देशन दिईन।

चालू आवभित्र गाैशालामा कम्तीमा २ सय गाईवस्तु अट्ने गाेठ, गाईवस्तुले घाम ताप्ने र खेल्ने चाैरकाे घेरवार र गाईवस्तुका लागि पाईपमार्फत पानी ल्याईनेछ। गाैशाला संचालनका लागि एक व्यवस्थापन समिति वनाईने मेयर ढकालले जानकारी दिईन। गाैशाला संचालनका लागि यहि समितिले आवश्यक जनशक्ति र आहाराको व्यवस्था गर्ने उनको भनाइ छ।

गाैशालाकाे गुरु याेजना वनिनसकेकाे भएपनि भारतका केही गाैशालाहरुकाे अध्ययन अवलोकनवाट परियोजना निर्माण गरिएको याेजना शाखा प्रमुख प्रकाश पाैडेल वताउँछन्। उनलेे गाैशाला संचालन भएपछि यसको आयश्राेतसमेत बढ्ने दाबी गर्दछन। गाईहरु व्याएमा गाेठालाेलाई सुत्केरी भत्ता दिईने व्यवस्था गरिन लागेको पाैडेलले वताए।

“गाईवस्तुकाे मलमुत्र, दूध मुख्य आम्दानीका श्राेत हुनेछन् भने कालान्तरमा नश्ल सुधार पछि जन्मने वाच्छाहरुकाे बिक्री र नगरवासी कसैले निश्चित रकम तिरेर थाराे हुँदासम्म गाैशालाले पालिदिने व्यवस्था गाैशालाले गर्नेछ,” पाैडेलले गाैशालाकाे दिगाे संचालनका माेडेलहरुबारे उल्लेख गर्दै भने।

वीरेन्द्रनगर नगर पालिकाका ईन्जिनियर विशाल अधिकारीले गाैशाला निर्माणकाे डिजाइन स्टिमेट गरिसकेको र निर्माण समितिलाई कार्यादेश दिने प्रकृयामा रहेको वताए। उनलेे चालू आवमा १ कराेडकाे हाराहारीमा गाैशालाकाे संरचना निर्माण गर्ने लक्ष्य राखिएकाे जानकारी दिए। अन्य रकम गाईवस्तु संकलन, ट्याग लगाउने, आहारा व्यवस्थापनलगायतमा खर्च गर्ने उनको भनाइ छ।

छाडा गाईवस्तु वीरेन्द्रनगरका मुख्य मुख्य बजार क्षेत्रमा सयाैंकाे संख्यामा देखिन थालेपछि नगरपालिकाकाे चर्काे आलाेचना हुँदै आएकाे छ। नगरकाे धुलियाविट, पिपिरा, मंगलगढि, एरिचाेक लगायतका स्थानहरु अहिले छाडा गाईवस्तुकाे वासस्थान बनेको छ।

कर्णाली प्रदेश सरकारले छाडा गाईवस्तु नियन्त्रण गर्न विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई गाेठ निर्माणलगायतमा ठूलो रकम अनुदान बाडेपनि त्याे प्रभावकारी वन्न सकेको छैन। अनुदान रकम हुँदासम्म काम गर्ने र त्यसपछि गाईवस्तु छाेडिदिने वीरेन्द्रनगर ११ का शंकर सुवेदी वताउँछन्।

गाैशाला निर्माणस्थलमा वीरेन्द्रनगरका उपमेयर निलकण्ठ खनाल, प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी, वीरेन्द्रनगर वडा नं १० र ११ का वर्तमान र निवर्तमान वडा अध्यक्षहरु, प्रशान्ति वृदाश्रमका अध्यक्ष वालकृष्ण श्रेष्ठ, नगरपालिकाका याेजना शाखा प्रमुख प्रकाश पाैडेल र ईन्जिनियर विशाल अधिकारीसहितकाे टाेली आज बिहान पुगेको थियाे।

प्रकाशित मिति : २०७९ जेठ १३ गते शुक्रबार