केन्द्रीयस्तरमा सत्ता साझेदार दलहरू बीच भएको गठवन्धन भत्कन सुरु भएको छ। गत वैशाख ३० गते भएको स्थानीय तहकाे निर्वाचनमा सुर्खेतको चौकुने गाउँपालिकामा गठवन्धन बनाएरै निर्वाचन लडेका माओवादी र नेपाली कांग्रेस कार्यपालिका चुनावसम्म आईपुग्दा अलग भएका छन्।
चाैकुनेमा आगामी जेठ १८ गते हुने गाउँ कार्यपालिकाको चुनावका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच शुक्रबार चुनावी गठबन्धन भएको छ।
कार्यपालिकाको चुनावका लागि दुई खुल्ला सदस्य र चार निर्वाचित महिला सदस्यहरु गरि ६ पदका लागि हुने निर्वाचनमा गठबन्धन दल नेपाली काङ्ग्रेस र माओवादी केन्द्र बीच भागबन्डा नमिल्दा एमालेसंग चुनावी तालमेल गरेको माओवादी केन्द्रले जनाएको छ ।
चौकुनेमा उपाध्यक्ष सहित चार वटा वडा जितेको नेपाली काङ्ग्रेसले चार कार्यपालिका सदस्य माग गरेको थियाे। तर, माओवादी केन्द्रले तीन/तीन सदस्य पदमा भागबन्डा हुनुपर्ने अडान राख्यो।
नेकपा एमालेले नेकपा माओवादी केन्द्रलाई चार सदस्य दिन तैयार भएको खबर पठाएपछि कांग्रेससंगकाे वातावरण बिग्रियाे। लगत्तै दुई पार्टीका नेताहरू नेकपा एमाले चौकुनेका अध्यक्ष हरिप्रसाद अधिकारी र माओवादी केन्द्रका अध्यक्ष गंगाराम बिक बीच लिखित संझाैता भएको हाे।
नेकपा एमाले र माओवादी केन्द्रको सहमति अनुसार खुल्ला सदस्यमा शंकर कामी(नेकपा एमाले) र उजिरे ढाेली (नेकपा माओवादी) ले उम्मेदवारी दिएका छन ।
महिला सदस्यमा एमालेले कमला बिकलाई उम्मेदवार बनाएकाे छ भने माओवादी केन्द्रवाट अम्बि बिक, पदमा बिक र हजुरा बिष्ट उम्मेदवार बनेका छन् ।
नेपाली काङ्ग्रेसले खुल्ला सदस्यमा दिपक बिक, अम्मरे कामी र महिला सदस्यमा राधिका बिक,अमृता बोहरा, पंचकली बुढा र उज्जा देवी विकलाई उम्मेदवार बनाएको छ। निर्वाचन अधिकृतको कार्यालय चौकुनेले जनाएको छ।
चाैकुनेकाे अध्यक्षमा नेकपा माओवादी, उपाध्यक्षमा नेपाली कांग्रेस र १० वटा वडा मध्ये ४/ ४ वटा वडामा नेकपा एमाले र नेपाली काङ्ग्रेस र दुईवटा वडा नेकपा माओवादी केन्द्रले जितेको छ ।
कार्यपालिका सदस्य पदका लागि आगामी जेठ १८ गते बिहान १० बजेदेखि २ बजेसम्म निर्वाचन हुने निर्वाचन अधिकृतको कार्यालय चाैकुनेले जानकारी दिएको छ।
प्रकाशित मिति : २०७९ जेठ १४ गते शनिबार