२०४९ साल अघि सुर्खेतका दुई कांग्रेस नेता पूर्णबहादुर खड्का र हृदयराम थानी गुठगतरुपमा एउटै खेमामा रहेका थिए । दुबैको आदर्श ब्यक्ति थिए, कृष्णप्रसाद भट्टराई । कांग्रेसका तत्कालिन पार्टी सभापति कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा यति लोकप्रिय थिए कि यसको छनक पाएका कांग्रेस सर्वोच्व नेता एवं जन आन्दोलनका कमाण्डर गणेशमान सिंहले आफुले प्रधानमन्त्री पद नलिई कृष्णप्रसादलाई प्रधानमन्त्री बनाउन बाध्य भएका थिए ।
भट्टराईको लोकप्रियतालाई ‘क्रस’ गर्ने हिम्मत र शाहस नहुँदा राजाले प्रस्ताव गरेको प्रधानमन्त्री पदसमेत अस्वीकार गरेको सिंहलाई बहाना बनाउनु परेको थियो ।
केन्द्रमा सन्त नेता भट्टराईको दबदबा रहेकै बखत सुर्खेत जिल्लामा केन्द्रमा चिनिने अनुहारका रुपमा पूर्णबहादुर खड्का र हृदयराम थानी थिए । खासगरी विद्यार्थी राजनीति परिचालनमा थानीको दबदबा रहेको थियो भने खड्का पार्टीको प्राविधिक कामहरुकाे संयोजन गर्ने नेताको रुपमा चिनिने गरेका थिए । चर्काे भाषण गरेर बिराेधीहरुलाई ललकार्ने स्वभाव थानीकाे थियाे भने खड्का “टेबुलटक” मा पाेख्त मानिन्थे।
उपत्यकाका किर्तिपुर, त्रिचन्द्र, ल क्याम्पस, शंकरदेव क्याम्पस, आरआर, अस्कल, पाटन र पद्मकन्या क्याम्पस लगायतका विद्यार्थी नेताहरु स्ववियु चुनावमा टिकट लिन र निर्वाचन जित्न थानीको आशिर्वाद लिन उनको डेरा रहेको पुतली सडक पुग्ने गर्दथे ।
भट्टराईका प्रिय पात्र दुबैको राजनीति २०४६ साल अघिनै केन्द्रसम्मै जमिसकेको थियो । उमेरले र संसदिय मोर्चा समालेको हिसावले खड्का थानी भन्दा अघि थिए भने विद्यार्थी ‘मुभमेण्ट’ हाक्ने काैशलताकाे हिसावले थानी अघि थिए ।
२०४७ को आम निर्वाचनमा सुर्खेत जिल्ला २ वटा निर्वाचन क्षेत्रमा बाँडियो । पश्चिम सुर्खेत क्षेत्र नम्बर २ अनि पुर्वी क्षेत्र १ नम्बरमा विभाजित भयाे। तुलनात्मक रुपमा पश्चिम क्षेत्र भन्दा पुर्वी क्षेत्र काँग्रेसकालागि कठिन थियो ।
पूर्वी निर्वाचन क्षेत्रबाट पूर्णबहादुर खड्काको टिकट सुनिश्चित बनिसक्दा पश्चिममा थानी र शुशिल कोइरालाका प्रिय पात्र शिवराज जोशी विच कस्ले टिकट पाउने भन्नेमा अन्यौलता कायम थियो । तत्कालिन महामन्त्री गिरिजाप्रसाद कोइरालाको प्रभावले काेईराला खेमाका जोशीले संसदकाे टिकट पाई छाडे ।
कम्युनिष्टहरु ‘ओभर कन्फिडेन्स’ भएको पूर्वी क्षेत्रमा ठूलो संख्यामा कम्युनिस्टहरुकाे मत वदर हुँदा खड्का विजयी बने। कांग्रेसको बलियो संगठन भएको पश्चिम क्षेत्रवाट पनि स्वभाविकरुपमा कांग्रेसले बाजी मा¥यो । टिकट नपाएपछि थानी बेरोजगार जस्तै बने ।
लगत्तै २०४९ सालमा स्थानीय निकायको निर्वाचनको घोषणा भयो । थानीको मुड जिल्ला विकास समितिको सभापति बन्ने देखियो । तदअनुरुप उनले आफ्नो गृह वडा वीरेन्द्रनगर १ बाट वडा अध्यक्षमा उम्मेद्धवारी दर्ता गरे । तत्कालिन समयमा कम्युनिष्टहरुको गढ भनेर चिनिने वीरेन्द्रनगर १ मा जिल्ला विकास समितिको सभापति वन्ने नारा लगाउदै थानी वडा अध्यक्ष जित्न सफल भए।
थानी आफुले वडा अध्यक्षमा विजयी बन्दा वीरेन्द्रनगरका मेयर पदका उम्मेदवार कालिप्रसाद शाक्य निर्वाचनमा पराजित भए । थानीका वडावासी प्रेमदेव गिरीले मेयरमा टिकट नपाएपछि उनलाई विद्रोही बनाएको र शाक्यलाई निर्वाचनमा अन्तरघात गरि हराएको आरोप उनलाई लाग्यो । आफुलाई मात्रै मत मागेको मेयर र उपमेयरलाई मत नमागेको भन्ने आरोपको जवाफ दिन थानीलाई हम्मे–हम्मे प¥यो । तत्कालीन समयमा लगभग ७५ प्रतिशत कम्युनिष्ट मतदाता भएको वडामा कसरी जित्ने भन्ने चिन्ताले थानी निकटहरुले ब्यक्तिगत मत मागेका थिए।
वडा अध्यक्षमा निर्वाचित भएपछि थानी जिल्ला विकास समितिको सभापति बन्छन भन्ने सवैकाे अनुमान थियाे। तर, खड्काको इसारामा थानीलाई “बाईगट” गरि गोविन्दबहादुर मल्ललाई जिल्ला विकास समितिको सभापति बनाइयाे। वडा जिते सभापति बन्न कसैले रोक्न सक्दैन भन्ने अभिष्ट पालेका थानी अप्रत्यासित रुपमा सभापति नबनाईएपछि खड्का विरुद्ध मोर्चाबन्दी गर्नेगरि अघि वढे। जिल्लाको राजनीतिमा खड्कालाई टिक्नै नदिने गरि गुटबन्दी सुरु गरे।
२०५१ सालको मध्यावधि निर्वाचनसम्म दुबैको राजनीतिको केन्द्रिय लाईन एउटै थियो । संयोगबस सुर्खेत तीन वटा निर्वाचन क्षेत्रमा बाँडियो । क्षेत्र नम्बर २ थानीको भागमा प¥यो । पुर्व पश्चिम पुरानै नेता खड्का र जोशीले टिकट प्राप्त गरे । निर्वाचनमा जोशी र खड्काले विजय प्राप्त गरे भने थानी पराजित भए । खासगरी इत्रामे ‘सेन्टीमेन्ट’ भड्किदा टेकदत्त रेग्मी हात्ती चुनाव चिन्ह लिई थानीको विरुद्धमा वागी बने । यसलाई थानी खेमाले पूर्ण खड्काको ईशारामा गरिएको याेजनाबद्ध अन्तरघात बुझ्यो ।
जिल्लामा खड्काको पकड बलियो बन्दै गएको र केन्द्रमा समेत सफलता प्राप्त गर्दै गएका खड्कालाई नै प्राथमिकतामा राख्ने गरेकोले थानीले भट्टराई खेमा त्याग गरे । त्यतिखेरसम्म गिरिजाप्रसाद कोइरालाले कांग्रेसको राजनीतिमा पूर्ण पकड जमाइसकेका थिए । कोइराला क्याम्पमा प्रवेश गर्दा सुरक्षित भइने र खड्कालाई ‘वार’ गर्न पनि सकिने ठम्याई थानीको रहेको देखिन्छ ।
यसपछि सुरु भयो यी दुई नेता बीचको वास्तविक लडाई !लडाइँ यति तलसम्म पुग्यो कि सुर्खेतमा हुने कुनैपनि कार्यक्रमहरुमा यी दुई एउटै मञ्चमा विरलै देखिए। आम निर्वाचन जस्तो अप्ठ्यारो अवस्थामा पनि उनीहरूले एउटै मञ्च ‘शेयर’ गर्न आवश्यक्ता ठानेनन् । उनीहरूले फरकफरक मञ्चबाट आ–आफ्ना धारणा राख्दै गए ।
पछिल्ला दिनहरुमा नेता मात्रैै विभाजित बनेनन्, सोही हिसावले तलैबाट कार्यकर्ताहरुको समेत कित्ताकाट भयाे । कांग्रेस यस्ताे स्थितिमा पुग्यो कि कांग्रेसमात्रै भनेर परिचय पुरा नहुने भएकोले थानी कांग्रेस या पूर्ण कांग्रेस भनेर पूरक प्रश्नहरु सोधिने गम्भीर अवस्थाको सिर्जना भयो ।
जिल्ला पार्टी, नेविसंघ, महिला संघ, तरुणदल, ट्रेड युनियन, शिक्षकसंघ, कर्मचारी संघ, लगायतका भगिनी संस्थाहरु उनीहरू बीच कब्जा गर्ने प्रतिस्पर्धा नै चल्यो । भोटरदेखि सक्रिय सदस्यसम्म सबैको कित्ताकाट भयो ।
आन्तरिक राजनीतिमा मात्रै होइन बाह्य प्रतिस्पर्धामा समेत एकले अर्को गुटलाई सफाया गर्ने रणनीति बन्ने गर्याे । यसैको कारण झुप्रा खानेपानी, जिल्ला सहकारी संघ लगायतका संघसंस्थामा कांग्रेस भित्रकाे गुटबन्दी प्रकट भयाे।
थानी पक्षले इत्रामे (खड्का पक्ष) हरुले हरेक निर्वाचनमा घात गर्ने गरेको आरोप लगाउन थाले भने खड्का पक्षले थानीबाट आफ्ना कार्यकर्ताहरुलाई उपत्यकाभित्र दबाउदै लगिएको र कुनैपनि अवसर नदिई छोइछिटो गर्ने गरेको आरोप लाग्न थाल्यो ।
२०७४ को निर्वाचनसम्म आइपुग्दा उपत्यकामा कमलराज रेग्मीलाई हराउन खड्का खेमाका कार्यकर्ताहरु यामलाल कँडेललाई भोट माग्दै हिडेको र प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र नम्बर १ मा खड्कालाई हराउन थानी पक्षले साटाखानी, कल्यान, दशरथपुर, लेखफर्सा, नेटा, अवलचिङ्ग, घुमखहरे, लगायतका ठाउँहरुमा अन्तरघात गरेको जस्ता संगीन आरोपहरु एकले अर्कोलाई लगाउन थाले ।
२०७४ को निर्वाचनमा बाम गठबन्धन पछि सुर्खेतमा कांग्रेस ‘क्लिन स्वीप’को अवस्थामा पुग्यो । यस विचमा पूर्णबहादुर खड्का कांग्रेसको महामन्त्री पदमा मनोनित भए । कांग्रेसको शक्तिशाली पदमा मनोनित भइसकेपछि पनि जिल्ला कांग्रेसले उनलाई औपचारिक रुपमा बधाइ दिन आवश्यक ठानेन । महामन्त्रीको रुपमा अन्य जिल्लाहरुले उनलाई स्वागत र सम्मान गरिरहँदा आफ्नो गृह जिल्लामा भने खड्काकाे सम्मानमा कुनै कार्यक्रम नै गरिएन । थानीका विश्वास पात्र रहेका पार्टी सभापति कमलराज रेग्मीले खड्काका लागि दरवाजा बन्द गरि राखे ।
जिल्लाको राजनीति छोइछिटोबाट अघि बढिरहँदा केन्द्रिय राजनीतिमा भने केहि परिवर्तन देखा पर्न थाले । कोइराला परिवारको एकता अनि आगामी महाधिवेशनमा कोइरालानै सभापति बन्ने गरि छलफल अघिबढेपछि देउवा र रामचन्द्र पौडेल बीचको दुरी कम हुदै गयो । देउवा पौडेलप्रति पावर शेयरिङ्गमा उदार बन्न थाले ।
भरखरै सम्पन्न कांग्रेसको १४ औ महाधिवेशन पछि खड्का कांग्रेसको केन्द्रीय उपसभापति वने भने थानी केन्द्रीय सदस्यमा पराजित। जिल्ला अधिवेशनमा खड्काले पदकाे दुरुपयोग गर्दै आफ्नाे टिमलाई हराएको आराेप लाग्याे। ७ सय भन्दा वढि कांग्रेसका कृयाशिल सदस्यहरु हटाएको, अखण्ड र विजय गच्छदारकाे पार्टीवाट समायोजन भई आएका भन्दै सयौं व्यक्तिहरुलाई कृयाशिल सदस्य दिएकाे थानी पक्षले आराेप लगाउने गरेको छ।
अधिवेशनकाे “खार” थानी पक्षले केही ठाउँमा निकालेको खड्का टिमकाे आराेप छ। थानीले वीरेन्द्रनगर, भेरीगंगा र चिंगाडमा ठूलो अन्तर्घात गरेको उनीहरूले आराेप लगाउने गरेका छन्। यहाँसम्मकी खड्का पक्षले आगामी मंसीरमा हुने भनिएकाे संघ र प्रदेशकाे निर्वाचनमा थानीलाई टिकट नदिने खुलमखुल्ला भन्दै हिड्न थालेका छन्। टिकट पाएपनि अन्तर्घात गरेर थानीलाई चुनाव हराईदिने उनीहरूकाे धम्की छ।