२०८३ वैशाख २६ , शनिबार

कर्णालीको पर्यटन विकासमा कोरोना भाईरस बाधक



सुर्खेत ११ असोज

कर्णालीको पर्यटन क्षेत्र कोरोना महामारीका कारण धरापमा परेको छ ।
देश संघीय संरचनामा गएपछि केही पर्यटन विकासमा फड्को मार्न लागेको कर्णालीे प्रदेश यतिबेला कोराना महामारीका धरापमा परेको हो । विगतमा यतिबेला रारा लगायतका क्षेत्रमा घुम्न आउनेको बाक्लो भिड हुन्थ्यो, तर अहिले खासै चहलपहल छैन् ।
रारा पर्यटन बर्ष र नेपाल सरकारद्धारा सञ्चालित नेपाल पर्यटन भ्रमण बर्षले कर्णालीको ग्रामीण पर्यटन क्षेत्रमा पनि आकर्षण बढ्न थालेको थियो ।
तर, पर्यटन भ्रमण बर्ष शुरु भएसँगै भित्रिएको कोरोनाका कारण कर्णालीको पर्यटन क्षेत्र एक कदम पछि परेको हो ।
कर्णालीको पर्यटन क्षेत्रबाट नै प्रदेशको भविष्य खोजिरहेको कर्णाली सरकारले चालु आर्थिक बर्षमा भने थलिएको पर्यटन व्यवसायलाइ उकास्ने खालका कार्यक्रम भने खासै ल्याएको छैन् ।
गत बर्ष एक चौथाइ बजेट पर्यटन क्षेत्रमा विनियोजन गरेको प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले चालु आवमा करिब ६ प्रतिशत बजेट रहेको बताएको छ ।
चालु आवमा पर्यटन क्षेत्रलाई चलायमान गर्न सक्ने अबस्था करिब–करिब टर्ने सम्भावना देखिएपछि बजेट आकार पनि घटाइएको सरकारले जनाएको छ ।
विगत बर्ष देखिनै सञ्चालनमा रहेका पर्यटन क्षेत्रका पुर्वाधारका काम भने निरन्तर चलिरहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाले थलिएको पर्यटन व्यवसायलाइ उकास्ने भनेर छुट्टै कार्यक्रम नभएको मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले बताए ।
गत आर्थिक बर्षमा मन्त्रालयले प्रतिफल आउने खालको काम गर्न सफल भएको उनको दाबी छ । गत आवमा मन्त्रालयले साढे ६ लाख भन्दा धेरै जनालाई पर्यटन क्षेत्रमा रोजगारी दिएको उनले दावी गरे ।

प्रकाशित मिति : २०७७ असोज ११ गते आइतबार