२०८३ वैशाख ४ , शुक्रबार

सुर्खेत कांग्रेसकाे विवाद सतहमा: खड्का आउँदा थानी लागे काठमाडौं

नारायण काेईराला भन्छन, गगनले फाेन गर्दा उपेन्द्रकाे उम्मेदवारी दर्ता भैसकेको थियाे


      नेपाली कांग्रेसको टिम शाे जारी छ। नेपाली कांग्रेस प्रदेश समितिले आईतवार सुर्खेतकाे वीरेन्द्रनगरमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि आयाेजना गरेको अभिमुखीकरण कार्यक्रमलाई शेखर काेईराला समूहले बहिस्कार गरेर कांग्रेसका लागि आगामी दिन सहज नहुने प्रष्ट संदेश दिएको छ। पार्टी उपसभापति पूर्णबहादुर खड्काकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई उक्त समूहले बहिष्कार गरेसंग नेपाली कांग्रेस भित्रकाे चर्काे असन्तुष्टि थप सतहमा आएकाे छ।
शेखर काेईराला टिमका नेता भनेर चिनिने नेपाली कांग्रेसका नेता हृदयराम थानी समूहले गत वैशाख महिनामा सम्पन्न निर्वाचनमा कांग्रेसकाे संस्थापन समूहसंग सम्मानजनक हिस्सा मागेकाे थियाे। तर, नेपाली कांग्रेसकाे गत वर्ष सम्पन्न महाधिवेशनमा जिल्लामा काेईराला समूहलाई झण्डै “क्लिनस्वीप” गरेको नेता खड्का समूहले उनीहरूलाई टिकट दिने कुरा परै जाओस सामान्य शिष्टाचारसमेत गरेन।
तर, अन्तिम समयमा बीरेन्द्रनगरको मेयरको टिकट नारायण कोइरालालाई दिन खाेजेकाे प्रचार खड्का समूहले गर्याे। कांग्रेस निकटका नेताहरूले कांग्रेस वीरेन्द्रनगरका सभापति उपेन्द्र खड्काकाे टिकट पार्टीको कर्णाली प्रदेश महाधिवेशनकाे समयमै फिक्स भैसकेको वताउँछन। महाधिवेशनमा उपेन्द्र खड्काले टिमको जितमा गरेको खटनपटनबाट मुख्यमन्त्री जीवनवहादुर शाही प्रभावित भएका थिए।
यसवारेमा नेपाली कांग्रेस सुर्खेतका नेता नारायण काेईरालाले अाईतवार एउटा लामाे स्टाटस लेख्दै अाफुलाई टिकट दिन नखाेजिएकाे तर दिएको भनेर “प्राेपाेगाण्डा” फैलाएको वताए। उनलेे स्टाटसमा “दिएको उसले उमेदवार बन्न मानेन भन्दै मेरो बारेमा गलत धारणा  निर्माण गर्ने षडयन्त्र गरिनुले दुखी बनाएको छ। म पार्टीको हरेक निर्णय र आदेशलाई शिरोधार्य गर्दै आएको व्यक्ति हॅु।”
नेता काेईरालाले काँग्रेसको तर्फबाट मेयर, उपमेयरको उम्मेदवारहरू उम्मेदवारी दर्ताको दिन दिउँसो ४ बजेर २६ मिनेटमा निर्बाचन कार्यालयमा दर्ताका लागि पुगिसकेको दाबी गरे। उनलेे यसको प्रमाणस्वरुप ४ बजेर ३६ मिनेटमा खड्काले उम्मेदवारी दर्ताको रसिद काटेर मेयर पदको उम्मेदवारी दर्ता गरिसकेको वताएका छन्। उनलेे पार्टीका नगर सचिव मिलन श्रेष्ठले त्यसै समयमा निर्बाचन कार्यालय परिसरबाट गरेकाे फेसबुक लाईभलाई प्रमाणकाे रुपमा उल्लेख गरेका छन्।
काेईरालाले मेयर पदमा नेपाली कांग्रेसकाे तर्फबाट उम्मेदवारी दर्ता भईसकेको र त्यसको ९/१० मिनेट पछी पार्टी महामन्त्री गगन थापाकाे  कल आएको “मिस्डकल” देखेर “कल ब्याक” गरेकाे सबिस्तार बर्णन गरेका छन्। गगन थापाले पार्टी उपसभापति खड्काले फोन गर्न लगाएको भनेर आफुलाई भनेको काेईरालाकाे दाबी छ।
गगन थापाले एकदमै सौम्यताका साथ समय कटाएर आफुलाई फोन गर्न लगाईएको भन्दै अन्यथा नमान्न गगन थापाले आफुलाई आग्रह गरेकाे काेईरालाकाे दाबी छ। उपसभापति जस्तो नेताले जिल्लाको पार्टी कार्यकर्तालाई आफैले फोन नगरी महामन्त्रीलाई फोन गर्न अनुरोध गर्नुपर्ने हो र भन्दै काेईरालाले प्रश्न गरेका छन।

एउटै प्लेनमा खड्का आए, थानी गए

   बिहान बुद्धएअरको जहाजबाट सुर्खेत आएका उपसभापति खड्का भीआईपी कक्षमा छिर्दै गर्दा कांग्रेसका अर्का प्रभावशाली नेता पूर्वमन्त्री हृदयराम थानी भने त्यही विमानबाट काठमाडौंतिर लागे।
थानीलाई फकाउन र कार्यक्रममा सहभागी हुन अघिल्लो दिन साँझ कांग्रेस जिल्ला सभापति खड्क पाेखरेल थानीकाे वीरेन्द्रनगर ६ मा रहेको निवासमा पुगेको थियाे।
तर, थानीले आफु काठमाडौंमा आमाकाे उपचार गर्न जान लागेको र पहिल्यै खवर भएको भए राेकिन सक्ने जिल्ला सभापतिसंगकाे भेटमा वताएकाे थानी निकट एक नेताले वताए। थानी आमा, श्रीमती सहित काठमाडौ उडेका छन्।
जनप्रतिनिधिका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई थानी वाहेक शेखर समूहका सवै नेता कार्यकर्ताहरुले वहिस्कार गरेपनि केही महिना अघि भएको सुर्खेत उद्योग वाणिज्य संघकाे निर्वाचनमा शेखर समूहबाटै निर्वाचन लडेर विजयी भएका सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल र महासचिव भद्र भण्डारी भने सहभागी थिए।

प्रकाशित मिति : २०७९ असार १३ गते सोमबार