नेपाली कांग्रेस सुर्खेतकाे आईतवारदेखि वीरेन्द्रनगरमा जारी दुई दिने वधाई, शुभकामना तथा अभिमुखिकरण कार्यक्रम साेमवार अबेर सम्पन्न भएको छ। कांग्रेसका केन्द्रीय उपसभापति आफै उपस्थित भएकाे र पार्टी भित्र घात र अन्तर्घातकाे विषय जाेडताेडले उठिरहेको वेला भएको याे कार्यक्रमलाई विशेष रुचिका साथ हेरिएकाे थियाे।
शेखर काेईराला समूहकाे बहिष्कारका बीच सुरु भएको कार्यक्रममा पार्टी उपसभापति पूर्णवहादुर खड्काले निकै सन्तुलित हिसाबले भनाइ राखेका थिए। उनको भाषण असन्तुष्ट पक्षलाई थप चिढ्याउने खालकाे थिएन।
आईतवारकाे सम्वाेधनमा खड्काले असन्तुष्ट पक्षलाई पार्टी काममा लाग्न पटकपटक आग्रह गरेका थिए। खड्काले आफुवाट कुनै कमजोरी भएको भए कुनैपनि अप्ठ्यारो नमानी औल्याईदिन कार्यकर्ता सामु आग्रह गरे।
उपसभापति खड्काले राजनीतिबाट आफुले धेरै थाेक पाईसकेकाे भन्दै थप जिम्मेवारी लिन लाेभ नभएको वताएका थिए। उनलेे पार्टी भित्र यहीँ अवस्था कायम रहे आउँदाे प्रदेश र संघकाे निर्वाचनमा उम्मेदवार नबन्ने संकेत गरेको भेलामा सहभागी एक कार्यकर्ताले वताए।
केही दिन यता स्थानीय तहकाे निर्वाचनमा भएको पराजयलाई आधार वनाउँदै थानी निकटका नेताहरुले अन्तर्घात गरेको आराेप लगाउदै कठाेर कदम चाल्न नेतृत्वलाई कार्यकर्ताहरुले दवाव दिनसक्ने बजार हल्लालाई असत्य सावित गर्दै कार्यकर्ताहरुले मिलेर जान सुझाव दिएका थिए।
गत स्थानीय तहकाे निर्वाचनमा देशभरकै चुनावी कमाण्ड सम्हालेका, सरकार र दलीय संयन्त्रमा विशेष प्रभाव राख्ने खड्का आफ्नै जिल्लामा पार्टी भित्र देखिएकाे बेमेलबाट भने चिन्तित देखिएकाे उनको भनाइ थियाे।
आईतवार खुल्लासत्र जस्तै भएको र साेमवार भने कार्यकर्ता र जनप्रतिनिधिहरुलाई मात्रै सहभागी गराईएकाे नेपाली कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले जानकारी दिए। उनलेे जिल्ला कार्यसमिति सदस्यहरु, महाधिवेशन र महासमितिका प्रतिनिधिहरु, पूर्व पदाधिकारी, क्षेत्रीय, प्रदेश, पालिकाका पदाधिकारीहरु र वडाका सभापतिहरु लगायतका ७ सय ७२ जना सहभागी भएको जानकारी दिए।
सचिब सुवेदीले गत निर्वाचनकाे समिक्षा र नेपाली कांग्रेसका वाटाहरु, संगठन सुदृढीकरणका चूनाैतीवारे व्यापक वहस र छलफल वताए।
सुवेदीले साेमवार दिनभर ४ वटा “सेसन” भएको र ९ वटा पालिकालाई मध्येनजर गरि ९ वटा समूह र भातृसंघ संस्था र शुभेच्छुक संघ/संस्थाकाे तर्फबाट २ वटा गरि ११ वटा समूहमा बिभाजन गरि छलफल चलाईएकाे वताए।
छलफलमा गत स्थानीय तहकाे निर्वाचनमा केही नेताहरुका कारण पार्टीले हार व्यहोर्नुपरेको आराेप लगाउदै अन्तर्घात गर्नेहरुलाई कार्वाही गर्नुपर्ने एकथरी र अर्काेथरीका कार्यकर्ताहरुले संघ र प्रदेशकाे चुनाव नजिकिँदै गएकाले पार्टी भित्रकाे एकता मजवुत वनाउनु पर्ने आवाज उठेको सचिव सुवेदीले जानकारी दिए।
फरक विचार समूहलाई समेत समावेश गरेर अघि बढ्नुपर्ने निष्कर्ष भेलाले निकालेको उनलेे वताए। गत स्थानीय तहकाे निर्वाचन पार्टीकाे कमजोर संगठनका कारण हारेकाे नभई व्यवस्थापनकाे कमजोरीका कारण हारिएकाे भेलाकाे ठम्याइ छ।
सहभागीहरुलाई कांग्रेस उपसभापति खड्का, कर्णाली प्रदेश सभापति ललितजंग शाही, उप प्राध्यापक महेन्द्रकुमार मल्ल, अधिवक्ता विवस बस्नेत लगायतले प्रशिक्षण दिएका थिए।