२०८३ वैशाख ४ , शुक्रबार

बैंक किस्ता र व्याज नतिर्ने सुर्खेतका व्यवसायीको चेतावनी



बैंकको व्याज दरमा भएको बढोत्तरीले सुर्खेतका व्यवसायी पलायन हुँदै गएको एक कार्यक्रममा औंल्याईएको छ। वैकहरुले कर्जामा दिएको पुरानो व्याजदर कायम नहुँदासम्म र कर्जाको व्याज तिर्ने अवधि आगामी असोज मसान्तसम्म नबढाउँदासम्म बैंकहरुलाई व्याज नतिर्ने आन्दोलन गर्नुपर्ने उनीहरूको सुझाव छ।

सुर्खेत उद्योग बाणिज्य संघको आयोजनामा आईतवार वीरेन्द्रनगरमा भएको एक अन्तरकृया कार्यक्रममा दुई बर्षसम्म चलेको कोरोना र वैक व्याजदर परिवर्तनले ठूलाठूला व्यवसायिक घरानाहरु पनि समस्यामा परेकोले तत्काल बैंकको व्याजदर घटाउन उनीहरूले माग गरेका छन।

व्यवसाय चौपट भएको र १ वर्षमा ३ पटक व्याजदर परिवर्तन हुँदा व्यवसायीहरुले गरेको परियोजना अनुमान फेल खाएको सहभागीहरुले वताए।

व्यवसायीहरुले झण्डै एक वर्षसम्म बैंकमा लगानी नहुँदा पनि पैसा कहाँ गयो भन्ने खोजविन नभएको प्रती चिन्ता व्यक्त गरे। नेता, विचौलिया या अण्डरवर्ल्ड पैसा कहाँ गयो भन्नेमा सरकार नलागेको उनीहरूको भनाइ थियो।

व्यवसायीहरु टाट पल्टने तर वैकहरुले अघिल्लो आर्थिक वर्षमा भन्दा वढि नाफा गरिरहेको उनीहरूले औंल्याए। वैकहरुले यस्तो संकटको समयमा पनि कुस्त पैसा कमाएको भन्दै आलोचना गरिएको छ।

व्यवसायीहरु पलायन भई आत्महत्याको बाटोमा हिडिसक्दा पनि कुनै व्यवसायीहरु वचाउने कुनै योजना नल्याई नेपाल राष्ट्र वैक जिम्मेवारीवाट पछि हटेको उनीहरूको धारणा थियो। निक्षेपमा व्याजदर नवढ्दा खासै असर नगरेपनि कर्जामा वढेमा अर्थतन्त्र नै चौपट हुने उनीहरूको भनाइ छ।

अर्थमन्त्री र राष्ट्र वैकका गभर्नर बीचको टसलले बर्तमान अवस्था आएकोले यसको तत्काल समाधान गर्न उनीहरूले जोड दिए।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बैकहरुले व्यवसायीहरुलाई शोषण गरिरहेको आरोप लगाए। साँहु महाजनले पनि ऋण दिएका मानिसहरुलाई अप्ठ्यारो परेको वेला थप ऋण दिएर सहयोग गर्ने गरेको तर बैंकहरुले अप्ठ्यारो समयमा उल्टो व्यवसायीहरुलाई ऋण घटाउन ताकेता गरिरहेको उनले आरोप लगाए। व्यवसाय क्षेत्र अहिले लथालिङ्ग भएकोले बैंकहरुले सहयोग गर्नुपर्ने उनले माग गरे।

सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्माले व्यवसायीहरु निकै पीडामा रहदापनि केही सम्वोधन नभएकोले अब आन्दोलनको विकल्प नरहेको उनको धारणा थियो। पुरानो व्याजदर कायम नहुँदासम्म र ऋण ९ व्याज ० तिर्ने अवधि आगामी असोज मसान्तसम्म बढाउनु पर्ने उनको भनाइ थियो।

सुर्खेत उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष धनवहादुर रावतले व्यवसायीहरु ठूलो समस्यामा परेकाले राज्यले यसको समाधान गर्नुपर्नेमा जोड दिए।

नेपाल राष्ट्र बैंक कर्णाली प्रदेशका निमित्त प्रमुख विनय सिग्देलले अन्तर्राष्ट्रियस्तरमा तेल र सुनको मूल्यमा भएको बृद्धिले अप्ठ्यारो स्थिति सिर्जना भएको उनको भनाइ छ। व्यवसायीहरुको सवै कुरा सुनेपछि आफ्नो भनाइ राखेका प्रमुख सिग्देलले बैंकहरु व्याजदर परिवर्तन गर्न स्वतन्त्र भएको वताए। तरलताको अभावले व्याज बढेको उनको भनाइ थियो। नितान्त प्राविधिक कुराहरु मात्रै गरेका उनले व्यवसायीहरुका समस्यामा खासै सुनुवाइ गरेनन्।

आक्रोशित व्यवसायीहरुले प्रमुख सिग्देल वोल्दावोल्दै प्रतिवाद गरेका थिए। उनीहरूले राष्ट्र बैंक गैरजिम्मेवार बनेको आरोप लगाएका थिए। व्यवसायीहरु बाँचेपछि मात्रै बैंकहरु बाँच्ने उनीहरुको भनाइ थियो।

कम्प्युटर एशोसियशन कर्णाली प्रदेशका अध्यक्ष पूर्णप्रसाद अधिकारीले वजारमा चर्को मिटर व्याजले जरा गाडेको र वैकले यसको अनुगमन नगरी ठूला व्यवसायीहरुलाई मनपरि कर्जा दिएको उनको आरोप थियो। व्यापारीहरु अहिले व्याज तिर्न सक्ने अवस्था नभएको र किस्ता र व्याज केही समय बढाउन उनले आग्रह गरे।

कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष हर्षबिक्रम खड्काले समस्याको सहि उठान भएको र यसलाई निरन्तर छलफल गर्दै समाधान गर्नुपर्नेमा जोड दिए।

फेन्सी व्यवसायी रामप्रसाद पाण्डेले अहिले २५ प्रतिशत पसल बिक्रीमा भएको वताउँदै पहिला लोन दिन घर घरमा जाने बैंकहरु अहिले व्यवसायीहरुका समस्या सुन्नै छाडेको वताए।

व्यवसायी एव सामाजिक व्यक्तित्व श्याम कँडेलले १ वर्षसम्म व्याज वढ्दैन भनेर लोन लिएकोमा व्याज बढेको बढ्यै भएको वताए। व्यवसायी शिवराज अधिकारीले कर्जा रोकिदा व्यवसाय चौपट भएकोले कर्जा फुुकुवा गरिदिन आग्रह गरे।

सुर्खेत उद्योग वाणिज्य संघका निवर्तमान वाणिज्य उपाध्यक्ष दिपेन्द्र ढकालले संकटको समयमा बैंकहरुले नाफा कम लिए हुदैन भनी प्रश्न गरे। मध्य पश्चिम वाटर ईण्डस्ट्रिजका कृष्ण आचार्यले नाफा कम लिएर व्यवसाय वचाउन अनुरोध गरे।

कार्यक्रममा राष्ट्रिय उद्योग व्यापार संघका सूर्य थापा सुर्खेत उद्योग वाणिज्य संघका रामप्रसाद पाण्डे, अर्जुन शाही, गणेश वस्नेत, प्रेम रावत, खगेन्द्र केसी लगायतले आफ्ना धारणा राखेका थिए।

प्रकाशित मिति : २०७९ असार १९ गते आइतबार