नेपाली कांग्रेस सुर्खेतले गएको स्थानीय तहकाे निर्वाचनमा अन्तर्घात गरेको आराेप लगाउदै जिल्लाका करिब ५ सय जनाकाे हाराहारी संख्यालाई स्पष्टीकरण साेधेकाे छ। शेखर काेईराला समूहका ती कार्यकर्ताहरुलाई पार्टीको विधान बमोजिम स्पष्टीकरण साेधेर पार्टी निकाला गर्ने तैयारी गरिएको छ। सुर्खेत जिल्लामा थानी समूह र केन्द्रमा शेखर काेईराला समूह भनेर चिनिने कार्यकर्ताहरु कार्वाहीकाे सिफारिसमा परेका छन्।
असार २३ गतेकाे मिति राखेर स्पष्टीकरण पत्र पठाईएकाे छ। सुर्खेत कांग्रेसका पार्टी उपाध्यक्ष एवम् जिल्ला अनुशासन समितिका संयोजक टाेपवहादुर रावतकाे हस्ताक्षर भएको स्पष्टीकरणमा पार्टीको आधिकारिक उम्मेदवारहरुलाई हराउन भूमिका निर्वाह गरेको/निष्कृय वसेकाे भन्ने उम्मेदवार र साे वडा पालिका कार्यसमितिबाट कार्वाहीकाे निर्णय र सिफारिस भएकोले नेपाली कांग्रेसको विधान २०६७ (संशोधन सहित) काे धारा ३४ काे उपधारा ४(क), (ख) र (ग) बमोजिम पार्टीबाट कार्वाही गरिने उल्लेख छ।
स्पष्टीकरणमा आफुमाथि लागेको आराेप के कस्तो हाे वा हाेईन चित्तबुझ्दाे जवाफसहित पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन भनिएको छ। गत वैशाख ३० गते भएको स्थानीय तहकाे निर्वाचनमा टिकट नपाएको झाेकमा शेखर काेईराला समूहले पार्टीका आधिकारिक उम्मेदवारहरुलाई हराएको संस्थापन (देउवा) समूहको बुझाई छ।
स्पष्टीकरण माग गरिएका अधिकांश नेता कार्यकर्ताहरु वीरेन्द्रनगरका भएको कांग्रेस निकट श्राेतले वतायाे। भेरीगंगा नगरपालिकाबाट पनि ठूलो संख्यामा कार्वाही सिफारिस भएको छ। पंचपुरी नगरपालिकाका ७ जनाले कार्वाही सिफारिस गरेको पत्र पाईसकेकाे स्थानीय एक कांग्रेस कार्यकर्ताले नाम उल्लेख नगर्न शर्तमा जानकारी दिए।
चाैकुने, चिंगाडका कार्यकर्ताहरु पनि कार्वाही सिफारिसमा परेका छन्। जितेका ठाउँवाट भन्दा कांग्रेसले हारेका ठाउँका कार्यकर्ताहरु स्पष्टीकरणमा परेका छन्।
कार्वाही गर्ने नियतले स्पष्टीकरण साेधिएकाे प्रती उनीहरूले कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्। खवरदृष्टिकाे सम्पर्कमा आएका वीरेन्द्रनगरका शेखर समूहका एक कार्यकर्ताले फ्रान्सेली राज्यक्रान्ति हुनु अघि लुई चाैधाैंकाे पालामा जारी गरिएको “बिनाअपराधकाे गिरफ्तारी” जस्तै सुर्खेत कांग्रेसमा पनि आतंक मच्चाउन खाेजिएकाे प्रतिकृया दिए। उम्मेदवार गतिलाे नउठाउँदा हारिएकाे भन्दै पश्चाताप गर्नुपर्नेमा उल्टै कार्वाहीकाे धम्की दिनु हास्यास्पद भएको उनको भनाइ छ।
उनलेे केन्द्रीय उपसभापति पूर्णवहादुर खड्का आफै सहभागी भएको जिल्ला समिति बैठकले कार्वाहीकाे विषय अघि बढाएकाे आराेप लगाए। जिल्लाका ईमानदार र पुराना कार्यकर्ताहरुलाई काेतपर्वमा जस्तै गरि सिध्याउन खाेजिएकाे भन्दै उनलेे राेष प्रकट गरे।
“जिल्ला समितिमा मनाेनित गर्दा निकै कनिष्ठ र कांग्रेसमा कुनै याेगदान नै नभएकाहरुलाई नियुक्त गरिएको उनको भनाइ छ। सिनियर र दुख पाएका कार्यकर्ताहरु बाहिर छन। पार्टी सिष्टम र पद्धति नबुझेकाहरुले जिल्ला कमिटी भरिएकाे छ। याे पार्टी सिध्याउने खेल अन्तर्गत गरिएको निर्णय हाे,” उनले भने। आउने संसदीय र प्रदेशकाे निर्वाचनमा पार्टीलाई हराउने याेजना अन्तर्गत कार्वाहीकाे डण्डा चलाउन खाेजिएकाे उनलेे वताए।
यसवारेमा थप बुझ्न खाेज्दा नेपाली कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीको फाेन उठेन।
प्रकाशित मिति : २०७९ असार २८ गते मंगलबार