
काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले वर्तमान सत्ता समीकरण भत्काउने प्रयास भइरहेको दाबी गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण भत्काउने षडयन्त्रको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका उनको भनाइ छ ।
जनकपुरमा आइतबार आयोजित एक कार्यक्रममा उनले कांग्रेस-एमालेको सत्ता समीकरण भत्काउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रयास भइरहेको बताए । ‘राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा यो गठबन्धन तोड्ने प्रयास भइरहेको छ। जसको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरिरहनुभएको छ,’ उनले भने, ‘उहाँलाई यसमा सहयोग गर्ने धेरै छन् । स्वतन्त्र सांसद पनि छन् । राष्ट्रिय स्वतन्त्र पार्टी पनि हो ।’
वर्तमान सत्ता समीकरण बनेदेखि नै प्रचण्ड सरकार ढाल्ने प्रपञ्चमा लागेका उनको आरोप छ । मुलुकमा अहिले कांग्रेस-एमालेको गठबन्धनको विकल्प नरहेको महासेठले बताए। फरक प्रसंगमा उनले एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कुनै अन्तरविरोध नरहेको बताएका छन् ।
ओली र भण्डारीमा नाममा कार्यकर्ताबीच कित्ताकाट हुनु राम्रो नभएको उनको भनाइ छ । ‘दिनहुँ कित्ताकाटका कुरा आइरहेका छन् । त्यसमा कुनै पनि सत्यता छैन । हामीमा कुनै अन्तरविरोध छैन’, महासेठले आइतबार जनकपुर विमानस्थलमा भने, ‘यदि उहाँ (भण्डारी) सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रस्तावमा आउनुहुन्छ । स्वाभाविक छ उहाँ पहिला पार्टीको वरिष्ठ नेतृ हुनुहुन्थ्यो ।’