२०८३ वैशाख ५ , शनिबार

सुर्खेत कांग्रेसकाे विवाद भुसकाे आगाे झैं फैलियाे, थानीकाे क्षेत्रकालाई मात्रै साेधियाे स्पष्टीकरण

देउवा समूहले विधानमा हुँदै नभएको काम गरेको काेईराला समूहको आराेप


नेपाली काँग्रेस सुर्खेतले स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको भन्दै ६ सय भन्दा बढी संघीय निर्वाचन क्षेत्र नम्बर २ का कार्यकर्ताहरुलाई मात्रै विधान विपरित स्पष्टीकरण सोधेको छ ।

नेपाली काँग्रेसको विधानमा निर्वाचन सम्पन्न भइसकेपछि स्पाष्टीकरण सोध्न नपाईने व्यवस्था गरेपनि सुर्खेत काँग्रेसको अनुशासन समितिले व्यक्ति-व्यक्ति ताकेर लिखित स्पष्टीकरण सोधेको शेखर कोईराला समूहले आरोप लगाएको छ । यस बारेमा यसअघि नै खबरदृष्टिमा समाचार समेत प्रकाशित भइसकेको छ ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम पूर्व मन्त्री हृदयराम थानीको निर्वाचन क्षेत्र नम्बर दुईलाई केन्द्रीत गरेर स्पष्टीकरण सोधिएपछि संगठन झन दुई चिरामा परेको स्पष्ट भएको थानी निकट एक कार्यकर्ताले बताए ।

थानी उठ्ने गरेको वीरेन्द्रनगरका १४ वडा, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका कार्यकर्तालाई मात्रै कार्वाही गर्ने नियत देखिएको भन्दै उनले यसले राम्रो नगर्ने चेतावनी दिए ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसले पन्चपुरी र बराहतालमा विजय हात पारेको छ भने चौकुनेमा उपाध्यक्ष सहित विजेता बनेको छ । यो क्षेत्र पूर्व मन्त्री स्व. तप्तबहादुर विष्टदेखि शिवराज जोशीसम्मको हो । उक्त क्षेत्रबाट छानी-छानी थानी समूहका कार्यकर्तालाई स्पष्टीकरण सोधिनु आश्चर्यजनक रहेको कार्यकर्ताहरुको गुनासो छ ।

नेपाली काँग्रेसका प्रभावशाली नेता एवम केन्द्रीय उपसभापति पूणर्बहादुर खड्काको निर्वाचन क्षेत्र नम्बर एक हो । यहाँ वीरेन्द्रनगरका दुइ ओटा वडा, भेरीगंगा नपा, गुर्भाकोट, चिङ्गाड गापा, लेकबेशी नपा र सिम्ता गाउँपालिका गरि पाँच पालिका रहेका छन् । यसमध्ये काँग्रेसले गुर्भाकोट र लेकबेशीमा मात्रै जित्न सकेको छ ।
‘सबैभन्दा बढी अन्र्तघात त उपसभापति ज्यूकै क्षेत्रमा उनकै गुटका कार्यकर्ताले गरेका छन् । तर उनीहरुलाई स्पष्टीकरण सोधिएन,’ स्पष्टीकरण सोधिएका वीरेन्द्रनगरका एक कार्यकर्ता भन्छन्, ‘यो भनेको थानी समूहलाई तह लगाउने रणनीति हो । यस्तो रणनीतिले सुर्खेत काँग्रेसको कहिल्यै भलो गर्दैन ।’

निर्वाचन क्षेत्र फरक भएपनि जिल्ला स्तरको नेतृत्व तहमा खड्का र थानी समूहबीच लामो समय देखि चर्को प्रतिस्पर्धा हुँदै आइरहेको छ । नेपाली काँग्रेसको यसपटकको अधिवेशनमा थानी पक्ष जिल्ला नेतृत्वमा शुन्य अवस्थामा पुगेको छ भने कुनैपनि पालिकामा उक्त समूहले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएको थिएन ।

स्पष्टीकरण क्षेत्र नं. २ लाई मात्रै केन्द्रीत गरिएको भन्ने बारेमा प्रतिक्रिया लिन खोज्दा संस्थापन पक्षका नेताहरुले कुरै गर्न चाहेनन् । आगामी निर्वाचनमा प्रदेश तह वा संघमा चुनाव लड्ने चाहना राखेका नेताहरु नेतृत्वमा रहेका कारण मिडियामा नबोल्ने रणनीति अख्तियार गरेको बुझ्न सकिन्छ ।

तर, संस्थापन पक्ष इतर समूहले भने संस्थापन पक्षका यस्ता कदमको कडा प्रतिरोध गर्ने बताइरहेको छ । स्पष्टीकरणको बिरोध गर्न उसले केही दिनभित्रै जिल्ला भेला गर्न लागेको विश्वस्त श्रोतले जानकारी दिएको छ ।

तर, नेपाली काँग्रेस सुर्खेतका जिल्ला सभापति खडक पोखरेलले निर्वाचन क्षेत्र नम्बर एकका कार्यकर्ताहरुलाई मात्रै स्पष्टीकरण नसोधिएको भन्ने कुुरा निराधार रहेको बताए । ‘त्यो वाहियात कुरा हो, उनले भने, ‘दुइ नम्बर भन्दा एक नम्बरका धेरै कार्यकर्तालाई स्पष्टीकरण सोधेका छौं ।’

यद्यपी, उनले स्पष्टीकरण कति जनालाई र कुन आधारमा सोधिएको हो भन्ने खुलाउन चाहेनन् ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमबार