कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा उन्नत र हाईब्रिड जातको बीउ प्याकेजिङ् गर्ने कम्पनीले प्रदेशका दैलेख, सल्यान, डोल्पा र जाजरकोट जिल्लाका किसानहरुवाट बीउ संकलन गरि कर्णाली र अन्य प्रदेशमा बिक्रीवितरण गर्दै आएको छ ।
कर्णाली बीउ प्रालि नामक उक्त कम्पनीले वीरेन्द्रनगर ८ मा बीउ प्याकेजिङ् गरेर बार्षिक रु २ करोड भन्दा बढीका बीउहरु बिक्री गरिरहेको छ । ४ जना संचालकहरु रहेको कम्पनीमा “रिटायर्ड“ वरिष्ठ कृषि अधिकृत सूर्यनाथ योगी र सितल एग्रोभेटका संचालक डिल्लीप्रसाद पाण्डे मुख्य संचालक छन ।
कम्पनीले कृषकहरुलाई उनीहरू रहेकै ठाउँमा गएर मूल बीउ र सीप सिकाउने गरेको संचालक योगीले जानकारी दिए । कुन ठाउँमा कुन बीउको राम्रो उत्पादन हुन्छ भन्ने एकिन गरेपछि कृषकसंग संझौता गर्ने र बीउ उत्पादन गर्ने गरिएको उनले वताए ।
मूल बीउ लगाईसकेपछि उत्पादन नहुँदासम्म बालीको अवस्था बारेमा पटकपटक विज्ञसहितको टोलीले स्थलगत अवलोकन गर्ने गरेको कृषि बिज्ञसमेत रहेका संचालक योगीले जानकारी दिए । उत्पादित बीउ संकलन गरेर सुर्खेतमा रहेको भण्डारण कक्षमा ल्याई बीउको ग्रेडिड गर्ने, कलर लगाउने र बीउको उपचार आधुनिक मेसिनबाट गरिने उनले जानकारी दिए । यी प्रकृयाहरु पूरा गरिसकेपछि मेसिनवाट प्याकिङ गरेर बजारमा पठाईने गरेको योगीले जानकारी दिए ।
कम्पनीले सृजना नाम गरेको हाईब्रिड टमाटर र उन्नत जातका अन्य बीउबिजनहरु प्याकिङ् गरेर बजारमा पठाईरहेको छ । टमाटरका पचासौं जातहरु बजारमा पाईने भएपनि मुख्यगरि कर्णालीमा सिर्जना, गौरब पाँच सय पचपन्न, सेरेज लगायतका जातहरु लगाईने गरिएको छ ।
नेपालमा विकसित सिर्जना जातको टमाटरको बीउ नेपालमा मात्रै नभई विदेशसम्म जाने गरेको योगीले जानकारी दिए । यो जातको टमाटर अलिक सानो साईजको हुने, धेरै फल्ने अनि कडा र टाईट हुनेहुँदा छिट्टै नबिग्रने र स्वादिलो पनि हुँने उनको भनाइ छ ।
यसैगरी, एउटा बोटमा दुईवटा मकैका कोसा हुने गौरव र रामपुर जातका हाईब्रिड मकैका जातहरु पनि प्याकेजिङ् गरि कम्पनीले बिक्रीवितरण गरिरहेको उनले बताए । १ रोपनी जमीनमा २ हजार २ सय जति मकैका बोट रोप्न सकिने र कृषकले प्रसस्त आम्दानी गर्ने उनको भनाइ छ ।
अर्का संचालक पाण्डेले सितल एग्रोभेटबाट मात्रै कर्णालीका दशवटै जिल्लामा र लुम्बिनीका वाँके र बर्दियामा बीउबिजन पठाउने गरेको जानकारी दिए । प्रतिकिलो साढे तीन लाखसम्मका बीउहरु पनि कम्पनीले सानो प्लाष्टिकको प्याकेट बनाई किसानको हातमा पुर्याउने गरेको उनले जानकारी दिए ।
पाण्डेले सितल एग्रोभेटबाट बार्षिक २० लाख रुपैयाँ बराबरको काउलीको बीउ बेच्ने गरेको उनको भनाइ छ । कर्णाली प्रदेशमा करोडौं रुपैयाँको बीउ देश विदेशबाट आउने गरेको उनले जानकारी दिए । राज्यले आफुहरुलाई सहयोग गरे कर्णालीलाई चाहिने जति बीउ उत्पादन गरिदिने पाण्डेको भनाइ छ । कर्णाली प्रदेश सरकारको वार्षिक करोडौ रकम र प्रदेशका सबै स्थानीय तहहरुले कृषिमा छुट्याउने ठूलो रकम बालुवामा पानी हाले जस्तै भइरहेको छ । सत्तासीन पार्टीका कार्यकर्ता र आसेपासेहरु मात्र कृषि अनुदान कुम्ल्याउने पात्र भएको कृषकहरु बताउँछन् ।
फिल्डमा काम गर्ने वास्तविक किसानहरुले समयमै मल, वीउ नपाउने समस्या विगतका वर्षमा जस्तै यस वर्ष पनि देखिएको छ । कर्णालीकाे भुगोल विविधतायुक्त भएको र यहाँ विभिन्न जातका वीउहरु उत्पादन गर्न सकिने कृषि विशेषज्ञहरु बताउँछन् । अर्गानिक खाद्यबालीका लागि पनि कर्णाली प्रदेश अन्य प्रदेशका तुलनामा कम खर्चिलो र प्रभावकारी हुने वरिष्ठ कृषि अधिकृत योगी दावी गर्छन ।
दैलेखको सिर्जना टमाटर विदेशमा
झट्ट सुन्दा अचम्म लाग्न सक्छ कि कर्णाली प्रदेशका किसानहरुले हाईब्रिड टमाटरको बीउ उत्पादन गरि विदेशसम्म पठाउने गरेका छन् । दैलेखको मालिका, घोडावास र छिउडीका स्थानीय कृषकहरुले आफ्नै घरआगनमा उत्पादन गरेको सिर्जना जातको टमाटरको बीउ काठमाडौंमा रहेको सिएन सिड्स कम्पनी मार्फत बिदेशसम्म बिक्रीवितरण गरेको पाईएको छ ।
सरकारी सेवावाट निवृत भएका बरिष्ठ कृषि विकास अधिकृत सूर्यनाथ योगीले सिर्जना जातको हाईब्रिड जातको टमाटरको बीउ विदेशमासमेत उच्च माग रहेको बताए ।
नार्कका सेवानिवृत बैज्ञानिक डा. केदार बुढाथोकीले सिर्जना नाम गरेको हाईब्रिड टमाटरको बीउको विकास गरेका थिए । नार्ककै सिर्जना नाम गरेकी एक महिला बैज्ञानिकले विदेशवाट टमाटरको “प्यारेन्ट लाईन“ ल्याएकी थिईन । बैज्ञानिक वुढाथोकीले उनैको नामवाट टमाटरको हाईब्रिड बीउको विकास गरेका थिए ।
बुढाथोकीकै पहलमा दैलेखका कृषकहरुलाई सहकारीमार्फत जोडेर टमाटरको हाईब्रिड बीउ उत्पादन गर्न लगाईएको थियो । प्रतिकिलो ६५ हजार रुपैयाँसम्ममा बिक्री भैरहेको सिर्जना जातको टमाटरको बीउ दैलेखमा अहिले बार्षिक १० केजीसम्म उत्पादन भैरहेको छ । थप बीउ उत्पादन गर्नेगरी समूह निर्माणका कामहरु अघि बढाईएको छ ।
दैलेख लगायतका जिल्लाहरुमा विभिन्न समूह/ सहकारी स्थापना गरि सीमित रुपमा उन्नत र हाईब्रिड बीउ उत्पादन भैरहेकोमा राज्यले अझै ध्यान दिन सके नेपालमा मात्रै नभई विदेशसम्म कर्णालीमा उत्पादित बीउले बजार पाउनसक्ने जानकारहरु बताउँछन ।