
साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दहाल अन्ततः नेकपा एमाले प्रवेश गरेका छन् । प्रजातान्त्रिक विचारधाराबाट ओतप्रोत उनी गेहेन्द्र सरबाट कमरेड गेहेन्द्र दहाल बनेका हुन् ।
दहाललाई कमरेड बनाउन नेकपा एमालेका महासचिव शंकर पोखरेल शनिबार सुर्खेतको वीरेन्द्रनगर आइपुगेका हुन् । वीरेन्द्रनगरको सिटी हलमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा दहाल लगायत झण्डै ९ सय जना नेकपा एमाले प्रवेश गरेको नेकपा एमाले सुर्खेतले जानकारी दिएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १५ रतुमा २०२८ साल जेठ ३ गते जन्मेका गेहेन्द्रप्रसाद दहालले लामोसमय शिक्षा क्षेत्रमा बिताएका छन् ।
शिक्षा क्याम्पस सुर्खेतबाट अंग्रेजी र नेपाली विषयमा एमए र एमएड गरेका दहालको बाल्यकाल पहाडी जनजीवन, दैनिक ६ घण्टा सम्मको पैदल यात्राको स्कूल जीवन, घाँस दाउरा र गोठाले जीवनमा बित्यो ।
२०४६ साल भाद्र ८ गतेदेखि २०४६ फागुन मसान्तसम्म नेरा प्रावि पारे गाउँ सुर्खेतमा स्थायी शिक्षकमा नियुक्ति लिएका दहाल २०४६ चैत्र १ देखि २०५६ भाद्र २ सम्म जनसेवा मावि शिक्षकको रुपमा कार्यरत रहे ।
सोही विद्यालयमा उनी २०५६ भाद्र ३ गतेदेखि २०६५ असार ३१ सम्म प्रधानाध्यापक रुपमा काम गरे । २०६५ असार ३१ देखि २०७४ मंसिर ८ गतेसम्म श्रीकृष्ण मावि ईत्राम सुर्खेतमा प्रधानाध्यापकको रुपमा कार्यरत रहेकै बेला २०७४ मंसिर ९ गतेदेखि उनले स्वच्छिक अवकाश लिए ।
२०७२ सालमा नेपाल सरकारबाट राष्ट्रिय शिक्षा पुरष्कार र शिक्षा पदकबाट विभुषित दहाल सन २००५ मा नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा निर्विरोध निर्वाचित भए ।
सन २००५ मा अष्ट्रियाको भियानामा भएको जेसीजको विश्व सम्मेलनबाट नेपाल जेसीज देशको रुपमा र उत्कृष्ट अध्यक्षको रुपमा सम्मानित भए ।
२०५७ सालदेखि २०६१ सम्म नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ सुर्खेतको जिल्ला अध्यक्ष बनेका दहाल आस्था नेपालको केन्द्रिय महासचिव र फ्रिडमफोरम सुर्खेतको संस्थापक अध्यक्ष बनि सकेका छन् ।
नेपाली कांग्रेसलाई बिधिवत रुपमा त्यागेर २०७४ को स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिका सुर्खेतको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएर उनी पराजित भएका थिए ।
विवेकशील साझा पार्टी केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश संयोजक बनेर उनले कर्णाली प्रदेशमा साझा पार्टीको संगठन विस्तार गरेका थिए । साझा पार्टीका ‘गिनेचुनेका’ संगठक दहाल नेपालको ठूलो वामपन्थी दल एमालेको सदस्य बन्न आइपुगेका छन् ।
‘कम्यूनिष्ट आइडोलोजी’बाट टाढा रहेका अथवा जीवनभर पूँजीवादी बिचार र सिद्धान्त अंगालेका दहालको एमाले प्रवेशलाई उनी मात्र नभई स्वयं नेकपा एमालेका नेताहरुले पनि उत्सुकता पूर्वक हेरिरहेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वीरेन्द्रनगरको मेयरमा दावा गरेर टिकट नपाएपछि कांग्रेस परित्याग गरी स्वतन्त्र रुपमा नगरको मेयर पदमा उम्मेदवारी दिएका दहाल रविन्द्र मिश्रसँगको सम्पर्क पछि विवेकशील साझा पार्टीको सदस्यता लिएका थिए ।
ठूलो महत्वाकांक्षा, क्षमता र वाकपटुता भएका दहालको जनसम्पर्क पनि उत्तिकै राम्रो रहेको छ । सबै उमेर समूहका व्यक्तिहरुसँग सजिलै घुलमिल हुनसक्ने उनको क्षमताको कारण नेकपा एमालेले पार्टीमा ल्याउन विगत ६ वर्षदेखि निरन्तर प्रयास गरेको थियो ।
एमाले स्थायी कमिटी सदस्य यमलाल कंडेलले दहालले कांग्रेस पार्टी छोड्ने बित्तिकै पार्टीमा भित्र्याउन आप्mना सम्यन्त्रहरु परिचालित गरेका थिए ।
‘कम्युनिष्ट आइडोलोजी’सँग आफू धेरै ‘म्याच’ हुन नसक्ने भन्दै उनले कंडेलको प्रस्ताव अप्रत्यक्ष रुपमा अस्वीकार गरेका थिए ।
सानो पार्टीको ठूलो नेता बनेर संगठनमा ठूलो दबदबा बनाएका दहाललाई नेकपा एमालेमा त्यति ठूलो ‘प्लेटफर्म’ उपलब्ध हुने छैन । नेकपा एमाले सुर्खेतका एक नेताले दहाललाई एमालेमा बढीमा प्रदेश कमिटी सदस्यसम्म प्राप्त हुन सक्ने संकेत गरे ।
विवेकशील जस्तो सानो पार्टीलाई कर्णालीका अधिकांश जिल्लामा पुगेर आफैले संगठन गरेका दहाल विवेकशील पार्टीमा आएको फुट र सैद्धान्तिक विचलनबाट निकै तनाबमा रहेका देखिन्थे ।
कांग्रेस छोडेर आएकाले उनको त्यहाँ फर्कने बाटो समाप्त भएको थियो भने पहिलेदेखि नै सम्पर्कमा रहेको पार्टी एमाले नै रोजाईमा पर्न सक्ने आँकलन विगत एक–दुई महिनादेखि गरिदै आएको थियो । जेसिजजस्तो विख्यात सामाजिक संस्थाको केन्दीय अध्यक्ष को भूमिका निभाएका दहालले वामपन्थी पार्टीको अगुवा कार्यकर्ताको भूमिका कसरी निर्वाह गर्लान् , चासोको विषय बनेको छ ।

यसैबिच, नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचन २०७९ बाट एकल मतका हिसाबले एमाले नै पहिलो रहेको दाबी गरेका छन् । सुर्खेतमा भएको पार्टीको आन्तरिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले गठबन्धनको सहारामा स्थानीय तहमा पहिलो पार्टी भएपनि दलको एकल मतका हिसाबले एमाले नै पहिलो भएको दाबी गरे ।
उनले २०७९ को स्थानीय तहको निर्वाचनमा ३३ प्रतिशत मत ल्याएको एमालेले २०७९ को निर्वाचनबाट ३४ प्रतिशत ल्याएको दावी गरे ।
पोखरेलले स्थानीय तह निर्वाचन २०७९ मा प्रहरी प्रशासनको दुरूपयोग गरिएको आरोप लगाए । आगामी निर्वाचनमा यसरी प्रहरी प्रशासनको दुरूपयोग नहुने उनले बताए । पोखरेलले नेकपा एमालेले कर्णाली प्रदेश सरकारको नेतृत्व लिन नपाएकाले कर्णालीका जनताले संघीयताको फाइदा लिन नसकेको बताए ।
नेकपा एमालेको बलियो किल्लाका रूपमा कर्णालीलाई स्थापित गर्न महासचिव पोखरेलले कार्यकर्ताहरुलाई आग्रह गर्दै एमालेभित्र पनि अवसरवादी प्रवृत्ति मौलाएकोमा चिन्ता व्यक्त गरे ।