
खास–खास कार्यक्रममा मात्रै पुग्ने गरेको म मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा रवि लामीछानेको स्वतन्त्र पार्टीले आयोजना गरेको कर्णाली प्रदेशको भेला कार्यक्रममा रिपोर्टिङका लागि आफै पुगे । कार्यक्रममा जाने कि नजाने भन्ने दोधारमा रहेपनि अन्तिम समयमा यो देशको एउटा नागरिक अनि पत्रकारको पेशालाई आत्मसाथ गर्दै म वीरेन्द्रनगर वडा नं ६ मा रहेको सुर्खेत सभागृहमा पुगे । कार्यक्रम हुनु पूर्व मेरो मनमा निक्कै कौतुहलता थियो कि रविको कार्यक्रममा कति मानिस उपस्थित होलान !
हरेक वडामा संगठन भएका ठूला दलहरूले पनि मानिस जम्मा गर्न ठूलै कसरत गर्नुपरिरहेको अवस्थामा जिल्लामै एकजना पनि होलटाईमर कार्यकर्ता नभएको स्वतन्त्र पार्टीको कार्यक्रममा कति मानिसहरु जम्मा होलान ? बर्षातको समय, कुनैपनि संगठन नभएको नयाँ पार्टीमा जम्मा हुने संख्या मेरो अनुमानमा पत्रकार सहित २÷३ सय जना थियोे ।
कार्यक्रम स्थलमा पुगेपछि मेरो अनुमानले पुरै फेल खायो । दिउँसो १२ः३० मा म कार्यक्रम स्थलमा पुग्दा सभागृहका लगभग सिट प्याक भैसकेको थियो । आयोजकहरुले तोकेको समय पनि त्यहि थियो । उक्त पार्टीका सभापति रवि लामीछाने कार्यक्रम स्थलमा आईपुगेका थिएनन् । उनी लगभग १ बजे आईपुगे । खचाखच भरिएको सभाहल जुरुक्कै उठ्यो । रविले नेपालको झण्डा हातमा समाएर उपस्थितहरुलाई अभिवादन गरे ।
अनि बज्यो उहीँ पुरानो गीत, “रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो ।“ जुन गीतलाई नेपालमा आएको कथित लोकतन्त्रपछि सरकारी संचार माध्यमबाट बजाउन रोक लगाईएको थियो । रविको हातमा रहेका नेपालको राष्ट्रिय झण्डा जसरी हल्लदै गयो, हलमा रहेका दर्शकहरुपनि राष्ट्रिय भावनाले ओतप्रोत हुँदै आफ्नो प्यारो झण्डाको तालमा हल्लिईरहे ।

यी सवै दृश्य मैले हलको एउटा कुनाबाट हेरिरहेको थिए । समाचार संकलन गर्न आएकोले अलिक देखिने ठाउँमा जान खोजे, सकिन । हलको माथिल्लो तलामा चढे, उभिने ठाउँ पाईन । अनि तल्लो तलावाट पस्न खोजे, त्यहावाट पनि संभव भएन । पछि स्टेज नजिकैको ढोकावाट भित्र पसियो । पछाडिबाट आएको हुलले धकेल्दै स्टेजको छेउमै पु¥यायो । त्यहीँ हुलमा केही पत्रकार साथीहरू भेटिए । उभिने ठाउँ कहिकतै नपाएर हामीहरु पत्रकारसहितको टोली बाहिर निस्क्यौ ।
कार्यक्रममा उपस्थितमध्ये ९०% भन्दा बढी युवाहरु थिए । मैले कार्यक्रममा सहभागी केही युवाहरुसंग कार्यक्रम सुरु हुनु अघि कुराकानी गरे । उनीहरू पूर्ण विजयी भावमा देखिन्थे । नेपालका दलहरूले केही गर्न नसकेको, चुनावी एजेन्डाहरु विर्सेको, नितान्त आफ्ना परिवार र चाटुककारहरुको घेरा वनाएको, महङ्गी वढाएको, युवाहरु बेरोजगार बनेको, खाने तेल र पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढाएको, नेताहरू भ्रष्टाचारमा संलग्न भएको, नेताहरूले भारतमा गएर देशको स्वाधीनता बेचेको, भारतीयहरुलाई नागरिकता दिएर देश बेच्न लागेको (भारतलाई), देशको विकास हुन नदिएको, नेताहरु जनजीविकाको सवालमा वेखवर बनेको, जनतालाई सुखसुविधा हुने कुनैपनि काम नगरेको जस्ता सयौं गुनासाका पोका उनीहरूले खोले ।

उनीहरू अब हुने निर्वाचन पछि रवि प्रधानमन्त्री बन्ने र यी सबै समस्याहरुको समाधान गरिदिनेमा ढुक्क जस्तै थिए । उपस्थितहरुमध्ये धेरैले विगतमा विभिन्न पार्टीमा आबद्ध भएपनि अब भने पुराना पार्टीहरु प्रती मोह भंग भएकोले रविको कुरा सुन्न आएको वताए । कुराकानीका क्रममा उनीहरुले रविलाई भारतका अरवीन्द्र केजरिवालसंग तुलना पनि गरे ।
कार्यक्रमको संचालन फरक तरिकाले संचालन गरिएको थियो । आयोजकले उपस्थितहरु मध्येबाट ८ जनालाई मंचमा निम्त्याएर ३ मिनेटमा आफ्ना कुरा राख्ने समय प्रदान गरेको थियो । उनीहरूमध्ये सुर्खेतको पुरानो नेतृ राधा थापाले मात्रै प्रभावकारी संवोधन गरेकी थिईन ।
आजको कार्यक्रममा सहभागी बनेपछि म पनि के निष्कर्षमा पुगेको छु भने अहिले दलहरूप्रती जनताको वितृष्णा उफानमा छ । यो विष्फोट हुन मात्र बाँकी छ । विद्रोह कुनैपनि वेला रसियामा जस्तै अक्टोबर या नोभेम्वर क्रान्तिको रुपमा उदाउन सक्छ । जनताको सोच्ने स्तर निकै माथिल्लो स्तरको भएको बुझे । नागरिकहरुले देशको बिकास नहुनुको मुख्य कारण नेताहरूको गतिहीनतालाई मुख्य दोषी मानेका रहेछन । नेपालमा हरेक दशकमा हुने राजनीतिक परिवर्तनबाट पनि जनताको स्तर जहाँको त्यहीँ रहेकोप्रति युवाहरुको स्वभाविक आक्रोशप्रती म पनि असहमत हुन सकिन । प्राकृतिक श्रोतहरुले भरिपूर्ण देशलाई नेताहरूको ईगो र भ्रष्टाचारले विकास हुन नदिएको प्रती मैलेपनि असहमति राख्नुपर्ने कुनै ठाउँ भेटिन ।

देशको अपार जलश्रोत, फलाम खानी, पेट्रोलियम खानी, जंगल, विश्वकै दुर्लभ वन्यजन्तुहरु, तराईका मलिला फाँटहरु, फलफूलका लागि उपयुुक्त रसिला पहाडहरु, यार्सागुम्बा, पाँचऔले लगायतका बहुमुल्य जडिबुटीहरु, कस्तुरी, चौरीहरु, विश्वकै पर्यटक लोभ्याउने हिमाल, तालतलैया, झर्ना, हिमनदीहरु भएको मेरो देश यति गरिब भएकोमा मनमनै आफैलाई प्रश्न गरे । देश विकास नहुनुमा राजनीतिक नेतृत्वमा हुनुपर्ने देशभक्तिपूर्ण भावनाको कमी र देशको विकास गर्ने हुटहुटी र क्षमतामा कमी मेरो ठम्याइ रह्यो । नेताहरूले एकाङ्की रुपले सोच्ने, आफु वाहेक अरु केहीपनि होईनन भन्ने दम्भ, भ्रष्टाचार, परिवारवाद, नातावाद, फरियावाद र सत्ताको लागि देशलाई नै बेच्न पछि नपर्ने मोहले नै देश यस्ता जर्जर अवस्थामा आईपुगेकोमा म पनि सहमत बने ।
आजको कार्यक्रम पछि म पनि यो निष्कर्षमा पुगेकी नेपालका ठूला भनिएका दलहरूलाई अब एकदमै कम मार्जिनको सुध्रिने ठाउँ बाँकी छ । सम्भवतः आगामी मंसिरमा हुने चुनाव उनीहरूका लागि अन्तिम अवसर हुनेछ भन्ने मेरो बुझाई छ ।
यस्तै, हुम्लामा मोहन रोकायको अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र पार्टीको हुम्ला शाखा गठन भएको छ । नयाँ गठन गरिएको तदर्थ समितिको अध्यक्ष, उपाध्यक्ष र सचिवमा अदानचुलीकै रहेका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजना भएको प्रदेश स्तरिय कार्यकर्ता भेला समापन भए लगत्तै बसेको उपलब्धहरुको बैठकले आदानचुली ३ का मोहन रोकायाको अध्यक्षतामा सात सदस्यीय जिल्लाको तदर्थ कमिटि गठन गरेको हो । पत्रकार रवि लामिछानेको अध्यक्षतामा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको हुम्लाका लागि उपाध्यक्षमा अदानचुली १ का माघे परियार, सचिवमा अदानचुली १ कै वसन्त थापा रहेको पार्टीका तदर्थ समितिका अध्यक्ष मोहन रोकायाले जानकारी दिए ।
‘सुर्खेतमा उपलब्ध पार्टीका सदस्यहरुको बैठकले तीन वटा निर्णय गरेको छ,’ अध्यक्ष रोकायाले भने, ‘पहिलो निर्णयमा पार्टीको जिल्ला तदर्थ समिति ६ सदस्यीय गठन गर्ने, दोस्रोमा वडा देखि पालिका स्तरका पार्टीका तदर्थ कमिटि गठन गर्ने र तेस्रोमा सिमकोट गाउँपालिका २ ठेहेका मनोज बोहरालाई प्रदेश कमिटिमा मनोनित गर्ने निर्णय गरेको छ ।’
‘राजनीतिको फोहोर सफा गर्न संकल्प गरेर अगाडि बढ्नु छ’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिको फोहोर सफा गर्नका लागि अबका दिनमा संकल्प गरेर अगाडि बढ्न राष्ट्रिय स्वतन्त्र पार्टी आएको दावी गरेका छन् । पार्टीले मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सिटि हलमा गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै रविले यस्तो बताएका हुन् ।
प्रदेश भेलामा सभापति लामिछानेले राजनीतिको फोहोर सफा गर्नका लागि अबका दिनमा संकल्प गरेर अगाडि बढ्न राष्ट्रिय स्वतन्त्र पार्टी आएको बताए । उनले भने, ‘हालका राजनीतिक दलहरुले महलमा बसेर आराम गर्ने नेतृत्व फेर्नु बाहेक विकल्प गरेनन्, देशको भविष्य निर्धारण गर्न विधिको शासन आवश्यक हुन्छ । विधि मिच्नेहरुबाट देशको भविष्य खोज्न सकिँदैन ।’
लामिछानेले नेताहरुले गरेका गल्तीका एक–एक हिसाब जनताले खोज्नु पर्ने बताए । उनले भने, ‘हामीले यहीँ कर्णाली प्रदेशको कालीकोट जिल्लामा अस्पताल बनाउँदै गर्दा हाम्रो चरीत्र हत्या गर्ने काम भयो । हामीले यात्रालाई रोकेनौं र आज सयौँ नागरिकले उपचार सेवा पाईरहेका छन् ।’ सभापति लामिछानेले यस्तै विषयमा केन्द्रीतहुँदै कसैसँग पनि नडराउँने दाबी गरे । उनले भने, ‘म कसैसँग डराउँदिन् । मृत्युलाई समेत आँखै अगाडि भिडेर आएको मान्छे हो । भरोसा गर्न लायक मान्छे देशमा कुनै पनि आएनन् । त्यसैले मैदानमा आएको छु ।’