२०८३ वैशाख ५ , शनिबार

मंसिर ४ को चुनावको तयारीमा एमाले–कांग्रेस

एमाले प्रचार विभाग प्रमुख तिमिल्सेना र कांग्रेस जिल्ला कार्यसमिति सदस्य पोख्रेल दुवैले गरे आ–आफ्नो पार्टीले जित्ने दावी


आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि सुर्खेतमा पनि उम्मेदवारहरुको वारेमा चर्चा–परिचर्चा सुरु भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी लगायतका दलहरु मिलेर बनेको सत्ता समर्थक दलहरु र नेकपा एमाले बिचमा हुने प्रतिष्पर्धाबाट नै आगामी सत्ताको स्वरुप तय हुनेछ ।

२०७४ सालमा भएको निर्वाचनमा गठबन्धन गरेर गएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र २ ध्रुवमा बाडिएसँगै कांग्रेस सत्ताको केन्द्र भागमा आइपुगेको छ । कांग्रेसलाई सत्तमा पु¥याउन नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल समूह लागेपछि केपी ओलीको सत्ता ढलेको थियो ।

सुर्खेतको हकमा चर्चा गर्दा नेकपा एमाले फुटको प्रभाव न्यूनरुपमा परेको देखियो । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ मा नेकपा एसले ५ सयको हाराहारीमा मत प्राप्त गरेको थियो भने क्षेत्र नं. २ बाट २ हजारको हाराहारीमा मत प्राप्त भएको थियो ।
स्थानीय तहमा कांग्रेसको प्रभावलाई कम गर्दै ९ पालिका मध्ये एमालेले ४ वटा पालिका प्रमुख र एक बटामा उपप्रमुख जितेको थियो । जिल्ला समन्वय समितिमा पनि एमालेले विजय हासिल गरेको छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसले आंशिक गठबन्धन गरेका थिए । पूर्ण गठबन्धन गर्ने योजना र निर्णय भएपनि अन्तिम समयमा आएर पूर्ण गठबन्धन हुन सकेन । यसको केही फाइदा एमालेले उठायो ।

एमाले भित्रको असन्तुष्टिको फाइदा नेपाली कांग्रेसले भेरीगंगा नगरपालिका, चिंगाड गाउँपालिका र पञ्चपुरी नगरपालिकामा उठायो । एमाले नेतृत्वको कमजोर निर्णय क्षमताको कारण स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम एमालेले पनि निकाल्न सकेन ।

पञ्चपुरीमा माओवादीले अन्तिम समयमा आएर गरेको उपमेयर र वडा अध्यक्षको प्रस्तावको फाईदा एमालेले उठाउन सकेन । बराहताल गाउँपालिकामा समेत माओवादी केन्द्र गठबन्धन गर्न तयार हुँदा एमाले निर्णय गर्न बाट चुक्यो ।

लेकबेशी नगरपालिकामा एमाले भित्रको विवाद सतहमै आयो । निर्वाचनको मुखमै निवर्तमान नगरप्रमुख गगनसिंह सुनार, नेताहरु टिकाराम सोमै, सिताराम पौडेल लगायतले अन्र्तघात गर्ने योजना बनाएको र निर्वाचनमा पार्टीको पक्षमा नहिडेको भन्दै नगर प्रमुखका उम्मेदवार देव रानाले जिल्ला नेतृत्व समक्ष रिर्पोटिङ्ग गरेका थिए ।

नेपाली कांग्रेसभित्र समेत भेरीगंगा, चिंगाड र वीरेन्द्रनगरमा चर्को अन्र्तघात भएको कार्यकर्ताहरु बताउछन् । खासगरी शेखर कोइराला समूहमा रहेका जिल्लाका नेताहरुले पार्टी अधिवेशनमा भएको पराजयपछि बदला लिन कांग्रेसका उम्मेदवारहरु हराइएको देउवा निकटका नेताहरु बताउछन् । कांग्रेसभित्र सिम्ता, गुर्भाकोट, बराहताल, पञ्चपुरी र चौकुनेमा अन्र्तघातको दर निकै कम भएको उनीहरुको भनाई छ ।

मंसिरमा हुने निर्वाचनको तयारी र पार्टीको अवस्था वारे नेकपा एमाले र नेपाली कांग्रेसका २ युवा नेताहरु आ–आफ्नो पार्र्टीले निर्वाचन जित्ने दावी गर्दछन् । नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेना एमाले पार्टीभित्र कुनै पनि गुट–उपगुट नभएको दावी गर्दछन् ।

‘एमाले भित्र अन्य पार्टीमा जस्तो गुटबन्दी र अन्र्तद्वन्द छैन । स–साना मनमुटाव र असमझदारीहरु रहेपनि यसलाई हामी निर्वाचन अगाडी मिलाउछौं, सबैलाई एकताबद्ध र गोलबन्द गर्दै गठबन्धन लाई निर्वाचनमा पराजित गछौं,’ उनले भने ।

तर, नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य प्रचण्ड पोख्रेलले नेपाली कांग्रेसले आगामी निर्वाचनमा जित्ने दावी गर्दछन् । ‘देशव्यापी रुपमा कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको छ । यसै पनि सुर्खेतमा नेपाली कांग्रेस बलियो भएकोले निर्वाचन जित्न कुनै कठिनाई हुने छैन,’ उनी भन्छन् ।

दुवै नेताहरुले सत्तामा रहेको कांग्रेस माओवादीको गठबन्धन चुनावसम्म कायम रहने स्वीकार्छन । एमालेका तिमिल्सेनाले गठबन्धन भत्किन्छ भन्नेमा आफुलाई विश्वास नभएको बताउछन् भने पोख्रेल चुनाव घोषणा भई सत्तासिन दलहरुका विचमा चुनावी गठबन्धन गर्नेसम्मको निर्णय भैसकेकाले गठबन्धन भाडिने नभई अझ कसिलो बनाउने बताउछन् ।

एमाले प्रचार विभाग प्रमुख तिमिल्सेनाले घोषित रुपमै एमालेले निर्वाचन केन्द्रीत गतिविधि नगरेपनि जनताको विचमै आफुहरु रहेको बताए ।

उनले एमालेले जिल्ला, प्रदेश, क्षेत्र, पालिका र वडास्तरका कार्यक्रमहरु गरिरहेको र गठबन्धन सरकारले गरेको महंगी लगायतका जनविरोधी क्रियाकलापको विरोधमा आगामी साउन २८ गते वीरेन्द्रनगमा आयोजना गरिने जनप्रदर्शनपछि पार्टीको बैठक बसेर निर्वाचन केन्द्रीत कार्यक्रमहरु तय गरिने जानकारी दिए ।

तिमिल्सेनाले बर्तमान गठबन्धन सरकार जनताको मेन्डेटबाट नभई परमादेशबाट बनेकोले जनताका समस्या प्रति बेखबर बनेको आरोप लगाए । ‘यो गठबन्धन देशको अवस्था बदल्न नभई आर्थिक सत्ता स्वार्थ, आग्रह–पूर्वाग्रहबाट बनेको हो । यो एमाले विरुद्धमा बनेको हो,’ उनले भने ।

कांग्रेस नेता पोख्रेलले भने गठबन्धनको बैठक बसेर चुनाव केन्द्रीत योजना बनाईने खुलासा गरे ।

निर्वाचनमा पार्टीका सबै अंगहरु परिचालित हुने र फरक समूहमा रहेका नेता कार्यकर्ताहरुलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए । पार्टी अधिवेशनमा रहेका तुषहरुलाई मेटेर कांग्रेसलाई एक ढिक्का बनाउने योजना जिल्ला कार्यसमितिको रहेको उनले बताए ।

टिकटको सिफारिस गर्दा पार्टीको विधान बमोजिम क्रियाशिल कमिटीहरुले गर्ने र निर्णय गर्दा कुनै आग्रह–पुर्वाग्रह नराखी निष्ठापूर्वक लागेको, प्रतिभावान् , लोकप्रिय र आम जनताले रुचाएको व्यक्तिलाई गरिने उनले बताए ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मंगलबार