२०८३ वैशाख ५ , शनिबार

कर्णालीमा गठवन्धन बलियोः कांग्रेसभित्रको खटपटको पर्खाईमा एमाले



मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १५ मध्ये १० जिल्लालाई समेटेर कर्णाली प्रदेशको निर्माण भएको थियो । नेपालको संविधान २०७२ जारी भएपछि राज्यको पुनर्संरचना गर्दा सुर्खेत लगायतका जिल्लाहरुलाई सुदुरपश्चिम प्रदेशमा गाभिएको भन्दै सुर्खेत लगायतका जिल्लाहरुमा ठूलो आन्दोलन भएको थियो ।

चार जनालाई सहिद बनाएर पाएको कर्णाली प्रदेशमा साविक कर्णाली प्रदेशका ५ जिल्लाहरु हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट र भेरी अंचलका दैलेख, जाजरकोट, सुर्खेत र राप्ती अंचलका रुकुम पश्चिम, सल्यान जिल्ला पर्दछन ।
कर्णाली प्रदेशबाट प्रतिनिधि सभामा १२ निर्वाचन क्षेत्र रहेका छन् ।

दैलेख र सुर्खेतमा दुई–दुईवटा निर्वाचन क्षेत्र छन् भने अन्य ८ जिल्लामा एक–एकजना प्रतिनिधिसभा सदस्यका सीट छन् । प्रदेश सभामा प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ गरि ४० सदस्यीय सभा रहेको छ । हाल प्रतिनिधिसभामा कर्णाली प्रदेशबाट प्रत्यक्षतर्फ नेकपा एमालेका ६, नेकपा माओवादी केन्द्रका ५ र एकजना स्वतन्त्र सांसदको प्रतिनिधित्व छ ।

२०७९ सालमा एमाले र नेकपा माओवादी केन्द्रवीच भएको गठवन्धनका कारण कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस लगभग शून्यको अवस्थामा पुगेको थियो । प्रदेश सभामा १ जना जीवनबहादुर शाही वाहेक कसैले निर्वाचन जितेनन् ।

एमालेसंगको पार्टी एकता विघटन भएपछि नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ मा हुने संघीय र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गर्ने निर्णय गरेको छ । एमाले विरुद्धमा ८ दलीय गठवन्धन गरेर निर्वाचनमा कांग्रेस माओवादीलगायतका दलहरू जान लागेकाले नेकपा एमाले प्रतिरक्षात्मक अवस्थामा पुगेको छ ।

सरकारी गठवन्धनका दलहरू गठवन्धन गरेर चुनावमा गएपनि कांग्रेसभित्रको विवाद र दलहरुवीचमा टिकट बाँडफाँडमा हुने लफडाले निर्वाचनको परिणामलाई असर गर्ने देखिन्छ । गठवन्धन र कांग्रेसभित्रको विवाद सतहमा नआएमा २०७४ मा कांग्रेसको जेजस्तो हालत थियो, त्यहि हालतमा एमाले पुग्ने राजनीतिक विष्लेषकहरुको अनुमान छ ।

२०७४ को प्रतिनिधिसभा र गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरुले प्राप्त गरेको मत परिणाम विश्लेषण गर्दा नेकपा एमाले कमजोर देखिएको छ ।

कर्णालीको जिल्लागत मतपरिणाम र आगामी मंसिर ४ गतेहुने निर्वाचनमा कस्को पल्ला भारी होला भन्नेवारेमा तल सामान्य विश्लेषण गरिएको छ । कर्णाली प्रदेशको सदरमुकाम रहेको सुर्खेतमा दुईवटा प्रतिनिधिसभाका क्षेत्र छन् । गत प्रतिनिधिसभा निर्वाचनमा सुर्खेतका दुवै निर्वाचन क्षेत्रबाट एमाले विजयी भएको थियो ।

सुर्खेत १ बाट कांग्रेसका तत्कालीन महामन्त्री पूर्णबहादुर खड्कालाई पराजित गरेर ध्रुवकुमार शाही र सुर्खेत २ बाट कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य हृदयराम थानीलाई पराजित गर्दै नवराज रावत विजयी भएका थिए । एमाले जिल्ला अध्यक्ष शाही र प्रदेश कमिटी सदस्य रावतले कांग्रेसका दुवै हाई प्रोफाईल नेताहरुलाई हराएका थिए ।

सुर्खेत १ मा ३६ हजार ७ सय ५९ मतले शाही विजयी हुँदा खड्काले ३३ हजार ३ सय ७७ र सुर्खेत २ मा ३७ हजार ४ सय ४७ मतले रावत विजयी हुँदा थानीले २८ हजार ६ सय ४६ मत प्राप्त गरेका थिए ।

तर, गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा सुर्खेत १ मा कांग्रेस र सुर्खेत २ मा एमाले बलियो देखिएको छ । सुर्खेत १ मा कांग्रेसको ३६ हजार ९ सय २८, एमालेको ३४ हजार ८ सय ४३ र माओवादीको ५ हजार ७५ मत छ ।

यस्तै, सुर्खेत २ मा एमालेको ३० हजार ४ सय ६९, कांग्रेसको २९ हजार ५ सय ४०, माओवादीको ११ हजार ६ सय ६१, राप्रपाको ३ हजार ४ सय ९७ र एकीकृत समाजवादीको २ हजार ६२ मत छ ।

नेपाली कांग्रेस सुर्खेतभित्र अहिले चरम गुटबन्दी छ । खड्का र थानी पक्षले एकले अर्कालाई हराउन कुनै कसर बाँकी नराख्ने भएकोले आगामी मंसिर ४ मा हुने निर्वाचन निकै रोचक हुने राजनीतिक पण्डितहरु वताउँछन ।

हुम्लामा गत २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा माओवादीका बिद्रोही उम्मेदवार छक्कबहादुर लामा विजयी भएका थिए । उनले कांग्रेस नेता मंगलबहादुर शाहीलाई ४७ मतले पराजित गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उक्त निर्वाचनमा माओवादी उम्मेदवार छिमी दोर्ची लामाले २ हजार ८५६ मत ल्याएका थिए ।
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा हुम्लामा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा माओवादी केन्द्र बलियो देखिएको छ ।

निर्वाचन आयोगका अनुसार गत स्थानीय चुनावमा हुम्लामा माओवादीको ६ हजार ४ सय ९३, एमालेको ६ हजार १ सय ४७, कांग्रेसको ४ हजार ७ सात सय ६४ र एकीकृत समाजवादीको ८ सय ८८ मत देखिएको छ । हुम्लामा एमाले माओवादी हाराहारीमा रहेका छन भने नेपाली कांग्रेस तेस्रो शक्तिको रुपमा देखिएको छ ।
गत प्रतिनिधिसभा निर्वाचनमा मुगुबाट एमाले उम्मेदवार गोपालबहादुर बम विजयी भएका थिए ।

उनले कांग्रेस उम्मेदवार हस्तबहादुर मल्ललाई झण्डै ५ हजार मतले पराजित गरेका थिए । बम १३ हजार ३४ मतसहित प्रतिनिधिसभामा चयन भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी मल्लले ९ हजार ८ सय ६१ र तत्कालीन नयाँ शक्ति पार्टीका उम्मेदवार राजबहादुर भामले ९९ मत पाएका थिए ।

स्थानीय तह निर्वाचनको मत परिणामअनुसार मुगुमा एमाले कांग्रेसभन्दा लगभग एक हजार मतले अगाडि छ । वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतले एमालेको पक्षमा ९ हजार ८ सय ९४ र कांग्रेसको ८ हजार ९ सय ४९ मत देखिन्छ ।

मुगुमा माओवादीको ३ हजार ८ सय ७६ र एकीकृत समाजवादीको १ हजार ४ सय ८५ मत छ । एक्लाएक्लै लड्दा एमाले वलियो भएपनि चुनावी तालमेल गर्ने भएका कारण मुगुमा सत्ता गठबन्धन बलियो छ ।

जुम्लामा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी नेता गजेन्द्रबहादुर महत विजयी भएका थिए । उनले कांग्रेसका उम्मेदवार देवेन्द्रबहादुर शाहीलाई झण्डै ८ हजार मतले पराजित गर्दै विजयी भएका हुन् ।

२२ हजार १ सय ७३ मतले माओवादी नेता महत विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी शाहीले १४ हजार १४९ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा आएका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार डिल्लीप्रसाद काफ्लेले २ हजार ७ सय १८ मत ल्याएका थिए ।

गत स्थानीय तहमा भएको निर्वाचनमा जुम्लामा कांग्रेस बलियो देखाएको छ । वडाध्यक्षहरुले प्राप्त गरेको मत परिणामले कांग्रेसको १६ हजार ७५, माओवादीको १४ हजार १ सय ७५, एमालेको ६ हजार ९ सय ६२ र एकीकृत समाजवादीको ६ हजार १ सय ९५ छ ।

डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका एमाले नेता धनबहादुर बूढा अहिले एकीकृत समाजवादीका नेता छन् । उनले कांग्रेस नेता अंगदकुमार बुढालाई ८ हजार मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बूढाले ११ हजार ७,सय ६१ र कांग्रेस नेता बुढाले ३ हजार १ सय ६७ मत ल्याएका थिए ।

सांसद वुढाले अहिले एमाले प्रवेश गर्नेवारे छलफल चलाईरहेको एमाले श्रोतले जानकारी दिएको छ । स्थानीय तह निर्वाचनको मत परिणामअनुसार डोल्पामा माओवादीको ४ हजार ८ सय ५५, एमालेको ४ हजार ५ सय ४५, कांग्रेसको ३ हजार ६९ र एकीकृत समाजवादीको १ हजार ३ सय ३४ मत छ ।

रावतले २१ हजार १ सय १२ मत ल्याउँदा कांग्रेसका शाहीले १६ हजार ४ सय ७ मत प्राप्त गरेका थिए । स्थानीय तह निर्वाचनको अन्तिम मत परिणामले कालीकोटमा माओवादीको पक्षमा १८ हजार ३ सय ४७, कांग्रेसको १२ हजार ८ सय २०, एमालेको १२ हजार ६ सय १३ र एकीकृत समाजवादीको पक्षमा ३ हजार ५ सय ३ मत देखिन्छ ।

दैलेखमा प्रतिनिधिसभाका दुई सिट रहेका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा दुवै सिटमा एमाले विजयी भएको थियो । निर्वाचन क्षेत्र नम्बर १ बाट रवीन्द्रराज शर्मा र क्षेत्र नम्बर २ बाट राजबहादुर बुढाक्षेत्री एमालेबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

क्षेत्र नम्बर १ मा शर्माले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपककुमार शाही र क्षेत्र नम्बर २ मा बुढाक्षेत्रीले कांग्रेसका शिवराज जोशीलाई पराजित गरेका थिए । उक्त निर्वाचनमा दैलेखका दुवै क्षेत्रमा कांग्रेस र राप्रपाबीच चुनावी तालमेल थियो ।

क्षेत्र नम्बर १ मा शर्मा २३ हजार ७ सय ७३ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका शाहीले १७ हजार २सय ५२ र क्षेत्र नम्बर २ मा बुढाक्षेत्री २३ हजार ३ सय २३ मतसहित विजयी हुँदा कांग्रेसका जोशीले १६ हजार ६ सय ३४ मत ल्याएका थिए ।

गत स्थानीय तहको निर्वाचनमा दैलेख १ मा कांग्रेसको २० हजार ३ सय ४४, एमालेको १९ हजार ६१, एकीकृत समाजवादीको ५ हजार ५ सय २९, माओवादीको ३ हजार १ सय ७५ र राप्रपाको ९ सय ७६ मत रहेको छ । दैलेख २ मा एमालेको २१ हजार ७६, कांग्रेसको १९ हजार ७ सय ८६, माओवादीको ५ हजार ७ सय ५५, एकीकृत समाजवादीको ८ सय ३० र राप्रपाको ३ सय २१ मत देखिन्छ ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा जाजरकोटबाट माओवादी नेता शक्तिबहादुर बस्नेत विजयी भएका थिए । कांग्रेस नेता राजीवविक्रम शाहलाई ९ हजार मतले पछि पार्दै वस्नेत प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । आयोगका अनुसार बस्नेतले ३२ हजार २ सय ८१ मत प्राप्त गर्दा शाहको पक्षमा २३ हजार २सय ८९ मत खसेको थियो । पछिल्लो निर्वाचनबाट जाजरकोटमा एमालेको २४ हजार ४, कांग्रेसको २२ हजार ३ सय ४२, माओवादीको १८ हजार ६ सय २२, एकीकृत समाजवादीको २ हजार ३ सय ३४ मत देखिन्छ ।

रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा विजयी माओवादी नेता जनार्दन शर्मा अहिले अर्थमन्त्री छन् । उनी २०७४ को निर्वाचनमा कांग्रेस उम्मेदवार गोपालजीजंग शाहलाई दोब्बर मतले पछि पार्दै विजयी भएका थिए ।
प्रतिनिधिसभा निर्वाचनमा शर्मा ३४ हजार ४ सय २ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी शाहले १५ हजार ६ सय ५९ मत प्राप्त गरेका थिए । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले पनि रुकुम पश्चिममा माओवादी बलियो देखाएको छ ।

निर्वाचन आयोगका अनुसार रुकुम पश्चिममा माओवादीको ३७ हजार १ सय २, कांग्रेसको २६ हजार ६ सय २०, एमालेको ६ हजार १ सय २४, एकीकृत समाजवादीको १ सय ३० र राप्रपाको १ सय ८ मत छ ।

सल्यानबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेतले प्रतिनिधित्व गरेका छन् । उनले कांग्रेसका राजेन्द्रबहादुर शाहलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । एमाले नेता गुलावजंग शाह, नेकपा एकीकृतका प्रकाश ज्वाला र माओवादी केन्द्रका टेकवहादुर वस्नेतलगायत मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवार बन्ने अनुमान गरिएको छ ।

बस्नेत ४० हजार ८ सय ९७ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी शाहले २९ हजार ७ सय ६७ र स्वतन्त्र उम्मेदवार उमाकान्त शर्माले २ हजार ९ सय २१ मत पाएका थिए । तर, गत स्थानीय तह निर्वाचनको परिणामले सल्यानमा कांग्रेस बलियो देखाएको छ ।

सल्यानमा कांग्रेसको ३३ हजार ६ सय १६, माओवादीको २६ हजार ७ सय १३, एमालेको २६ हजार ६ सय २८, एकीकृत समाजवादीको ९ हजार ४ सय ६७, राप्रपाको २ हजार १ सय १७ मत छ ।

प्रकाशित मिति : २०७९ भदौ ८ गते बुधबार