
फाइल तस्बिर
काठमाडौँ । रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख भन्दा धेरैले आवेदन दिएका छन्। रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको ईपीएस कोरिया शाखाले साउन २६ देखि ३१ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो। सो अवधिमा एक लाख २ हजार ५६४ जनाले आवेदन दिएको शाखाले जनाएको छ।
यसपटक अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन्। जसमा उत्पादनमुलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जनालाई छनोट गरिनेछ। तर आवेदन दिनेहरूलाई क्षेत्रअनुसार छुट्याउने प्रक्रिया अझै बाँकी रहेको शाखाले जनाएको छ। नेपालको श्रम मन्त्रालय र गणतन्त्र कोरियाको श्रम मन्त्रालयबीच भएको समझदारीअनुसार ईपीएस प्रणालीमार्फत नेपाली नागरिक कोरियामा श्रमिकका रूपमा जाँदै आएका छन्।
त्यसका लागि पहिलो चरणमा भाषा परीक्षा सञ्चालन हुन्छ। यस वर्ष एचआरडी कोरियाले ५ हजार ३ सय कोटा छुट्याएर परीक्षा तालिका पठाएको भए पनि परीक्षाको मिति भने सार्वजनिक गरिएकाे छैन् । परीक्षा एक दिनमा बढीमा ५ सिफ्टमा हुने र आवश्यक परे तालिका परिमार्जन गर्न सकिने जनाइएको छ।
कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या बढ्न वा घट्न सक्ने उल्लेख गर्दै शाखाले भाषा परीक्षामा सफल भएकाले मात्र दोस्रो चरणको सिप तथा प्रतिस्पर्धा क्षमता परीक्षण दिन पाउने जनाएको छ। दोस्रो चरणको विवरण पहिलो चरणको नतिजा प्रकाशनपछि मात्र सार्वजनिक गरिनेछ। भाषा परीक्षा काठमाडौँमै हुनेछन्। नतिजा एचआरडी सर्भिस अफ कोरियाबाट प्राप्त भएपछि मात्र प्रकाशित गरिनेछ।
परीक्षार्थीले आफ्नो अंक अनलाइनमार्फत हेर्न सक्नेछन्। नतिजा २ वर्षसम्म मात्र वैध रहनेछ। परीक्षामा पढाइ सम्बन्धी २० र सुनाइ सम्बन्धी २० प्रश्न गरी एक सय पूर्णाङ्कको प्रश्न रहनेछ। २५–२५ मिनेटमा परीक्षा सकिनेछ। तर यी दुई परीक्षाको बिचमा विश्राम नभई लगातार सञ्चालन हुनेछ। परीक्षामा सामेल हुन सक्कल राहदानी र प्रवेशपत्र आवश्यक हुने र नक्कल गर्ने वा गराउनेलाई ४ वर्षसम्म परीक्षा दिन प्रतिबन्ध लगाइने चेतावनी पनि शाखाले दिएको छ।