◊
नेपाली कांग्रेस सुर्खेतका पूर्व उप–सभापति टेकबहादुर सिंहले केन्द्रीय उप–सभापति पूर्णबहादुर खड्काले आफूलाई नै प्रदेश सभाको टिकट दिने दावी गरेका छन् ।
सुर्खेत १ (क) प्रदेश सभामा उम्मेदवार सिफारिस भएपछि खवरदृष्टिलाई प्रतिक्रिया दिदै सिंहले उपसभापति खड्कासँग आफू निरन्तर सम्पर्कमा रहेको बताएका छन् । ‘केन्द्रीय उप–सभापति मेरो नेता हो । उहाँसम्म पुग्न मलाई कसैको सहारा चाहिदैन,’उनले भने ।
नेपाली कांग्रेसबाट जिल्ला सचिव समेत भइसकेका सिंहले आफूलाई अघिल्लोपटक पनि खड्काले नै टिकट दिएको र यसपटक पनि टिकट पाउन कुनै समस्या नभएको बताए ।
नेताहरु आफ्नो विगतका कामहरुबाट प्रभावित भएको र गाउँमै बसेर कांग्रेसको संगठन गर्ने नेतामा आफ्नो नाम जिल्लामा अग्र पङतिमा आउने सिंहले दावी गरे । उनले उपसभापति खड्कामा गुटबन्दी गर्ने भन्दा पनि कार्यकर्तालाई संरक्षण गर्ने गुण भएको बताए ।
२०७४ सालमा भएको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार ठम्मरबहादुर विष्टसँग २ सय २० मतले पराजित सिंह कार्यकर्ता माझ लोकप्रिय मानिन्छन् । निर्वाचनमा पराजित भएपछि संगठन निर्माणमा झन दह्रो हिसाबले लागेको र एमालेको बलियो संगठन भएको सिम्तामा कांगेससँगको मतान्तर कम गर्दै लगेको उनले दावी गरे ।
द्वन्द्वकालमा नेपाली कांग्रेसको संगठन बचाइराख्न र कार्यकर्ता पङतिलाई निरुत्साहित हुन नदिन आफू गाउँमै बसेको सिंहले दावी गरे । ‘जनताले आफूबाट धेरै अपेक्षा गरेपनि थोरै मतान्तरले पराजित हुँदा कार्यकर्ता तह दुःखी थियो । कार्यकर्ता तहलाई निराश हुन नदिन २०७४ सालदेखि गाउँ नछोडी बस्ती–बस्ती डुलेको छु , ’ उनले भने ।
२०७४ सालमा भएको निर्वाचनमा आफू पराजित हुनुको प्रमुख कारण अनुभवहीनता भएको उनले स्वीकार गरे । तर अहिले जनतासँगको सम्पर्क र कार्यकर्तासँगको सम्बन्धलाई जोड दिएर संगठन विस्तार गरेको उनको भनाई छ ।
उनले सुर्खेतमा नेपाली कांग्रेस विभाजित अवस्थामा रहेकाले एक नबनाई जतिसुकै गठबन्धन गरेपनि परिणाम नआउने ठोकुवा गरे । उनले भने, ‘अहिले सुर्खेत कांग्रेस विभाजित अवस्थामा छ । तर मिलेर जान वित्तिकै २०४८ साल जत्तिकै सशक्त कांग्रेस बन्न सक्छ ।’
पार्टीभित्र केन्द्रदेखि वडा सम्मै २ धार र विचार समूह भएकोले फरक धार र विचार समूहको सयुक्त प्रयास भए कांग्रेस एक्लैले पनि नतिजा हात पार्ने उनको भनाई छ । आन्तरिक लडाई र बाह्य लडाईमा फरक हुने हुँदा आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा कांग्रेस एकजुट हुनुपर्ने उनले बताए । उनले कांग्रेसका सबै नेता तथा कार्यकर्तासँग आफ्नो सुमधुर तथा समान सम्बन्ध रहेको बताए ।
जिल्लाका गठबन्धनका अन्य नेता कार्यकर्ताहरुसँग पनि राम्रै सम्बन्ध बनाएको उनको दावी छ । टिकट वितरण गर्दा लामो पार्टी जीवन भएका, त्यागी, संगठकहरुलाई दिँदा विपक्षीसँग लडाई लड्न सजिलो हुने उनको धारणा छ । गुट प्रेरित भई निर्णय गर्दा विद्रोह हुनसक्ने र त्यसलाई सम्हाल्न नसकिने उनले चेतावनी दिए ।
गत स्थानीय तहको चुनावमा कांग्रेस भित्र अन्र्तघात नभएको उनको दावी छ । टिकट वितरणमा मनपरी गरिएको र इमान्दार कार्यकर्ताहरुलाई टिकट नदिदा नेपाली कांग्रेसले गठबन्धनका बाबजुत सुर्खेतका स्थानीय तहहरुमा चुनाव हार्न पुगेको उनको भनाइ छ । स्थानीय तहको निर्वाचन पछि कार्यकर्ताहरुलाई स्पष्टीकरण सोधेर तर्साउन खोजिएको भन्दै स्पष्टीकरण पत्र तत्काल फिर्ता लिनुपर्ने उनले माग गरे ।
आफू विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेको र सुर्खेत जिल्लाको पार्टी उप–सभापति र सचिव बनिसकेकोले आजसम्मको राजनीतिमा धेरै आरोह अबरोह व्यहोरेको उनको भनाइ छ ।