२०८३ वैशाख ५ , शनिबार

उम्मेदवारमा नाम समावेश नभएपछि डण्डी शर्माबाट विद्रोहको धम्की !

कमिटीका १२० मध्ये १० जनाले पनि शर्मालाई समर्थन गरेनन्


आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रतिनिधि सभा सुर्खेत १ मा गरिएको सिफारिस विधि र प्रकृयासम्मत नभएको भन्दै विरोध जनाईएको छ । नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य डण्डीप्रसाद शर्माले निर्णय नसच्याए जुनसुकै कदम चाल्न सक्ने चेतावनी दिएका छन् । उनले सोमवार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्यको उम्मेदवार छनौटका क्रममा पार्टी बिधान, केन्द्रीय निर्देशन र प्रणालीगत परम्परालाई लत्याउदै कमिटीका सदस्यहरुको अधिकारलाई कुण्ठित गरि अभिमत जाहेर गर्न नदिएको उल्लेख गरेका छन् ।

सुर्खेत जिल्ला कमिटीलाई संवोधन गर्दै जारी गरिएको विज्ञप्तिमा वैठक कक्षको पछिल्लो ढोकाबाट माईनट लिएर भागेको आरोप लगाउदै पूर्ण गुटबन्दी गर्ने र सत्रुतापूर्ण व्यवहार गर्ने प्रतिनिधि सभा सदस्य धुर्वकुमार शाही, प्रदेश सभा सदस्य खड्कवहादुर खत्री, एमाले जिल्ला कमिटी सुर्खेतका सचिव कबिन्द्रकुमार केसी र उपसचिव बलवहादुर नेपालीलाई पार्टी विधान बमोजिम कार्वाहीको माग गरेका छन ।

शर्माले अवैधानिक तवरले उम्मेदवार छनौट गरि सिफारिस गरिएको नामहरु वदर गरि पुनः समन्वय कमिटीको वैठकबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिस गर्ने व्यवस्थाका लागि माग गरेका छन् ।

के भएको थियो बैठकमा ?

सोमवार नेकपा एमालेका सुर्खेत १ र २ वाट प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको छनौट गर्ने दिन तोकिएको थियो । १ नंवर क्षेत्रका लागि भेरीगंगाको छिन्चु र २ का लागि वीरेन्द्रनगरमा स्थान तोकिएको थियो । एमाले नेतृत्वले सकभर सर्वसम्मतरुपमा १ जनाको मात्रै नाम चयन गर्नेगरि मेण्डेट दिएको एमाले जिल्ला कमिटी सचिव कविन्द्रकुमार केसी वताउछन ।

सुर्खेत १ को तुलनामा सुर्खेत २ अझै पेचिलो अनुमान एमाले वृतमा थियो । वीरेन्द्रनगरमा वसेको प्रतिनिधि सभा २ को वैठकमा वर्तमान प्रतिनिधि सभाका सांसद नवराज रावतले पूर्वअनुमान विपरीत जिल्ला पार्टी अध्यक्ष अमृतकुमार विसी र उपाध्यक्ष कुलमणि देवकोटाको नाम प्रस्ताव गरे । १ जना महिलामा तुल्सी कँडेलको नाम सिफारिस भयो । नवराज रावत फेरि उठ्ने अनुमान गरिएपनि उनैले आफ्नो नाम प्रस्ताव नगरीकन अरुको नाम प्रस्ताव गर्दा वैठकले सहजै निर्णय गर्न सम्भव भयो ।

सुर्खेत १ मा वर्तमान सांसद धुर्वकुमार शाही र डण्डीप्रसाद शर्माले दाबी गर्ने अनुमान गरिएपनि शर्माको कमिटीमा ‘होल्ड’ नभएकोले शाहीको पक्षमा सहज निर्णय हुँने अनुमान थियो ।

तर, वहुसंख्यक कमिटीका सदस्यहरुले प्रस्ताव गरेका नामहरुलाई अस्वीकार गर्ने र जवर्जस्तरुपमा आफ्ना एजेन्डा लाद्ने काम शर्माबाट भएको छनौट समितिका संयोजक कविन्द्र केसी वताउँछन ।

१ सय २६ सदस्यीय कमिटीमध्ये १ सय २० को हाराहारीमा उपस्थित सदस्यहरुमध्ये सिम्ताका मोहन चन्द र गगनसिं, गुर्भाकोटका ईन्द्रदेव गिरी र कुलबहादुर खत्री, भेरीगंगाका वीरजित वस्यालवाहेक कसैले पनि शर्माको नाम समावेश गर्नुपर्छ भनेर नबोलेको केसीले जानकारी दिए ।

लेकवेसी, चिंगाडबाट शर्माको नाम सिफारिस गर्न प्रस्ताव नआएको उनले बताए । उनीहरूले पनि धुर्वकुमार शाहीसहित डण्डी शर्माको नाम सिफारिस गर्न कमिटी समक्ष आग्रह गरेको केसीले जानकारी दिए ।
प्रतिनिधि सभा १ अन्तर्गत ५ पालिकाका सदस्यहरुको समूहगत छलफलबाट बर्तमान सांसद शाही र एकता प्रकृयावाट आएका पूर्व माओवादी नेता चन्द्रलाल पौडेल र महिलाबाट शान्तिकुमारी छन्तेलको नाम सिफारिस गर्ने निष्कर्षमा वैठक पुगेको केसीले वताए ।

शर्माको नाम सिफारिस नगर्ने पक्षमा सिम्ताका अध्यक्ष डम्मर घर्ती, उपाध्यक्ष राजेन्द्र शिंह, गुर्भाकोटका अध्यक्ष देववहादुर खत्री, भेरीगंगाका अध्यक्ष नरवहादुर थापा, ईन्चार्ज यज्ञ ढकाल, लेकवेसीका अध्यक्ष देव राना र ईन्चार्ज टिकाराम सोमै, चिंगाडका अध्यक्ष लोकवहादुर जिसी र ईन्चार्ज वोधबिक्रम जिसी र ती पालिका कमिटीहरु रहेको केसीले जानकारी दिए ।

हलभित्र सौहार्दपूर्णरुपमा नाम सिफारिस भैसकेपछि हल बाहिर रहेका शर्मा समर्थित केही व्यक्तिहरुले माईन्यूट खोस्ने प्रयास गरेको र धकल–पकलसमेत गरेको उनको भनाइ छ । गठवन्धन बनाएर एमाले माथि प्रहार भैरहेको वेला एकजुट भै विरोधीहरुको सामना गर्नुको साटो उनीहरूलाई नै वलमद्दत पुग्ने गरि गतिविधि हुनु दुखद भएको केसीको भनाइ छ ।

को हुन् डण्डी शर्मा ?


नेकपा एमालेका स्वर्गीय नेता ऋषिप्रसाद शर्माका भाइ डण्डी शर्मा शिक्षक राजनीतिवाट चर्चामा आएका हुन । उनी २०५३ सालमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुको तर्फबाट वहुमुखि क्याम्पस सुर्खेतको सभापति निर्वाचित भएका थिए ।

शिक्षक संगठन सुर्खेतको अध्यक्ष, शिक्षक संगठन केन्द्रीय सचिवसमेत भैसकेका शर्मा पछिल्लो समय पार्टीको मूल लाईनबाट टाढा छन । २०७१ सालमा भएको जिल्ला अधिवेशनमा धुर्वकुमार शाहीलाई अध्यक्ष बन्न निर्णायक भूमिका खेलेका शर्माको शाहीसंगको मित्रता लामो समय टिक्न सकेन । नवराज रावत र शाही बीच भएको निर्वाचनमा शाहीले निर्वाचन जितेका थिए । सो अधिवेशनमा शर्मालाई नवराज रावतको टिमबाट सचिव लड्न प्रस्ताव गरिए पनि उनले मानेनन् ।

रावतसंग शर्माको राम्रो सम्बन्ध भएपनि एमाले नेता यमलाल कँडेलले रावतलाई समर्थन गरेका कारण उनी शाही क्याम्पमा प्रवेश गरेका थिए । सुर्खेतमा एन्टी यमलाल क्यापेनिङको नेतृत्व गर्ने उद्घोष गरेका शर्मा नेकपा पार्टी विभाजनको समयमा भने केही महिना कँडेल नजिक पुगेका थिए ।

माधवकुमार नेपालको समूहमा सकृय शर्मा धुर्वकुमार शाही नेपाल समूहमा खुलेका कारण एमाले पार्टीमा रहेको एमालेका कतिपय नेताहरू वताउँछन ।

तर, शाही पार्टीमा फर्केपछि शर्मा पुनः कँडेलबाट टाढा भए । केही महत्वपूर्ण निर्णय लिनुपर्दा कँडेलले शाहीको सल्लाह लिन खोजेपछि शर्मा टाढिएको एमाले नेताहरु वताउँछन ।

गत वर्ष भएको पार्टी जिल्ला अधिवेशनमा कँडेलले शर्मालाई पदाधिकारीमा समेट्न खोजेका थिए । तर उनले अध्यक्षको अडान राखेपछि जिल्ला अधिवेशन सर्वसम्मत हुन नसकि निर्वाचन भएको थियो । जिल्ला अधिवेशनमा शर्माको टिम लगभग शून्यको अवस्थामा रहेर पराजित भयो ।

जिल्ला पार्टीका कुनैपनि कमिटीमा आफ्नो वर्चस्व नभएपछि विरक्तिएका शर्माले जिल्ला अधिवेशन हारमा कँडेलको मूख्य भुमिका रहेको भन्दै उनको विरुद्धमा पत्रकार सम्मेलन नै गरेका थिए । सामाजिक संजालमा प्रदेश ईन्चार्ज कँडेलको नामै लिएर स्टाटस लेखेका थिए । सुर्खेत जिल्लामा कँडेलले गुटबन्दी गरेको हाक्काहाक्की आरोप लगाएर पार्टीभित्र एउटा धारको नेतृत्व गर्ने संकेत गरेका शर्माको आगामी यात्रा कस्तो हुनेछ, हेर्न बाँकी छ ।

प्रकाशित मिति : २०७९ भदौ २० गते सोमबार