
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्तरिम सरकारले गराउने चुनावप्रति पार्टी सकारात्मक भएको बताएका छन् । भदौ २४ गते आगजनी र तोडफोडमा परेको ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेपछि पोखरेलले जनतामा गएर अभिमत प्राप्त गर्ने प्रक्रियामा एमाले सहभागी हुने बताएका हुन् । सुशीला कार्की नेतृत्वको सरकार चुनावकै लागि बनेको भन्दै समयमा निर्वाचन गराउँदा सहभागी हुन एमालेलाई अप्ठ्यारो नपर्ने उनको भनाइ छ ।
‘हाम्रो पार्टी स्वाभाविक रूपमा मुलुकमा सुशासन कायम गर्ने कुरामा, भ्रष्टाचार अन्त्य गर्ने कुरामा विकास र समृद्धिको यात्रालाई तीव्रता दिने कुरामा वर्तमान सरकार अगाडि बढ्न खोज्दा सहयोग गर्न तयार छ,’ पोखरेलले भनेका छन्, ‘यद्यपि, यो सरकार अन्तरिम सरकार भएका नाताले उसको कर्तव्य समयमा निर्वाचन गराउने कुरा हो । शान्ति सुरक्षाको वातावरण तयार गरेर समयमा निर्वाचन गराउने क्रममा सरकारको ध्यान जाने छ ।’
सडक सधैंभरि जनमत प्राप्तिको माध्यम हुन नसक्ने भन्दै उनले चुनावी अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नुपर्ने बताएका हुन् । ‘नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर जनताका बीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नु पर्दछ भन्ने हामी ठान्दछौं,’ पोखरेलले भनेका छन्, ‘जनमत प्राप्त गर्ने माध्यम भनेको, सधैंभरि सडक जनमत प्राप्तिको माध्यम हुन सक्दैन, हुनु पनि हुँदैन ।’ संविधानतिरै फर्किनुपर्ने र परिवर्तनको आधार संविधानलाई बनाउनुपर्ने उनको भनाइ छ ।
‘एउटा युगले ल्याएको परिवर्तनलाई संविधानमा संश्लेषण गरिसकेपछि परिवर्तनको आधार संविधानलाई बनाउन नसक्ने हो भने मुलुक कहिले पनि विकास र समृद्धिको यात्रामा अगाडि बढ्न सक्दैन,’ पोखरेलले भने, ‘समाधान सधैं सडकबाट खोज्ने हो भने स्थायित्व र विकास सम्भव हुँदैन । त्यसर्थमा हामी संविधानतिर फर्कनै पर्छ । संविधानको बाटो हिंड्नै पर्दछ ।’
देशभरका पार्टीका संरचना ध्वस्त बनाइएको भन्दै उनले फेरि उठ्ने बताए । क्षति भएका राज्यका संरचनाको पुनर्निर्माणका लागि समेत पार्टीले स्वंयसेवा गर्ने उनले बताए । युवाहरूको आकांक्षालाई समयमै सम्बोधन गर्ने कुरामा पार्टी चुके पनि एमालेको विकास, समृद्धि र देशभक्तिको आकांक्षमा प्रश्न नउठाउन उनले आग्रह गरे । विकास र समृद्धिका लागि एमाले देशको इमान्दार शक्ति रहेको उनको भनाइ छ ।