२०८३ वैशाख ५ , शनिबार

आचारसंहिताविपरीत प्रचारप्रसारमा संलग्न भएको भन्दै वडा अध्यक्ष रिजाललाई ५ हजार जरिवाना



निर्वाचन आयोगले काठमाडौं महानगरपालिका वडा न १६ का अध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ। काठमाडौं क्षेत्र नम्बर ७ ९२० का उम्मेदवार सबिन तामाङको प्रचारप्रसारमा संलग्न भै निर्वाचन आचारसंहिता उलंघन गरेकोले आयोगले रिजाललाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले रिजाललाई निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा संलग्न भएको भन्दै गत कात्तिक २ गते २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आदेश दिएको थियो । वडाध्यक्ष रिजाल कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको थियो ।

आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष र विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाइने व्यवस्था गरिएको छ।
आचारसंहिताअनुसार उनले काठमाडौं महानगरपालिकाभित्र दलको प्रचारप्रसारमा संलग्न हुन पाउँदैन । उनी कांग्रेसको उम्मेदवारको पक्षमा प्रचारमा हिँडेको भन्दै आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिमको जरिवाना गरेको हो । यो दफामा आचारसंहिता उल्लंघन गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १६ गते बुधबार