
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकाे माहोल बनाउन देश दौडाहामा निस्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका तीन जिल्लाका पाँच उम्मेदवारलाई मन्त्री बनाउने आश्वाशन दिएर गएका छन् ।
सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेश सभामा टिकट वितरणको विषयलाई लिएर आन्तरिक विवाद भएपछि बागी उम्मेदवार बनेका नेताहरुकाे उम्मेदवारी निस्कृय पार्ने याेजनासहित उनी कर्णाली आएका थिए। प्रचण्डले कर्णाली प्रदेशका जुम्ला, हुम्ला र कालीकोटका सभाहरुलाई सम्वाेधन गर्दै ती जिल्लाका नेताहरूलाई मन्त्री बनाउने आश्वाशन दिएका हुन् ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गठवन्धनकाे पक्षमा माहोल बनाउन कर्णालीका हिमाली जिल्ला पुगेका प्रचण्डले सत्ता गठबन्धनका तर्फबाट जुम्लाका प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु जुम्लाका गोमा कुँवर, हुम्लाका छिरिङ दम्डोल लामा (कार्चेन)लाई बिजयी बनाए संघीय सरकारको क्याविनेट मन्त्री बनाईदिने सार्वजनिक घाेषणा गरे। उनलेे कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई कर्णाली प्रदेशको भावी मुख्यमन्त्री र कालीकोटका हिक्मतबहादुर बिष्टलाई कर्णाली प्रदेशको मन्त्री बनाउने आश्वाशन दिए।
सुर्खेतकाे वीरेन्द्रनगरबाट मंगलबार बिहान पौने ११ बजे एयर डाइनेष्टीकाे हेलिकोप्टर लिएर खलंगा विमानस्थलमा ओर्लेका प्रचण्डले सत्ता गठबन्धनले जुम्लाकाे चन्दननाथ नगरपालिका वडा नं ५ सेराज्यूलोमा आयोजना गरेकाे चुनावी सभालाई संवोधन गर्दै जुम्लाबाट प्रतिनिधि सभामा उम्मेदवार बनेकी गोमा कुँवरलाई आगामी सरकारमा क्याविनेट मन्त्री बनाउने उद्धाेष गरे।
यसअघि आफ्नाे नेतृत्वमा बनेको सरकारमा राज्यमन्त्री बनेका गोमालाई बिजयी बनाए मन्त्री बनाईदिने वताए। गठबन्धनको तर्फबाट जुम्लाको प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रबाट गोमा गौतम कुँवर, प्रदेस सभा निर्वाचन क्षेत्र १ मा नेपाली काँग्रेसका ललितजंग शाही र प्रदेश सभा निर्वाचन क्षेत्र २ मा एकिकृत समाजवादी पदम रोकाया चुनावी मैदानमा छन्।
जुम्लाबाट हुम्लाको सर्केगाडमा आयोजित चुनावी सभालाई संवोधन गरेका प्रचण्डले गैरसांसद रहेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार छिरिङ दम्डोल लामा (कार्चेन)लाई कर्णाली प्रदेशकै मन्त्री बनाएर आफूले हुम्लालाई प्राथमिकता दिएको उल्लेख गर्दै मंसिर ४ गतेको निर्वाचनमा जिताएर पठाए नेपाल सरकारको क्याविनेट मन्त्री पक्का बनाउने प्रतिवद्धता व्यक्त गरे । आफू नेतृत्वको सरकारमा क्याविनेट मन्त्री भएका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीकाे प्रशंसा गर्दै उनले चुनाव पछि गठन हुने कर्णाली प्रदेशमा गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनाईने दृढता व्यक्त गरे।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लसहित कर्णाली दौडाहामा निस्केका प्रचण्डले कालीकोटको मान्म बजारमासमेत सम्वाेधन गरेका थिए। उनले कालीकोटमा पनि दुई जनालाई मन्त्री बनाउने आश्वासन दिन भ्याए। साझा उम्मेदवारहरु प्रतिनिधिसभाका महेन्द्रबहादुर शाहीलाई केन्द्र र हिक्मत विष्टलाई प्रदेशमा मन्त्री बनाउने आश्वासन दिए। गठवन्धनका साझा उम्मेदवारलाई इमान्दारिताका साथ बिजय गराउन उनलेे सार्वजनिक अपिल गरे।
कर्णाली प्रदेशलाई अर्को आश्वासन दिदै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मंसिर ४ को निर्वाचन पछि बन्ने सरकारले निर्माण गर्ने बजेटमा कर्णालीले पहिलो प्राथमिकता पाउने प्रतिवद्धता जनाए। नेपालका ७७ वटा जिल्ला मध्ये राष्ट्रिय राजमार्गमा जोडिन हुम्ला सदरमुकाम सिमकोट मात्रै रहेको बताउदै उनले आगामी बजेटको प्राथमिकतामा कर्णाली रहने वताए।
हुम्ला, जुम्ला र कालीकोटमा आयोजित चुनावी सभालाई संवोधन गर्दै उनले अबको प्राथमिकता कर्णाली, सुदूरपश्चिमको सर्वपक्षिय विकास नैं रहेको उल्लेख गर्दै यातायातको पहुँच, स्वास्थ्य, शिक्षा, विद्युतीकरण जस्ता विषयलाई प्राथमिकता दिने आफू बाहेक अरु कोही नभएको दावी गरे ।
चुनावपछि बन्ने गठबन्धन सरकारले संबिधानको रक्षा, राजनीतिक स्थिरता र आर्थिक विकासलाई गति दिने दाबी उनले गरे । कर्णालीको विकास र समृद्धिकालागि कर्णाली करिडोर, फुकोट हाईड्रो लगायतका महत्वपुर्ण विकास आयोजनाहरुलाई अगाडी बढाउने प्रतिवद्धता जनाए।
कालिकोटले जनयुद्ध र नेपालमा व्यवस्था परिवर्तनका आन्दोलनहरुमा अग्रणी भूमिका खेलेको उल्लेख गर्दै यसको उचित मुल्यांकन गरेकाे वताए। उनले गठबन्धन १२ बुँदे समझदारीकै निरन्तरता भएको र बिस्तृत शान्ति सम्झौताकै निरन्तरता भएको वताए। सवै सभाहरुमा उनलेे वर्तमान गठबन्धन संबिधानको रक्षा, लोकतन्त्रको रक्षा गर्न बनेको भन्न छुटाएनन्।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पुर्णबहादुर खड्काले केपी ओलीको प्रतिगमन परास्त गर्ने कर्णाली प्रदेश भएकाले केन्द्रका नेताहरुले कर्णालीलाई बजेट, विकास र नेतृत्वमा मुख्य प्राथमिकता दिनुपर्ने माग गरे।
उनले कर्णालीले केपी ओलीको प्रतिगमन बिरुद्ध पहिलो कदम उठाएकाे र त्यसपछि दशैभरी एमालेका सरकारहरु ढलेकाे प्रष्ट पारे। उनले आगामी मंसिर ४ गते हुने निर्बाचन लगत्तै कर्णालीमा विकासको अभियान थाल्ने र कर्णाली करिडोर दुईलेनको गर्न बहुबर्षिय योजना अगाडि बढाउने घाेषणा गरे।