
सुर्खेतः कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम हिमाली क्षेत्रका लागि कार्गो ढुवानी तथा चार्टर उडानका लागि हब मानिएको सुर्खेत विमानस्थलमा सबैभन्दा धेरै यात्रु क्षमता भएको एटीआर–७२ विमानले आज परीक्षण उडान गर्ने भएको छ ।
नागरिक उड्डयन प्राधिकरणले बुद्द एयरको ७२ यात्रु क्षमता भएको एटीआर विमानलाई मंगलबार परीक्षण उडानको अनुमति दिएको थियो । जस अनुसार, बुधबार बिहान नेपालगन्जका लागि यात्रु लिएर काठमाडौंबाट जाने बुद्धको नियमित उडानअन्तर्गतको एटीआर–७२ विमानले बिहान साढे ११ बजे सुर्खेतमा परीक्षण उडान गर्न लागेको प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।
नेपालगन्जबाट सुर्खेतका लागि हुने परीक्षण उडानका लागि बुद्ध एयरले आफ्ना दुई जना प्रशिक्षक पाइलटहरू प्रमोद थापा र रविकुमार श्रेष्ठसहितको टोली पठाउँदै छ ।
परीक्षण उडानमा बुद्ध एयरका इन्जियिनरबाहेक नियमनकारी निकाय प्राधिकरणको हवाई सुरक्षा विभाग, एरोड्रम इन्जिनियरिङ विभाग, एयर ट्रान्सपोर्ट विभागका प्रतिनिधिमात्रै छन् ।
यो परीक्षण उडान सकिएपछि बुद्धले प्राधिकरणलाई तत्काल प्रतिवेदन दिनुपर्ने छ । उक्त प्रतिवेदनका आधारमा प्राधिकरणले पहिलोपटक २२ सय ५४ मिटर उचाइमा रहेको सुर्खेत उपत्यकामा हाल नेपालमा सञ्चालनमा रहेका विमानमध्येको सबैभन्दा ठूलो विमानलाई व्यवसायिक उडानमा लगाउने छ ।
बुद्ध एयरका एक कर्मचारीका अनुसार, ७२ यात्रु क्षमताको एटीआर जहाजबाट सुर्खेत उडान भएपछि यस्को लाभ यात्रुले पाउने छन् । ‘हामीले एटीआर७२बाट सुर्खेत उडान थालेपछि १४ हजार हाराहारीको भाडा ७ हजार ५सय हाराहारी हुने छ,’ ती कर्मचारीले भने ।
प्रारम्भिक अध्ययनअनुसार काठमाडौंबाट जादा एटीआर विमान ७२ जना नै बोकेर जान सक्ने देखिएको छ । उताबाट उड्दा ठूलो एटीआरलाई धावनमार्गको लम्बाई तीन सय मिटर छाटो पर्ने भएकाले केही सिट खाली राख्नुपर्ने (लोड रेस्ट्रिक्सन) देखिएको छ ।
१९ सिट हाराहारीका टुइनअटर, डोर्निअर, बिचक्राफ्ट र वाई१२ विमानले मात्रै उडान गर्दै आएको सुर्खेतमा ५ वर्षअघि बुद्धले ४७ यात्रु क्षमता भएको एटीआर–४२ विमानमार्फत काठमाडौं–सुर्खेत–काठमाडौं सिधा उडान थालेको थियो । त्यसअघि उस्ले पनि १८ यात्रु क्षमताको बिचक्राफ्ट विमानबाट सिधा उडान गर्दै आएको थियो ।
परीक्षण उडान सकिएपछि बुद्धले अंग्रेजी वर्ष २०२३ जनावरी १ तारिख (पुस १७) सँगै ४७ यात्रु क्षमताको जहाजको स्थानमा ७२ यात्रु क्षमताको विमानबाट नियमित उडान गराउने जनाएको छ ।
१६ वटा विमान भएको बुद्ध भित्री उपत्यका सुर्खेतमा जस्तै समुन्द्र सतहदेखि ४ सय मिटर उचाइमा रहेको संखुवासभावको खाँदबारीस्थित तुम्लिङटार विमानस्थलमा पनि ४७ यात्रु क्षमताको एटीआरलाई हटाउँदै ७२ यात्रु क्षमताको एटीआर विमानबाट उडान शुरु गर्दै छ ।उ क्त विमानस्थलमा भने परीक्षण उडान सकिसकेको छ ।
नेपालमा सुर्खेत र संखुवासभाभन्दा माथि उचाइमा रहेका दुर्गम र हिमाली विमानस्थलमा १९ सिटभन्दा बढी क्षमता भएका विमान भौगोलिक विकटता, प्राविधिक–पूर्वाधार क्षमता अभाव, साना धावनमार्ग गायतका चुनौतीका कारण उडान–अवतरण हुन सक्दैनन् (कान्तिपुर)