काठमाडौं। नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका नेता जनार्दन शर्माले पुष्पकमल दाहाल प्रचण्डले बाटो बिराएको बताएका छन् । शर्माले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बाटो बिराएको भन्दै उनीसँगको दशकौँको यात्रा टुंगिएको घोषणा गरेका हुन्।
उनले माओवादी र अन्य सात दलसँग मिलेर गरिएको एकता निर्णयप्रति स्पष्ट असहमति जनाउँदै नयाँ अभियान घोषणा गरेका छन्। कार्यक्रममा उनका साथमा नेता राम कार्कीको पनि उपस्थित रहेको थियो । शर्माले एकताप्रति आफूहरूको विरोध केवल संख्या र बहुमतको आधारमा नभएर पार्टीमा नीति, विधि र सिद्धान्त कायम गर्नका लागि भएको बताए।
उनले माओवादी आन्दोलन जनयुद्द र परिवर्तनलाई स्मरण गर्दै प्रचण्डले व्याक्तिबादी स्वार्थका कारण एकताको रणनीति अपनाएको जिकिर गरे । शर्माले अहिलेको एकता नेकपा पहिले एकता गरेर बनेको नेकपा जति पनि नटिक्ने ठोकुवा गरे । शर्माले आफूहरू सुधारमुखी नयाँ योजनासहित अघि बढ्दै पार्टी र समाज सुधार्ने नेतृत्व बनाउने प्रतिबद्धता जनाए ।
नेता शर्माले प्रचण्डले माओवादी छाडेर माधवकुमार नेपालको नीतिमा आत्मसमर्पण गरेको भन्दै उनले त्यस्ता चाललाई अस्वीकार गर्ने भन्दै अहिलेको एकतालाई विचार र सिद्धान्तविहीनको संज्ञा दिए । शर्माले जनयुद्ध र जनआन्दोलनको बलिदान बोकेको इतिहास सम्झँदै प्रगतिशील अभियान चलाएर अघि बढ्ने बताए। ‘जनयुद्ध र जनआन्दोलनको बलिदान हामी बोक्न तयार छौँ,’उनले भने ।
कार्यक्रमका क्रममा जनार्दनले कसैलाई गाली गर्ने उद्देश्यमा नभई संस्थागत परिवर्तन र सुधारका लागि अघि बढ्ने पक्षमा रहेको बताउँदै पार्टीभित्रको प्रक्रियागत कमजोरी र नेतृत्वको निर्णयप्रति असहमति जनाए । प्रचण्डको नयाँ यात्रा दुर्घटनामा पर्ने शर्माले चेतावनी समेत दिए ।