
ताप्लेजुङ — ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङ्मामा १३ जना मतदाताका लागि २० जना कर्मचारी खटाईएको छ । ३० महिला र ३१ पुरुष गरी जम्मा ६१ जना मतदाताको संख्या रहेको यस क्षेत्रका अधिकांश मानिस बस्तीभन्दा बाहिर भएकाले आजको मतदानमा १३ मत मात्रै खस्ने स्थानीयको अनुमान छ । तर, यहाँ सुरक्षाकर्मीसहित निर्वाचन कर्मचारी भने २० जना खटिँदै छन् ।
गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा याङ्मामा १४ मत खसेको थियो । तीमध्येका एक जना एक दिनको पैदल दूरीमा रहेको ओलाङचुङगोलामा गएको र उनको फर्कने सम्भावना कम भएको अनुमान स्थानीयको छ ।
निर्वाचन व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी महेश पोखरेलका अनुसार यहाँ पुग्न कर्मचारीलाई चार दिन लागेको छ । सदरमुकाम फुङलिङबाट मंगलबार हिँडेको टोली शुक्रबार दिउँसो ३ बजेमात्रै पुगेको थियो । निर्वाचन आयोगबाट खटिएको टोलीमा मतदान अधिकृत १, सहायक मतदान अधिकृत १, सहयोगी कर्मचारी ४ जना छन् । मतदान अधिकृतले २ जना स्वयंसेवक राख्न पाउँछन् । म्यादी ९ र नेपाल प्रहरीबाट ३ जना गएका छन् । टेलिफोन सम्पर्क नहुने भएकाले टोलीलाई स्याटलाइट फोन दिइएको डीएसपी कैलाश राईले बताए ।