समाचार सारांश
- सुर्खेत ट्राफिक प्रहरीले जीर्ण सडक मर्मतमा पहल गरेको छ ।
- मंगलबार जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहित कुमार शाहीको कमाण्डमा खटिएको १० जनाको टोलीले कालिन्चोकदेखि इत्राल खोला पुलसम्मका खाल्डाखुल्डीहरू पुरेका हुन् ।
- बिग्रिएको सडक मर्मत नहुँदा दुर्घटनाको जोखिम रहेकाले ट्राफिक प्रहरीले स्वेच्छिक रूपमा मर्मत कार्य थालेको हो ।
सुर्खेत । ट्राफिक नियमको पालना गराउने सुर्खेत ट्राफिक प्रहरी जीर्ण सडक मर्मतमा जुटेको छ । अन्य समयमा सडकमा बसेर ट्राफिक नियम पालना गरे या नगरेको भन्दै सवारी चेकजाँचमा खट्ने ट्राफिक प्रहरी सडक मर्मतमा जुटेको हो । वीरेन्द्रनगर बजार भित्रका सडकमा ठुलठुला खाल्डा परेपछि सम्भावित हुनसक्ने सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरीले आफैं खाल्डाखुल्डी पुरेको हो ।
मंगलबार वीरेन्द्रनगर नगरपालिका–७ स्थित कालिन्चोकदेखि इत्राल खोला पुलसम्मको सडक खण्डमा रहेका खाल्डाखुल्डी पुरिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख एवम् प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिए ।
उनका अनुसार आफ्नो कमाण्डमा खटिएको १० जनाको टोलीले सो सडक खण्डमा देखिएका खाल्डाखुल्डीहरू मर्मत गरेको हो । बिग्रिएको सडक मर्मत नहुँदा दुर्घटनाको जोखिम उच्च रहेकाले ट्राफिक प्रहरीले स्वेच्छिक रूपमा मर्मत कार्य थालेको शाहीले बताए ।
