
सुर्खेतकाे भेरीगंगा नगरपालिका छिन्चुमा २ महिना अघि बौलाहा कुकुरले टोकेका एक युवकको मृत्यु भएकाे छ।
उक्त नगरपालिकाकाे वडा नम्बर १२ राजिगाउँ निवासी छिरेद्र खत्रीलाई करिब दुई महिना अघि कुकुरले टाेकेकाे थियाे। उनको गत मंसिर १४ गते मृत्यु भएको थियाे।कुकुरले टाेके लगत्तै उनले रेबिज बिरुद्द लगाउनु पर्ने ५ वटा खाेपमध्ये दुईवटा मात्रै लगाएकाे मृतकका आफन्त वताउँछन।
मृतक छिरेन्द्रका बुवा नेत्र खत्रीले छोराले सबै सुई लगायो होला भन्ठानेकाे तर उसले नलगाएको वताए। उनले भने, “मृत्यु हुनु भन्दा १ दिन अगाडी छोराले आफुलाई कुकुरले टाेकेकाे र कुकुरले टोक्दा लगाउनु पर्ने ५ वटा रेबिजविरुद्धकाे खाेप मध्ये २ वटा मात्र लगाएकाे वताएकाे थियाे।”
उनलेे छाेरालाई सुई फेरी लगाउँला भनेर घर छोडेर बिहानै गाडी चलाउन गएकाे वताए। गाडी चलाएकै समयमा दिउँसोपख घरबाट फोन आएकाे वताए। उनलेे हतार-हतार गाडी बजारमा छोडेर घर गएपनि छोराकाे मृत्यु भैसकेको भन्दै विलाैना गरे।
रेबिजबाट युवाकाे मृत्यु भएपछि गाउँ तथा बजारमा देखिएका छाडा कुकुरहरुलाई नियन्त्रणमा लिन भेरीगंगा नगरपालिका पशुपंक्षी विकास शाखाले भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयलाई रेबिज रोग नियन्त्रण गरिदिन पत्राचार गरेको छ।
भेरीगंगा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पोख्रेल र पशुपंक्षी बिकास शाखाका प्रमुख भोजप्रसाद चपाईले संयुक्त हस्ताक्षर गरि पशुपंक्षी विकास निर्देशनालय सुर्खेतलाई अनुरोध गरेका छन्।
भेरीगंगा नगरपालिका पशुपंक्षी बिकास साखा प्रमुख भोजप्रसाद चपाईले जताततै रेबिजको संक्रमण फैलिएको शंका लागेकाेले सबैले आ-आफ्नो ठाँउबाट यसको नियन्त्रणमा सहयोग गर्न अनुरोध गरेका छन्।
उनले अहिलेसम्म ३ सय ६० कुकुरलाई रेबिजविरुद्धकाे खाेप लगाईसकिएकाे जानकारीसमेत दिए। छाडा कुकुर पहिचानमा समस्या भएको चपाईकाे भनाइ छ।