२०८३ वैशाख ३ , बिहीबार

चौरजहारी नगरपालिकाको कल सेन्टर प्रभावकारी, दैनिक आउछन् १५ देखि २० वटा फोन



समाचार सारांश
Generated Using AI
  • रुकुमपश्चिमको चौरजहारी नगरपालिकाकाे कल सेन्टर प्रभावकारी बन्दै गएकाे छ ।
  • कल सेन्टरमा दैनिक १५/२० वटा फोन आउने गरेका छन् ।
  • कृषकहरूले कृषि तथा पशु सेवा सम्बन्धी जानकारीका लागि सम्पर्क गर्ने गरेका छन् ।
  • कल सेन्टर २४ सै घण्टा सञ्चालनमा रहन्छ ।
  • नगरपालिकाले सेवाग्राहीका लागि निशुल्क फोटोकपी सेवा पनि उपलब्ध गराएको छ ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

सुर्खेत । रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा सञ्चालनमा ल्याइएको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) प्रभावकारी बनेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा स्थापना गरेको कल सेन्टरमा दैनिक १५ देखि २० वटा फोन आउने गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार कल सेन्टर सञ्चालनमा आएपछि नगरवासीले सहज र छिटो सेवा पाउन थालेका छन् ।

उनका अनुसार कृषकहरूले कृषिसम्बन्धी जानकारीका साथै पशु प्राविधिकहरूसँग सम्पर्क गरी पशु सेवा सम्बन्धी परामर्श लिने गरेका छन् । ‘कार्यालयमा आउने सेवाग्राहीहरू विभिन्न कागजातसम्बन्धी जानकारीका लागि पनि पहिले नै फोन गर्छन्, भने कृषकहरूले कृषि तथा पशु सेवा सम्बन्धी जानकारी लिनका लागि दैनिक १५/२० जनाले सम्पर्क गर्नुहुन्छ, अधिकृत ढकालले भने, ‘कल सेन्टर २४ सै घण्टा सञ्चालनमा रहन्छ र जनताको गुनासो समाधानमा प्रभावकारी बनेको छ ।,’

यस्तै नगरपालिकाले सबै कार्यालयमा इ–हाजिरी प्रणाली लागू गरेको छ । साथै, अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने कार्य समेत गर्दै आएको छ । यो कार्यक्रम आर्थिक वर्ष २०७९÷०८० देखि लागु भएको थियो । यस वर्ष मात्रै सो कार्यक्रमको लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

अधिकृत ढकालका अनुसार अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरिन्छ । त्यसैगरी, कार्यालयमा आउने सेवाग्राहीहरूको सहजताका लागि नगरपालिकाले निशुल्क फोटोकपी सेवाको पनि व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २३ गते आइतबार