२०८३ वैशाख ४ , शुक्रबार

अटाेमाेवाईल्स एशाेसियसनले मंगलगढीमा धर्ना दिने



कर्णाली अटाे माेवाईल्स् एशाेसियसनले अटाेमाेवाईलहरुकाे आयात खुला भएपनि ब्यवसाय गर्न सक्ने वातावरण कतै नभएको भन्दै विभिन्न माग राखी बिहीबार विहान ११ बजे वीरेन्द्रनगरकाे मंगलगढीमा प्रदर्शन गर्ने भएको छ।

एशाेसियसनका अध्यक्ष भद्र भण्डारीले बुधबार एक विज्ञप्ति जारी गर्दै अटोकर्जामा बढाइएको जोखिमभार घटाउनु पर्ने, नगद मार्जिनको ब्यवस्था हटाउनु पर्ने, चालु पुँजी कर्जा निर्देशन हाललाई स्थगन गर्नुपर्ने, अटो कर्जाकाे सिमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नुपर्ने, बजारमा तरलता वृद्धिको लागि आवश्यक मौद्रिक औजार प्रयोग गर्नुपर्ने माग गरेको छ।

यसैगरी, लामो समयदेखि थला परेको अटोमोबाइल ब्यवसायको कर्जामा लाग्ने ब्याजमा सहुलियत प्रदान गर्नुपर्ने मागहरुको अझैपनि सम्बोधन नभएको भन्दै सरकारले विगत ८ महिनादेखि लगाएकाे आयात प्रतिवन्ध खुल्ला गर्ने निर्णय गर्नु समयको आवश्यकता भएको उल्लेख गर्दै खुल्ला गर्ने निर्णयकाे भने समर्थन गरेको छ।

एशाेसियसनले आफुहरुकाे आन्दोलन घोषणा भइसकेको अवस्थामा सरकारले आयात खुल्ला गरेर व्यवसायीहरुकाे एउटा माग सम्बोधन गरेकोमा स्वागत र धन्यवाद व्यक्त गरेकाे छ।

एशाेसियसनले बिहीबार गर्ने शान्तिपूर्ण धर्ना कार्यक्रममा ब्यवसायिक संघ संगठनहरुको ऐक्यवद्धताका निमित्त हार्दिक आग्रह गर्दै शान्तिपूर्ण धर्ना कार्यक्रममा सबै ब्यवसायीहरुको उपस्थितिको लागि आग्रहसमेत गरेको छ।

प्रकाशित मिति : २०७९ मंसिर २१ गते बुधबार