२०८३ वैशाख ३ , बिहीबार

लेकवेशी–५ नेटामा खेलकुद तथा सांस्कृतिक मेला सम्पन्न



सुर्खेत । सुर्खेतको लेकवेशी नगरपालिका–५ नेटा डाँडागाउँमा आयोजित एतिहासिक डाँडागाउँ खेलकुद तथा सांस्कृतिक मेला सम्पन्न भएको छ । मेला लेकवेशी नगरपालिका वडा नं. ५ कार्यालय र नगरपालिकाको आर्थिक सहयोगमा मेला व्यवस्थापन समितिका अध्यक्ष प्रेमजंग शाहीको सभाध्यक्षता तथा नगर प्रमुख उमेशकुमार पौडेलको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न भएको हाे ।

कार्यक्रममा नगर उप–प्रमुख बिमला खड्लुक र वडा अध्यक्ष चक्रबहादुर शाही विशेष अतिथि रहेका थिए । कात्तिक २२ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको यस एतिहासिक मेलामा खुला वडा स्तरीय भलिबल प्रतियोगितामा १५ टिम सहभागी भएका थिए । प्रतियोगितामा लेकवेशी–९ चौरासे विजेता र गुर्भाकोट–१३ उपविजेता बनेका थिए । विजेता टोलीलाई ३० हजार रुपैयाँ र उपविजेता टोलीलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको वडा अध्यक्ष शाहीले बताए ।

सांस्कृतिक कार्यक्रममा लोकगायक धनराज चुनारा, चर्चित मोडल तथा डान्सर जानकी पुन मगर, हिरा रसाइली, सृष्टि बुढा मगर, नरेन्द्र हमाललगायतका कलाकारहरुले आकर्षक प्रस्तुति दिएका थिए । साथै स्थानीय कलाकारहरुको मौलिक सांस्कृतिक नृत्य तथा प्रस्तुति पनि प्रस्तुत गरिएको थियो । परम्परागत रूपमा हरेक वर्ष विजया दशमी र दीपावली सकिएलगत्तै पूर्णिमाको चौथी तिथिमा मनाइने यो मेला दुई वर्षअघिसम्म स्थगित भए पनि पछिल्ला दुई वर्षदेखि पुनः निरन्तर रूपमा आयोजना हुँदै आएको छ ।

यसपटकको मेलामा हजारौं दर्शकको उत्साहपूर्ण सहभागिता रहेको आयोजकले जनाएको छ । वडाध्यक्ष शाहीले आगामी वर्ष मेलालाई अझ व्यवस्थित र आकर्षक बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने बताउँदै नयाँ पुस्ताले यस परम्परागत मेलाको गौरव जोगाउँदै अघि बढाउनुपर्नेमा जोड दिए । मेलाको औपचारिक तथा सांस्कृतिक कार्यक्रम सञ्चारकर्मी दीपक बराल मगरले सञ्चालन गरेका थिए ।

साउन्ड सिस्टमको व्यवस्थापन भेरीगंगा–रामघाट पुनज डिजे टेन्ट हाउसका संचालक पुनम रास्कोटी मगरले गरेका थिए भने मेलाको सुरक्षा तथा व्यवस्थापनमा वडा कार्यालयको टिम र अस्थायी प्रहरी चौकी नेटाका ईन्चार्ज कुबेर शाहीको टिमले सहयोग गरेको थियो ।

प्रकाशित मिति : २०८२ कात्तिक २५ गते मंगलबार