काठमाडौँ । पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले नेपाल स्काउटको जग्गामा बनाएका संरचना काठमाडौँ महानगरपालिकाले डोजर लगाएर भत्काएको छ। काठमाडौँको लैनचौरस्थित स्काउटको जग्गा पूर्वऊर्जामन्त्री खड्काको कम्पनी खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले भाडा दिने सर्तमा उपभोग गरिरहेको थियो।
तर भाडा नतिरेपछि स्काउटले यही कात्तिक २० गते सूचना जारी गरी भाडा चुक्ता गर्न ७ दिनको म्याद दिएको थियो। उक्त म्याद सकिएपछि बिहीबार स्काउट जग्गा महानगरपालिकाको सहयोगमा युवा तथा खेलकुद मन्त्रालयले खाली गराएको खेलकुदमन्त्री मन्त्री बब्लु गुप्ताको सचिवालयले जानकारी दिएको छ।
खड्काको कम्पनीले लामो समयदेखि भाडा नतिरेर ओगटेर राखेको जग्गामा नगर प्रहरीसहित डोजर पुग्दा काठमाडौं महानगरका मेयर बालेन शाहनिकट मानिने हामी नेपालका संयोजक सुदन गुरुङ पनि सँगै आएका छन् । गुरुङले महानगरले संरचना भत्काइरहेको भिडियो आफ्नो फेसबुक पेजबाट लाइभ गरेका छन् ।
‘यो चाहिँ राज्यको पैसा नतिरेर है, कति वर्षदेखि यो जग्गा कब्जा गरेर बसेको, स्काउटको जग्गा होइन, राजनीतिक पहुँचको आधारमा पैसा नतिरेर बसेर, जग्गा ओगटेर दादागिरि देखाएर अहिलेसम्म हामीलाई दु:ख दिएर हाम्रो पैसा खाएर लुटेर दादागिरि गरेर बसेको आज बल्ल हाम्रो राज्यले न्याय पाएको छ’, आफ्नो सामाजिक सञ्जालको लाइभमा गुरुङले भनेका छन् ।